site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
चेक गणतन्त्र जाने चक्करमा डुब्यो पैसा, पासपोर्ट पनि फिर्ता भएन 

काठमाडौं । नेपालका अधिकांश युवाको सपना विदेश जाने र धन कमाउने भएको छ । बाराको कलैयाका मुकेश त्रिपाठीमा पनि यस्तै सोच पलायो । कुन देशमा राम्रो तलब र सुविधा छ भनेर बुझदै जाँदा फेसबुकमा उनले एउटा सूचना भेटे ।

त्यही सूचना पच्छ्याउँदा सम्राट बराल (नागरिकतामा विष्णु बराल)सँग उनको भेट भयो । बरालले नै उनलाई मुनलाइट म्यानपावर पुर्‍याए । बरालले खाडी र मलेसियाका देशमा मात्र नभएर आफूहरुले युरोपका देशहरुमा समेत पठाउने आश्वासन दिए ।

‘‘सुरुमा त उनले केही दिनमा नै उडाइदिन्छु जसरी नै कुरा गरे,’’ तर बरालले प्रक्रिया सुरु गर्नुपूर्व नै पैसा मागेको सुनाउँदै मुकेश भन्छन्, ‘‘सुरुमा नै पैसा र पासपोर्ट दिनुपर्छ । अनि मात्र काम हुन्छ ।’’

उनले सुन्न त सुनेका थिए यसरी पहिले नै पैसा दिनु हुँदैन भनेर । तर, उनको अगाडि युरोप जान पाउने अवसर थियो । त्यो पनि काम गर्न पाउने गरी । मुकेशले साथीभाइसँग पैसा जोरजाम गरे र बराललाई बुझाए ।

समय बित्दै गयो । तर, पैसा आफूले पाएपछि बरालले विदेश पठाउनको लागि खासै चासो दिएनन् । बरु, आश्वासन देखाउँदै टार्न लागे ।

‘‘तपाईं मेरो एकदमै विश्वासिलो मान्छे हुनुहुन्छ,’’ बरालले बारबार आफुहरुलाई एकै प्रकारको आश्वासन दिएको उनले सुनाए । मुकेश भन्छन्, ‘‘अरुको काम नभए पनि तपाईंको काम हुन्छ, केही समय पर्खनुस् ।’’

पैसा र पासपोर्ट दिएपछि त उडाउलान् भनेर उनले छ महिनाभन्दा धेरै समय पर्खाइमा नै बिताए । त्योबीच म्यानपावर आउने–जाने गर्दा उनले धेरैजना युवाहरु आफूजसरी नै महिनौँ भौँतारिएको चाल पाए ।

म्यानपावरको कुरा सुन्दा केही हप्तामा नै उड्न पाइन्छजस्तो लागे पनि अरुको गुनासो सुन्दा आफू ठगिएको चाल पाएको उनी बताउँछन् । म्यानपावर धाउन लागेको एक महिना हुँदा पनि आफूलाई विदेश नपठाउने छाँट देखेपछि उनी त्यो म्यानपावरमार्फत विदेश नजाने निर्णय गर्छन् ।

‘म तपाईंमार्फत विदेश जाँदिनँ, मलाई मेरो पैसा र पासपोर्ट फिता गर्नुस्,’’ उनले बराललाई भनेको कुरा सुनाए । बरालले जवाफ दिए, ‘‘म्याम आउँदै हुनुहुन्छ । म्यामसँग कुरा गरेर तपाईंको पैसा फिर्ता गर्छौँ ।’

यति बेलासम्म उनले मुनलाइटमा कोही ‘म्याम’ छ भन्ने थाहा पाएका थिएनन् । धेरैपछि मात्र थाहा पाए, उक्त म्यानपावरमा पार्वती खड्का पनि छिन् भनेर ।

बरालले पटक–पटक म्यानपावरमा ‘कि विदेश पठाऊ कि पैसा र पासपोर्ट फिर्ता गर’ भनेर गुनासो गरे । उनले मात्र हैन, अरु ठगिएकाहरुले समेत म्यानपावरमा नै गएर आफ्नो पासपोर्ट र पैसा मागेपछि बराल उनीहरुको सम्पर्कमा नै आएनन् ।

बराल सम्पर्कविहीनपछि उनीहरुले म्यानपावरकी सञ्चालिका पार्वती खड्काकोमा धाउन लागे । तर, पार्वतीले भने ‘‘बरालले म्यानपावरको ‘रिसिप्ट’ चोरेर तपाईंहरुको पैसा खायो’’ भनेर आफू पन्छिन खोजिन् ।

मुकेशले पटक–पटक म्यानपावर गएर गुनासो गरेपछि सञ्चालिका पार्वती खड्काले एक लाख २० हजारमध्ये ३० हजार रुपैयाँ फिर्ता गरिन् । उनले केही महिनापछि मुकेशको बाँकी पैसा दिने आश्वासनसमेत दिइन् । तर, उनी पनि सम्पर्कमा आउन छोडिन् । ‘‘पार्वती खड्काले पनि विष्णुले जस्तै फोन उठाउन त के अफिस नै जान छाडिन् । नचिनेको नम्बरबाट फोन गर्दा फोन उठे पनि मैले फोन गरेको थाहा पाएपछि फोन नै काटिदिन्थिन्,’’ मुकेशले गुनासो पोखे ।

यहीबीचमा कोरोनाको कारण लकडाउन सुरु भयो । लकडाउनको समयमा मुकेश गाउँमा नै थिए । यता, आफू जस्तै ठगिएकाहरुले म्यानपावरविरुद्ध उजुरी हाल्ने तयारी रहेको सुनाए । उनी काठमाडौं आए ।

‘‘पैसा र पासपोर्ट भयो भने त अरु राम्रो देश जान पनि त पाइयो,’’ आफूले दिएको पासपोर्ट र पैसा लिनकै लागि विभागमा मुद्दा हालेको उनले बताए ।

यसरी सामूहिक उजुरी परेपछि मुनलाइटमा विभागले छापा हान्यो । सञ्चालक नै नभेटिएपछि उक्त म्यानपावरलाई विभागले ‘सिल’ नै गरेको छ ।

न्यूनतम तलब नै एक लाखभन्दा धेरै हुने म्यानपावरले जनाएको थियो । त्यही सपना देखेर चेक गणतन्त्रका लागि म्यानपावरमा पैसा बुझाउने ५० जनाभन्दा धेरैको अवस्था आफ्नोजस्तै रहेको उनी बताउँछन् ।

‘‘पहिले पनि केही युवाले उजुरी गरेपछि धरौटी राखेको रकमबाट पैसा पाएको उनले थाहा पाएका छन् । त्यसैले आफूले बुझाएको पैसा र पासपोर्ट छिट्टै पाउने आशा राखेको उनी बताउँछन् ।

‘‘पटक–पटक विभागमा जाँदा विभागले म्यानपावरकी सञ्चालिका पार्वती खड्कालाई आफैँ समाएर त्याउनू भनेको छ,’’ विभागको यो कुरा सुनेर आफू निराश भएको उनले सुनाए, ‘‘म्यानपावर सञ्चालक समाउन हामी कहाँ जाने ?’’

फाइल तस्बिर ।

प्रकाशित मिति: आइतबार, माघ १८, २०७७  ११:४८
प्रतिक्रिया दिनुहोस्