site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सामान्यतर्फ फर्किंदै गुम्बा

काठमाडौं । लकडाउनमा एउटा मिम निकै नै भाइरल भएको थियो । लकडाउनअघि चित्रकार कोठामा बसेर क्यानभासमा पेन्टिङ गर्दै थियो भने लकडाउनको अवधि र पछि पनि पेन्टिङ नै गर्दै । चाहे संसारमा प्रलय नै किन नआओस् कलाकार आफ्नै कलाको संसारमा रुमलिन्छ न कि साधारण मान्छेजस्तो आत्तिन्छ भन्ने मिमको आशय थियो । कोरोनाअघि पनि गुम्बामा बस्ने लामा र आनी कमै क्रियाकलापमा व्यस्त देखिन्थे भने कोरोनापछि पनि । बाहिरी जीवन सामान्यतर्फ फर्किरहेका बेला गुम्बाको अवस्था भने कस्तो छ त ?

तीन महिनाअघि लामा सेनाङ ग्याम्जो तामाङ आफैँ कोरोना भाइरसबाट संक्रमित भए । बौद्धको गुम्बामा बस्ने तामाङ मात्र होइन सँगै बसेका अन्य २३ जना लामा पनि कोरोनाबाट संक्रमित भए ।

कोरोना कहाँबाट सर्‍यो अहिलेसम्म थाहा नभएको तामाङ सुनाउँछन् । तर संक्रमित भए पनि सामान्य रुघाखोकी मात्र भएकाले राहतको सास मिलेको थियो । अहिले शरीरमा एन्टीबडी विकास गरिसकेका तामाङ भन्छन्, “धन्न गुम्बामा सबै थिएनन् । सबै भएको भए अवस्था के हुन्थ्यो होला ।” ४८० जना बस्ने गुम्बामा त्यतिबेला १२० जना मात्र थिए । बाँकी जाडो बिदा मनाउन घर गएका लामाहरु लकडाउनले गर्दा गुम्बामा फर्किन पाएनन् ।

भूकम्पमा भत्किएका कोठाको निर्माण लकडाउनमा गरिएको थियो । दुई सातामै लकडाउन खोल्ने विश्वासमा भवन निर्माणमा जुटेका १४ कामदारलाई पनि गुम्बामै खान, बस्न र सुत्न दिइएको थियो । तर लकडाउन महिनादिनसम्म चल्यो । लकडाउनमा बसेका श्रमिकहरू अझै गुम्बामा बस्दै आएका छन् ।

यस्तै, मास्क, स्यानिटाइजर र खाद्यान्‍न नभएकालाई राहत बाँड्न करिब १५ जनाको समूह फिल्डमा खटिरहेका थिए । गुम्बाको आफ्नै क्लिनिक छ । त्यहाँ पनि बिरामीको भिड लाग्ने गरेको तामाङ सुनाउँछन् । "सायद क्लिनिकबाट पो सर्‍यो कि, !" उनी थप्छन् । आफूभन्दा पनि गुम्बामा साना लामा ५० भन्दा बढी भएकाले उनीहरूलाई असर गर्ला कि भनेर बढी चिन्तित भएको उनले सुनाए । कोरोना संक्रमणबाट मुक्त भए पनि अझै मास्क लगाउने, स्यानिटाइज गर्ने, तातोपानीको बाफ लिने प्रक्रिया गुम्बामा भइरहेको उनले बताए । हाल गुम्बामा दुई सयभन्दा बढी छन् । फर्केर आउने लामाले गुम्बाकै क्लिनिकमा जाँची रिपोर्ट नेगेटिभ आए पनि १४ दिन क्‍वारेन्टिनमा बसी मात्र गुम्बा प्रवेश गर्न पाउँछन् । 

कडा नियम
कपन गुम्बानजिकै रहेको पुलाहरी गुम्बामा साना लामाहरूलाई बौद्ध शिक्षा दिइन्छ । लकडाउन सुरु हुनेबित्तिकै साना लामाहरू सुरक्षार्थ गुम्बालाई पूर्ण बन्द गरेको शिक्षक पेमा ग्याथोले बताए । युवायुवतीमाझ घुमफिरका लागि चर्चित पुलाहरी गुम्बा लकडाउनयता अहिलेसम्म आममानिसका खुलेको छैन । गुम्बामा दुई सयभन्दा बढी साना र ठूला लामा बस्छन् ।

लकडाउनका बेलादेखि गुम्बाका लागि खाद्यान्न किन्न जानेहरु छुट्टै घरमा बस्छन् । गुम्बामा मास्क लगाउने, दूरी कायम गरी बस्ने, तातोपानीले बिहान-बेलुका बाफ लिने गरेको उनले सुनाए । यस्तै, संक्रमणको दर उच्च रहँदा भिटामिन क्याप्सुलसमेत खान दिएको उनले बताए । लामा भेट्न आउने आफन्तलाई ढोकाबाहिर राखेर कुरा गराएको, गुम्बामै बस्न आउनेको कोरोना संक्रमित नभएको रिपोर्ट ल्याएपछि मात्र प्रवेश गर्न दिएको उनले बताए । उनले भित्रका लाई बाहिर जान नदिने र बाहिरका लाई भित्र आउन नदिएकाले नै सबै सुरक्षित भएको बाह्रखरीलाई सुनाए ।

फर्पिङमा सानो ठूलो गरी ६५ वटा गुम्बा छन् । कतिपय गुम्बामा अन्य गुम्बामा सिकेर आएका कुरालाई अभ्यास गर्ने रिट्रिट सेन्टरका रुपमा प्रयोगमा आएका छन् । लामा यज्ञ शाक्य फर्पिङको रिट्रिट सेन्टर दोद्जोम गुम्बामा बसिरहेका छन् । कोरोना र लकडाउन नभएको भए उनी अहिले जापानमा बौद्ध दर्शन पढाइरहेका हुन्थे । तर अहिले उनी अनलाइनबाट चिनियाँ र जापानी विद्यार्थीलाई बौद्ध दर्शन पढाइरहेका छन् । उनी बसेको गुम्बामा १२ जना मात्रै छन् भने नाम्खा गुरुको गुम्बामा पाँच सय लामा र सँगै रहेको अर्को गुम्बामा तीन सय आनी बस्छन् । आफ्नो गुम्बाबाट बाहिर ननिस्किएका शाक्य लकडाउनको अवधिमा र अहिले पनि दिनचर्यामा खासै परिर्वन नआएको सुनाउँछन् ।

उनी सबेरै ४ बजे उठेर नित्यकर्म र ध्यानमा लाग्छन् । गुम्बामा सबैले बाफ लिने, बेसार पानी खाने, मास्क र स्यानिटाइज गर्छन् । शाक्य र उनको आसपासको गुम्बामा कसैलाई कोरोना संक्रमण नभेटिएको बताए । उनले बुद्ध धर्म नभई दर्शन भएकाले यसले मानवलाई बाँच्ने कला सिकाउने बताए । बौद्ध दर्शनमा कोभिडजस्ता आइपर्ने विपत्‌बारेमा पनि उल्लेख छ । भन्छन्, “यी सबै क्षणिक हुन् । यो संसार क्षणिक हो र यसको सुख पनि । बौद्ध दर्शनले नआत्तीकन आएका व्यवधानको सामना गर्न सिकाउँछ ।” सम्भवत: अर्को महिनादेखि सर्वसाधारणका लागि दोद्जोम गुम्बा खुल्ने शाक्यले बताए । 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, माघ १८, २०७७  ०५:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro