site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
यो वर्ष पाँच हजारजना कोरिया जान पाउने, भाषा परीक्षा ‘पेपरलेस’ गर्ने तयारी
फाइल तस्बिर ।

काठमाडौं । कोरोनाभाइरसका कारण थलिएको वैदेशिक रोजगारी अझै राम्ररी उठ्न सकेको छैन । सबै प्रक्रिया सकेर बसेका नेपाली युवाहरु गन्तव्य मुलुक जान पाएका छैनन् ।

दक्षिण कोरियाको लागि भाषा परीक्षा पास गरेर बसेकाहरु कहिले जान पाउने भन्ने अन्योलमा नै छन् । सन् २०२० को लागि भएको भाषा परीक्षामा सहभागी ९२ हजारमध्ये करिब १२ हजार उत्तीर्ण भएका थिए । दुई वर्षअघि नै भाषा परीक्षा पास गरेकामध्ये केही अझै पनि भिसा कुरिरहेका छन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

कोरोनाका कारण कोरिया सरकारले अन्य देशबाट जाने श्रमिकहरुलाई प्रवेशमा रोक लगाएकाले नेपालीहरु जान नपाएको ईपीएस कोरिया शाखाका निर्देशक इन्द्र गौतम बताउँछन् । रोजगारीका लागि पठाउन नेपालले त्यहाँको श्रम मन्त्रालयसँग समन्वय गरिरहेको उनले बताए ।

कम्बोडियालगायतका देशबाट केही श्रमिक कोरिया गए पनि त्यो ‘ट्रायल’को रूपमा लगिएको छ । नेपालबाट पनि कोरिया जानको लागि तयार भएकाहरुलाई छिट्टै लैजाने तयारी रहेको उनले जानकारी दिए । कोरियाको रोग नियन्त्रण महाशाखाले नेपाललाई उच्च जोखिममा राखेका कारण अझै नेपालबाट कामदार पठाउन नसकिएको निर्देशक गौतमले बताए ।

यो वर्ष कोरिया जानको लागि पाँच हजारको हाराहारीमा नेपाली युवाहरु सबै प्रक्रिया सकेर बसेका छन् । ‘रोस्टर’मा १० हजारको नाम भए पनि यो वर्ष पाँच हजारजना मात्र जान पाउने उनले जानकारी दिए ।

गौतमका अनुसार कोरियन भाषा परीक्षा पास गर्दैमा कोरिया जान पाइन्छ भन्ने ग्यारेन्टी हुँदैन । प्रतीक्षा सूची (रोस्टर)मा नाम चढेर लेबर कन्ट्रयाक्ट आएपछि मात्र जान पाइने हुन्छ । भाषा परीक्षा पास गरेको दुई वर्षसम्म रोस्टरबाट नाम हट्दैन ।

यो वर्ष पनि भाषा परीक्षा हुने 
सन् २०२१ मा पनि भाषा परीक्षा हुने भएको छ । कोरिया रोजगारीको लागि भाषा परीक्षाको तयारी गर्दै गरेको निर्देशक गौतमले बताए । “कहिले भाषा परीक्षा गर्ने भनेर मिति तोकिसकेका छैनौँ । पूर्वाधारको काम सकेपछि भाषा परीक्षा हुन्छ,” उनले बाह्रखरीसित भने, “कोरियन पक्षले नै २०२१ मा परीक्षा गर्ने मनसाय देखाएकोले प्रक्रिया अगाडि बढाइएको हो ।” यो वर्ष ‘पेपरलेस’ परीक्षाको तयारी भएको उनले जानकारी दिए ।

प्रकाशित मिति: आइतबार, फागुन १६, २०७७  १४:३२
प्रतिक्रिया दिनुहोस्