काठमाडौं । पहिलो र दोस्रो दुवै चरणको स्थानीय तहको निर्वाचनमा दोस्रो दल बन्न पुगेको नेपाली कांग्रेसका कार्यकर्ता अहिले एउटै खालका सन्देश सम्प्रेषित गर्दैछन्, ‘कांग्रेस हराउन सक्ने कांग्रेस नै हो, अरु चाहिँदैन ।’ उनीहरूको भनाइको अर्थ अन्तर्घातका कारणले मात्र सधैं कांग्रेस हारेको छ, अरु कारण होइन ।
त्यसैले कतिपयले त व्यंग्यात्मक रूपमा नेपाली कांग्रेसले आफ्नो पार्टीको नामसँगै राष्ट्रियता, प्रजातन्त्र, समाजवादसँगै ‘अन्तर्घात’ पनि थप गर्नुपर्यो समेत भन्न थालेका छन् ।
त्यतिले पनि नपुगेर सामाजिक सञ्जालमा ‘अन्तर्घातको प्रमाणपत्र’ तयार पारिएको छ । स्थानीय तहको निर्वाचनमा ‘अन्तर्घात’ गरेको उपलक्ष्यमा सम्मान गरिने भन्दै सामाजिक सञ्जालमा प्रमाणपत्रको प्रति नै सार्वजनिक गरिएको छ । कांग्रेस नेताहरूले स्थानीय तहको दुईवटै निर्वाचनमा दर्जनौं स्थानमा ‘अन्तर्घात’का कारण पराजित हुनुपरेको दाबी गरेका छन् ।
नयाँ होइन अन्तर्घात
नेपाली कांग्रेसमा ‘अन्तर्घात’ कुनै नौलो होइन । २०४८ सालको आमनिर्वाचनदेखि नै सुरु भएको ‘अन्तर्घात’ अहिले मौलाएको मात्रै हो ।
२०४८ सालको आम निर्वाचनदेखि नै एकले अर्कालाई हराउन खुलेरै लागिपरेको इतिहास कांग्रेसमा छ ।
कृष्णप्रसाद भट्टराईलाई नै ‘अन्तर्घात’ गरेर हराइदिएको कांग्रेस नेताहरुले खुलेआम सार्वजनिक धारणा पछिसम्मै राखे । अहिलेसम्म पनि कांग्रेसमा ‘अन्तर्घात’को खेल नसकिएको नेताहरु नै बताउँछन् ।
२०७० सालमा भएको दोस्रो संविधानसभा निर्वाचनमा त ४९ जिल्लाका कांग्रेस उमेदवारलाई हराउन कांग्रेसकै नेता तीव्र रूपमा लागिपरेको भन्दै अनुशासन समितिमा उजुरी नै पर्यो ।
०७० सालको संविधानसभा निर्वाचनमा आफ्नै उमेदवारविरुद्ध लागेको भन्दै सुजाता कोइराला, मिनेन्द्र रिजाल, अर्जुनप्रसाद जोशी, राजनप्रसाद पन्त, शिला खड्कालगायतका सयौं केन्द्र तथा जिल्लास्तरीय नेताहरुविरुद्ध अनुशासन समितिमा उजुरी पर्यो ।
अनुशासन समितिले छानविन गरेर बहाल रहेको पदीय दायित्व अनुसारको पार्टीको कामकारबाही गर्न नपाउने गरी नेपाली कांग्रेसको नियमावली २०६८ को नियम ४४ (१) (घ) बमोजिम एकवर्ष उमेदवार बन्न नपाउनेसहित केहीलाई कारबाहीका लागि सिफारिस गर्यो भने केही उजुरी खारेज पनि गरिदियो ।
केही नेताहरुलाई पार्टीको अभिलेखालयबाटै नाम हटाउन पनि सिफारिस गरियो ।
नेतृ सुजाता कोइरालालाई नेपाली कांग्रेसको नियमावली २०६८ को नियम ४४ (१) (ख) वमोजिम बहाल रहेको पदीय दायित्व र जिम्मेवारी अनुसारको पार्टीको कामकारबाही गर्नबाट तीन महिनाका लागि प्रतिबन्ध लगाउन सिफारिस गरेको थियो ।
तर, कारबाही नै हुँदैन
अनुशासन समितिले कारबाहीका लागि सिफारिस गरेकाहरुले नै पार्टीमा धम्की दिन थाले ।
त्यसपछि २०७१ साल फागुनमा प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले कारबाही फिर्ता लिँदै यस्तो निर्णय गर्यो ।
‘नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको कारबाहीमा परी विभिन्न सजाय पाएका र त्यस उपर केन्द्रीय कार्यसमितिमा पुनरावेदन गर्ने व्यक्तिहरुमध्ये संविधानसभाको दोस्रो निर्वाचनमा पार्टीका उमेदवारविरुद्ध बागी उमेदवारी दिएका व्यक्ति र निजका प्रस्तावक, समर्थक बाहेकका पार्टीका पुनरावेदक सदस्यहरुको हकमा बाँकी रहेको सजायजन्य पार्टीको पदीय जिम्मेवारी र दायित्वअनुसार कामकारवाही गर्न नपाउने गरी लगाइएको प्रतिबन्ध र पार्टीको विभिन्न तहका पदमा उमेदवारी बन्न नपाउने गरी लगाइएको बन्देज आदि फुकुवा गरी निजहरुको क्रियाशील सदस्यता निरन्तर रहने गरी नवीकरण गराउने निर्णय भयो । निजहरुले तेह्राैं महाधिवेशनको प्रकृयामा हुने पार्टीका सबै तहका निर्वाचनहरुमा भाग लिन पाउनेछन्,’ निर्णयमा भनिएको छ ।
कारवाही नहुँदा दोहोरियो अन्तर्घात
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् प्रभावशाली नेता गगन थापा त कांग्रेसमा ‘अन्तर्घात’ नभई ‘अपराध’ भएको बताउँछन् ।
“अन्तर्घात भन्ने शब्दलाई कमजोर बनाइयो,” बाह्रखरीसँग कुरा गर्दै थापाले भने, “जसले पार्टीको क्रियाशील सदस्यता लिएको हुन्छ । त्यो व्यक्ति पार्टीसँग पनि बाँधिएको हुन्छ । ऊ म स्वतन्त्र छु भन्न पाउँदैन । क्रियाशील सदस्यता लिएको मान्छेले पार्टीले निर्वाचनमा दिएको उमेदवारको विरुद्धमा कुनै पनि गतिविधि गर्ने र मत दिने काम गर्छ भने त्यो अन्तर्घात होइन, अपराध हो । अपराध भएकाले त्यो दण्डनीय हुनुपर्छ । नैतिक रूपमा हेर्दा त्यो पाप हो, राजनीतिक हिसाबले हेर्दा अपराध हो । त्यसैले त्यस्ता मान्छे पापी र अपराधी नै हुन्, उनीहरुलाई कारवाही नै गर्नुपर्छ ।”
तर त्यसलाई ‘अन्तर्घात’ भनेर राजनीतिक निर्णय भनी अपराधबाट उन्मुक्ति दिने गरिएको थापाको भनाइ छ ।
“कारवाही भएको, राजनीतिक करियर समाप्त भएको हामीले देख्दैनौं,” थापाले भने, “चुनाव हराउन लाग्नेले उमेदवार अर्को चुनावसम्म पुग्दा उन्मुक्ति पाइसकेको हुन्छ ।”
के सबै तहमा नै अन्तर्घात भएको हो त ?
सबै तहमा अन्तर्घात वा अपराध नै भएको हो भन्ने मान्न थापा तयार छैनन् । किनकी कतिपय तहमा सधैँभरी मत दिएका मतदाताले पनि यसपटक नदिएको उनको तर्क छ ।
“कहिलेकाहीँ हामीले कस्तो कुरा गरिदिन्छौं भने जो मतदाता कांग्रेसको हो शुभेच्छुक पनि हो तर कांग्रेसको क्रियाशील सदस्य होइन र त्यसले यसपटक मत दिएन भने हामीले त्यसलाई पनि ‘अन्तर्घात’ भन्छौं, त्यसो भन्न मिल्दैन ।”
किन पटक–पटक हुन्छ अन्तर्घात ?
पार्टी सञ्चालनको तरिका, उमेदवारको छनोट तरिका, नेतृत्वले लिने निर्णय लगायतले पनि पार्टीमा धेरै काम गर्ने थापाको भनाइ छ । “किन त भन्दा पार्टी सञ्चालनको पनि कारण हो । उमेदवारको छनोट, निर्णयले पनि त्यसलाई मलजल दियो । निर्णय तलैबाट हुने परिपाटी बनाउनुपथ्र्यो । तर त्यो छैन । यसपाली टिकट कसले बाँडेको ? कुन समिति हो ? यसको माइन्युट पनि छैन, त्यो कार्यसम्पादन समिति हो कि गुटहरुको भेला हो ? कसले लिने यसको जिम्मेवारी ? पहिले त संसदीय बोर्ड हुन्थ्यो । अहिले त केही पनि छैन,” थापा अथ्र्याउँछन् ।
पार्टी नेतृत्वमा देखिएका कमजोरी नसच्याएसम्म यस्ता समस्या आइरहने उनको भनाइ छ ।
यसअघिका मतदाताले किन पत्याएनन् त ?
“यसअघि मतदान गरेकाले पनि पार्टी फेरे,” थापाको भनाइ छ, “अघिल्लोपटक माओवादीलाई मतदान गरेकाले हामीलाई मतदान नगरेको भए हामीले पनि हाथ्र्यौं । तर यसपटक सहरी क्षेत्रमा लामो समयदेखि कांग्रेसलाई मतदान गरेका मतदाताले मत दिएनन् । कारण के हो भने कांग्रेसले राष्ट्रिय राजनीतिमा खेलेको भूमिका नै हो ।”
उनका अनुसार त्यसैले नै कतिपय तहमा कांग्रेस पराजित हुनुपरेको छ ।
“केही कुरासँग मतदाता रुष्ट भए । त्यहाँ हामीले काम गर्न सक्नुपर्छ । तर यहाँ घात भन्न मिल्दैन,” थापाले भने, “हामीले गरेका निर्णय र कामको बारेमा बुझाउनै सकेनौं । कांग्रेस किन संविधान संशोधनको पक्षमा छ भन्ने विषयमा पनि हामीले मतदातालाई बुझाउनै सकेनौं । प्रधानन्यायाधीशलाई महाभियोग किन लगाइयो ? किन फिर्ता लिइयो ? जनताले जान्न पाउनुपर्दैन ? हामीलाई मन लाग्यो, लगायौं मन लागेन फिर्ता लियौं भन्न पाइन्छ हामीले ? त्यसरी भन्नै मिल्दैन । हामीले यसको जवाफ आम मतदातालाई दिन सक्नुपर्दैन ? जहिलेसम्म यस्ता विषयको जवाफ दिन सक्दैनौं, त्यसबेलासम्म हामी पछि पर्न सक्छौं ।”
नत्र पहिलो पार्टी !
थापाले पार्टीमा अन्तर्घात नभएको भए अहिले सजिलै पहिलो पार्टी बन्ने दाबी पनि प्रस्तुत गरे । “आफ्नै साथीहरुले अरुलाई मत नमागेको भए अहिले हामी सजिलै पहिलो पार्टी बन्ने थियौं । अर्को चुनावसम्म धेरै अघि जान्थ्यौं,” उनले भने ।