site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
विभागको कारबाहीले मेनपावर व्यवसायी रुष्ट !

काठमाडौं । वैदेशिक रोजगार विभागले मेनपावर व्यवसायीहरुका कार्यालयमा निरन्तर छापा हान्ने क्रम बढाएसँगै व्यवसायीहरु पनि रुष्ट भएका छन् । विभागले विभिन्न बहानामा व्यवसायीहरुमाथि दबाब दिएसँगै महानिर्देशक कुमार दहालसँग उनीहरु रुष्ट बनेका हुन् ।

आफू विभागमा आएसँगै महानिर्देशक दहालले मेनपावर व्यवसायीहरुमाथि कारबाहीको क्रम बढाएका छन् । विभागमा आएयता ६० भन्दा धेरै मेनपावर व्यवसायीलाई कारबाही गरिसकेको उनको दाबी छ । उनी भन्छन्, "म आएयता ६० भन्दा धेरै व्यवसायीलाई कारबाही गरेको छु । झन्डै सात करोड रुपैयाँ धरौटीबाटै पीडितलाई क्षतिपूर्ति दिएको छु । त्यसैले व्यवसायी अलिअलि रुष्ट भएका होलान् ।" उनका अनु्सार विभागले गत एक वर्षको अवधिमा सय जनालाई पक्राउ पुर्जी जारी गरेको छ भने ५५ जनालाई कारबाही गरेको छ ।

विभागमा महानिर्देशकका रुपमा दहाल २०७६ माघ २३ गते आएका हुन् । यस्तै विभागले भिजिट भिसामा वैदेशिक रोजगारीमा पठाउने सात मेनपावर कम्पनीलाई कारबाहीसमेत गरेको जनाएको छ ।

किन भए व्यवसायी रुष्ट ?
विभागले मेनपावर कार्यालयहरुमा छापा हान्ने क्रम बढाएसँगै रुष्ट बनेका व्यवसायीहरु गत आइतबार महानिर्देशको कार्यकक्षमै पुगेर विरोध जनाए । विभाग घेराउ गर्दै केहीबेर नाराबाजीसमेत गरेका व्यवसायीहरुले महानिर्देशकलाई जसरी भए पनि अन्यत्र सरुवा गराउने तयारी स्वरुप शक्ति केन्द्रहरु धाउन थालेको स्रोतले जनाएको छ ।

व्यवसायीहरुले २१ बुँदे माग राख्दै तत्काल माग पूरा गर्नुपर्ने भन्दै महानिर्देशकलाई दबाबसमेत दिएका थिए । आफूहरुले ल्याएको कामदारको माग पत्रअनुसार अन्तर्वार्ता दिँदा विभागले अनावश्‍यक दु:ख दिएको बताएका छन् । महानिर्देशक दहालले विभागमा एक वर्षको अवधिमा सुधारका कुनै पनि काम नगरेको बताउँदै आफूहरुलाई दु:ख मात्र दिएको नेपाल वैदेशिक रोजगार व्यवसायी संघका प्रथम उपाध्यक्ष कमल तामाङ बताउँछन् । 

“विभागको महानिर्देशक धेरै जना भएका छन् । यो व्यवसायीले चाहे मन्त्रालयको मन्त्री त परिवर्तन हुन्छ, विभागको महानिर्देशकको त कुरै नगरौं । तपाईंले होसियार भए हुन्छ," विभाग घेराउका क्रममा तामाङले भने, "आन्दोलनबाट भए आन्दोलनबाट, वार्ताबाट भए वार्ताबाट तपाईंको टेबलबाट व्यवसायीको माग पूरा भएन भने महानिर्देशक सरुवा नभएसम्म व्यवसायीले काम गर्दैनन् ।” 

विभागको निर्णय उल्ट्याउँदै मन्‍त्री
कतार प्रहरीमा गैरकानुनी रुपमा कामदार अन्तर्वार्ता लिएको आरोप लागेको एसओएस मेनपावरको कारबाही ६ महिना नहुदै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरीले फुकुवा गरेका छन् ।

उक्त मेनपावरले गैरकानुनी रुपमा कतारमा श्रमिक पठाउन लागेकाले वैदेशिक रोजगार ऐन, २०६४ विपरीत भएको भन्दै विभागले ६ महिनाका लागि कारोबार रोक्का गरेको थियो । तर उक्त मेनपावरको कारबाही आफू मन्त्री भएको दुई साता नबित्दै फुकुवा गरेकाले मन्त्रीले आर्थिक प्रलोभनमा निर्णय गरेको आरोप लगाएका छन् ।

रोजगारीका नाममा ठगिएकारुलाई न्याय दिलाउने निर्णय गर्नुको साटो ठगी गर्नेको पक्ष लिन लागेपछि मन्त्री नै आर्थिक प्रलोभनमा परेको स्रोतको दाबी छ । केही महिनाअगाडि मात्र कतार प्रहरीमा गैरकानुनी रुपमा कामदार पठाउन लागेको भनेर एसओएस, डीडी ह्युमन रिसोर्सेस र होप इन्टरनेसनलाई ६ महिना कुनै पनि देशमा कामदार पठाउन नपाउने निर्णय गरेको थियो ।

मन्त्रीले गरेको निर्णयमा एसओएस मेनपावरको कारबाही मात्र फुकुवा भएको छ । विभागको कारबाहीप्रति चित्त नबुझे मेनपावरले श्रममन्त्रीसमक्ष पुनरावेदन गर्न पाउने कानुनी व्यवस्था छ । यही व्यवस्थालाई गलत रुपमा प्रयोग गरी विदेश पठाउँदा श्रमिकलाई ठग्ने अवैध बाटो हुँदै कामदारलाई विदेश पठाउने र सरकारले तोकेभन्दा बढी पैसा लिने मेनपावर कम्पनीलाई विभागले कारबाही गर्दै आएको छ ।

महानिर्देशक दहाल भन्छन्- यो विषयमा बोल्न मिल्दैन
विभागले गरेको कारबाही फुकुवा गर्दा कानुनअनुसार उनीहरुले पुनरावेदन गर्न पाउने अधिकार प्रयोग गरेको दहाल बताउँछन् । तर आफूले कानुनसम्मत गरेको काममा बोल्न नचाहेको उनले बताए ।

“मलाई हटाउन कोही लागिपरेका छन् तर सिस्टमले काम चल्ने भएकाले कसैले हटाउन चाहेर हट्ने होइन । व्यवसायीहरुले मलाई कुर्सीबाट निकालिदिन्छु भन्नु उनीहरुको वाक् स्वतान्त्रताको कुरा हो । म कसले हटाउन खोज्यो र कसले राख्न खोज्योभन्दा पनि पीडितहरुको काम गर्न आएकाले थप कुरा गर्न मिल्दैन,”  उनले भने ।


 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ २०, २०७७  ०७:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro