काठमाडौं । पुस १० गते बिहान ९ बजे नेकपा (एमाले)का एकजना प्रभावशाली नेता बालुवाटार पुगे र तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवासँग गोप्य वार्ता गरे ।
एमालेका अध्यक्ष केपी शर्मा ओलीका अति निकट मानिने ती नेता बालकोटमा सल्लाहपछि बालुवाटार पुगेका थिए ।
एमालेका ती नेताले देउवासँग राखेको प्रस्ताव थियो – कुनै पनि हालतमा हामीले प्रचण्डलाई प्रधानमन्त्री बनाउदैनौ, ढुक्क हुनुस् । अन्तिम समयमा हामीले तपाईँलाई नै सहयोग गर्नेछौँ । अहिले प्रचण्डलाई प्रधानमन्त्री बनाउनु भनेको मुलुकलाई बर्बादीको बाटोमा लैजानु हो । हामीलाई प्रधानमन्त्री चाहिँदैन । तपाईँ नै बन्नुस् पाँच वर्ष । आज अन्तिम घडीमा तपाईँलाई सहयोग गर्ने निर्णय लिएर हामी आउनेछौँ ।”
अघिल्लो दिनबाट तत्कालीन गठबन्धनमा अलिकति कोल्टे फेरेका देउवालाई त्यस प्रस्तावले बल दियो । त्यहाँभित्रको राजनीति देउवाले सहजै बुझेनन् या बुझ्न चाहेनन् । होइन भने देउवालाई ‘लोभले लाभ लाभले विलाप’ भन्ने त थाहै हुनुपर्ने हो ।
देउवाले एमालेका ती प्रतिनिधिलाई ‘यो प्रस्ताव तपाईँको हो कि एमालेको ?’ भन्ने प्रश्न नराखेका पनि होइनन् । उनै नेता केहीबेरमा बालकोट पुगेर देउवा र ओलीबीच टेलिफोन वार्ता गराए । देउवाले ‘केपी ओलीकै कुरा हो भनेर पत्यार लागेन’ भनेपछि ती नेता बालकोट पुगेर फोनमा कुराकानी गराएका थिए ।
ओलीको पनि भनाइ त्यस्तै थियो - जुन बिहानै देउवाले ‘दूत’मार्फत् सुनेका थिए ।
देउवालाई ओलीले भने– हामीले अहिले हस्ताक्षर गराउदैछौँ । दिउँसो ३ बजेसम्म बालुवाटार आउछौँ । अनि राष्ट्रपतिकहाँ जानुपर्छ ।
देउवाले आफ्ना निकट नेता ज्ञानेन्द्रबहादुर कार्कीमार्फत् राष्ट्रपतिको धारणा बुझ्न पठाए ।
राष्ट्रपतिकहाँबाट पनि ‘५ बजेसम्म बहुमत हस्ताक्षर लिएर कोही आउने देखिएन ६ बजे ठूलो पार्टीको नेताको हैसियतमा शपथ लिनुपर्ने हुनसक्छ तयारी अवस्थामा बस्नू’ भन्ने सन्देश प्राप्त भयो ।
सबैतिरबाट देउवालाई ‘मूर्ख बनाउने काम’ त्यो दिनमा भएको तत्कालीन गठबन्धनका एक प्रभावशाली नेता बताउँछन् ।
बाह्रखरीसँग करिब एक घन्टा गरेको अनौपचारिक कुराकानीमा उनले देउवाले नै अन्तिम समयमा दाहाललाई धोका दिएको कारण गठबन्धन भत्किएको पटकपटक दोहोर्याए ।
नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले केही दिनअघिसम्म आफू नजिकका नेतालाई पनि ‘पहिले नेतृत्त्व मैले गर्छु भनेर प्रचण्डले मागे मैले हुन्छ भनिदिएँ’ भनेर सुनाएका थिए ।
देउवाले नेकपा (एकीकृत समाजवादी)का नेता माधवकुमार नेपालसँग पनि यो कुरा राखेका थिए । सुरुमा असहमति जनाएका नेता नेपालले ९ गते बिहानै भनेका थिए – अब प्रचण्डलाई नै छाडिदिनुस् । बल नगर्नुस् ।
‘हुन्छ हुन्छ’- देउवाको जवाफ थियो ।
तर ९ गते बसेको गठबन्धन बैठकमा देउवाले फ्याट्टै भनिदिए– मैले पार्टीमा सल्लाह नगरी कसरी निर्णय गर्न सक्छु ?’
“हामी त्यहीबेला झस्कियौँ, अब बेइमानी हुने भयो भनेर निचोड निकालेका थियौँ,” प्रचण्ड नजिक रहेका एक नेताले बाह्रखरीसँगको अनौपचारिक कुराकानीमा भने ।
त्यस दिनको बैठक सकियो अर्को दिन फेरि बैठक बोलाए देउवाले ।
१० गते देउवाले आलटाले जवाफ दिए । त्यसअघि एमालेका नेता देउवालाई आश्वासन दिएर बालुवाटारबाट बाहिरिइसकेका थिए । देउवाले त्यसदिन प्रचण्डलाई पहिले सरकारको नेतृत्त्व दिनै नसकिने जवाफ दिए ।
बालुवाटारमा देउवाले नमानेपछि प्रचण्डले माधव नेपालसँग छुट्टै कुरा गरे । र, प्रस्ताव पनि राखे– देउवाले हामीलाई धोका दिए, मानेनन्, अब नयाँ समीकरणमा जाऊँ । केपी, तपाईँ र म बसौँ ।
नेपालको जवाफ थियो– केपी ओलीसँग भेट्न बालकोट जान्न अन्त भए कुरा गर्न सकिन्छ, बसौँ ।
माधव नेपाल केपी ओलीसँगको सम्बन्ध बिग्रिएपछि बालकोट पुगेका छैनन् । भोलिदेखि केपी ओलीले ‘माधव नेपाल लुरुलुरु आयो’ भनेर हल्ला गर्न सक्ने भएकाले नगएको नेपालको टिप्पणी छ ।
माधव नेपालको कुरामा प्रचण्डले पनि सहमति जनाए । ‘हुन्छ’ भनेर त्यहाँबाट छुट्टिए ।
बालुवाटारबाट छुट्टिने बेलामा देउवाले प्रचण्डलाई व्यङ्ग्य गर्दै भनेका थिए– केपी ओलीले धोका दिए भने फेरि आउनूहोला ।
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जसलाई बालुवाटार पठाएका थिए उनै नेतासहित अर्का नेतालाई प्रचण्डसँग पनि कुराकानीमा खटाएका थिए ।
बालुवाटारबाट छुट्टिएका प्रचण्ड केहीबेर खुमलटार बसे । बालकोटमा बहुमत पुग्ने सन्देश प्राप्त गरेपछि नेता नेपाललाई खबरै नगरी बालकोट हान्निए । देउवा ३ बजे ओली आउने आशामा बसेका थिए तर त्यही बेला प्रचण्ड बालकोट पुगेको सञ्चारमाध्यमबाट थाहा पाए ।
त्यसबेला बालुवाटारमा देउवाको सचिवालयमा रहेका एक जनाले दिएको जानकारीअनुसार ‘ओली कहाँ आइपुगे’ भनेर बुझ्न ट्राफिकलाई आग्रह गरिएको थियो ।
ओली त्यसबेलासम्म घरमै रहेको जानकारी पाएपछि देउवाले नेपाल र प्रचण्डलाई फोन गरेर बोलाएका थिए । पहिलोपल्ट प्रचण्डलाई नै नेतृत्व गर्न दिने वचन पनि दिएका थिए । तर, त्यसबेला ढिला भइसकेको थियो । बालकोटमा नयाँ गठबन्धन बनिसकेको थियो ।
माधव नेपालले देउवालाई भने– तपाईँले धेरै ढिला गर्नुभयो । राप्रपा र रास्वपाका नेता पनि बालकोट पुगिसके । त्यहाँ नयाँ गठबन्धन बन्ने सूचना पाएको छु ।
देउवाको प्रस्ताव थियो– प्रचण्डलाई लिएर आउनुस् प्रधानमन्त्री उहाँलाई नै बनाऔँ ।
नेपालले जवाफ दिए– अब ढिला भइसक्यो । हस्ताक्षर लिएर राप्रपा र रास्वपाका नेता पुगिसकेका छन् । बालकोटमा हस्ताक्षर हुनेवाला छ ।
प्रचण्डले पनि बालकोट जाँदा नेपाललाई वास्तै गरेनन् । प्रचण्ड नै प्रधानमन्त्री हुनुपर्छ भन्नेमा माधव नेपाल पनि थिए ।
मुलुकमा देखिएको पछिल्लो परिस्थिति र नयाँ राजनीतिक दलको चुनौतीलाई देउवाले सम्हाल्न नसक्ने निष्कर्षमा यी दुई नेता पुगेका थिए ।
यो एकैदिनको राजनीतिक घटनाक्रम नियाल्दा पनि थाहा हुन्छ नेपालको राजनीति र राजनीतिक दलका नेता कति कमजोर धरातलमा उभिएका छन् ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कालदेखि दुई नेताबीचको चिसिएको सम्बन्ध एकाएक सत्ताले मिलाएको थियो ।
योमात्रै होइन नेपालका धेरैजसो राजनीतिक मिल्ती यस्तैगरी भइरहेका उदाहरण छन् । त्यस्तै परिदृश्य अहिले नेपाली राजनीतिमा दुई महिना पूरा नहुँदै फेरि सतहमै देखिन थालेको छ ।
त्यसरी बनेको बालकोट गठबन्धन भत्किने संघारमा पुगेको छ । नेताहरू एक अर्काप्रति शङ्कालु हुन थालेका छन् ।
भित्रभित्र एकले अर्काको तीव्र आलोचना र छलफललाई तीव्रता दिए पनि सार्वजनिकरूपमै उत्रिइहाल्न भने सकेका छैनन् ।
ओली प्रचण्डकहाँ धाएको धायै छन् । प्रचण्डले भने कांग्रेसतिर हात बढाइरहेका छन् र ओलीलाई धेरै महत्त्व दिएका छैनन् ।नयाँ गठबन्धनको तयारीमा छन् । पुस १० मा देउवा जसरी दुईतिर छलफलमा थिए प्रचण्ड अहिले ठ्याक्कै त्यही अवस्थामा छन् ।
ओली र प्रचण्डलाई नजिकबाट चिनेका एक नेताको टिप्पणी छ – प्रचण्ड ओलीलाई छोड्न चाहन्छन् तर ओली राष्ट्रपति चुनावसम्म जसरी पनि प्रचण्डलाई विश्वासमा राख्नुपर्छ भन्नेमा छन् । जति आउँछ त्यो एमालेका लागि फाइदा हो भन्ने बुझाइ एमालेमा छ । राष्ट्रपति लिन सकियो भने बाँकी राजनीति जसरी पनि पार लगाइन्छ भन्नेमा एमाले नेतृत्व छ । कतिसम्म भने दुई नेताबीचको सम्बन्ध र कुराकानी कसैले सुन्छ कि भनेर ‘त्रसित’ पनि छन् ओली ।
त्यो राष्ट्रपतिको चुनावका लागि मात्र भइरहेको छ तर प्रचण्ड पनि त्यही मौकाको पर्खाइमा छन् ।
राष्ट्रपति निर्वाचनलाई महत्त्व किन ?
मुलुकमा अहिले प्रधानमन्त्रीभन्दा पनि राष्ट्रपतिको महत्त्व बढी देखिएको छ । आन्तरिकरूपमा मात्रै होइन अन्तर्राष्ट्रिय चासो पनि राष्ट्रपतिमै देखिएको छ ।
छिमेकी मुलुका प्रतिनिधिहरुको दौडधुप सुरु भएको छ ।
भारतीय विदेश सचिव विनयमोहन क्वात्राको दुई दिने ‘राजनीतिक रेस’ भर्खरै सकिएको छ । उनको आगमनपछि नेपालको राजनीतिलाई नजिकबाट नियाल्नेहरूले सम्भावित परिदृश्यको काल्पनिक कथा बुनिरहेका छन् । भलै त्यसको स्वतन्त्र पुष्टि हुन पनि सकेको छैन र हुँदैन पनि ।
त्यसैगरी चिनियाँ कूटनीतिज्ञको वार्ता पनि बाक्लिएको छ । मुलुकले अहिलेसम्म दुईजना राष्ट्रपति बेहोरिसक्यो । पछिल्लो दुई कार्यकाल विद्यादेवी भण्डारी राष्ट्रपति छन् ।
उनको काम गराइले यो संस्था नै धेरै आलोचित बन्यो । समग्र प्रणालीप्रति वितृष्णा जाग्ने काम उनीबाट भयो ।
रातारात संसद् विघटन होस् या मध्यरातका छलफल । पार्टीका आन्तरिक गुटका बैठक होस् या मन्त्रीदेखि सांसदसम्मको भागबण्डा सबैतिर राष्ट्रपतिको संलग्नता हुनेगरेको छ ।
एकातिर शीतलनिवासमा रहेर समानान्तर सरकार चलाउने, अर्कोतिर संविधानको हुर्मत लिने काम पनि जारी रहेकाले अहिले राजनीतिक दलहरूले कुनै पार्टी अर्थात् ‘नेताको गोजी’ को उमेदवार फेरि दोहोरियो र त्यही ‘हर्कत’ कायमै रह्यो भने व्यवस्था उल्टिने डरकै कारण पनि एमाले उमेदवार रोक्न खोजिएको कांग्रेस र माओवादी नेताहरुकै धारणा रहेको छ ।
एमालेले सभामुखमा जसरी अध्यक्षको ‘गोजी’को उमेदवार पठायो राष्ट्रपति पनि सोहीअनुसार हुनसक्ने र भोलि जुनसुकै बेला अप्ठेरोमा पर्ने देखेर प्रचण्डले कांग्रेससँग हात बढाएको माओवादीका एक नेताको टिप्पणी छ ।
प्रचण्डको अबको बाटो के होला ?
एमालेसँगको प्रचण्डको सम्बन्ध ‘बाध्यात्मक’ हो । कांग्रेसले अप्ठेरोमा पारेपछि बालकोटको बाटो तय गरेका थिए ।
अहिले उनी त्यसलाई सच्याउन चाहन्छन् । कांग्रेसको वर्तमान नेतृत्वलाई मात्रै उनी विश्वास गर्नसक्ने अवस्थामा छैनन् ।
तर पनि सहज एमालेसँग भन्दा कांग्रेससँग बढी देखेका छन् । त्यसैले उनले पार्टीको पदाधिकारी बैठक होस् या आन्तरिक छलफल एमालेसँगको सम्बन्धमा छिटै ‘ब्रेक’ लाग्न सक्ने संकेत गरेका छन् ।
कतिसम्म भने एमालेको नेतृत्त्वमा रहेको सुदूरपश्चिम सरकार टिकाउन पनि उनले प्रयास गरेको देखिएन । बरु आफू निकट नेताहरुसँग ‘अहिले छाडिदिऊँ’ पछि हाम्रै हुन्छ भन्ने जवाफ दिए ।
प्रचण्डले चाहेको भए सुदूरपश्चिम सरकार ढल्ने थिएन । रेशम चौधरीले मागेजस्तै एउटा प्रतिबद्धता जनाउन नसक्ने अवस्था थिएन । तर, प्रचण्डले वास्तै गरेनन् ।
सचिवालय बैठकबाट निस्किएर सिंहदरबार पुगेका ओलीलाई प्रचण्डले खासै भाउ दिएनन् । बाहिरिने क्रममा निराश देखिएका ओलीपछि प्रचण्डले सुदूरपश्चिमको सरकारको भविष्यवाणी गर्दै भनेका थिए – एकैछिनमा देख्नुहुनेछ ।
सरकार एकैछिनमा गर्ल्यामगुर्लुम ढल्यो ।
केपी ओलीले मेरो हातमा कमान्ड छ भनेर देखाउन थालेका कारण पनि सम्भवतः प्रचण्ड छिटो ओलीबाट मुक्ति चाहन्छन् ।
ओलीको पछिल्लो व्यवहार माओवादीलाई पनि पचेको छैन ।
ओलीले अहिले देखाएको रवैया राष्ट्रपति आफ्नो बनाएपछि झनै बढाउने र सरकार पनि ढालिदिने अवस्था भएकाले विश्वासको वातावरण बिग्रिएको नेताहरू बताउँछन् ।
माओवादीले अहिले सकेसम्म कांग्रेसले प्रस्ताव गरेको तर राजनीतिक हस्तक्षेपबाट मुक्त हुनसक्ने उमेदवारको खोजी गरेको छ ।
माओवादीले आन्तरिक छलफलमा अघि सारेका नामहरुमा पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ, खिलराज रेग्मी, सुशीला कार्की र दमननाथ ढुंगाना हुन् ।
माओवादीका एक स्थायी कमिटी सदस्यले बाह्रखरीसँगको अनौपचारिक कुराकानीमा भने, “प्रचण्डको मुखबाट अहिले कसैको नाम सार्वजनिक भएको छैन तर उहाँले सहमतिका आधारमा होस्, त्यो पनि कांग्रेसले नै ल्याओस् भन्ने चाहनुभएको छ । अहिले माथि लिइएका नामहरू हामीबीच अनौपचारिक कुराकानीमा आएकै नाम हुन् तर निर्णय भने भएको छैन ।”
प्रचण्ड निटक एक नेताले बाह्रखरीसँगको अनौपचारिक कुराकानीका क्रममा भने, “राष्ट्रपति र सभामुख आफ्नो हातमा आएपछि प्रचण्डलाई ओलीले ‘कर्यापच्याप’ पार्नेछन् । राज्यका विभिन्न अंगहरु उनको हातमा जानेछन् । आयोगहरु एमालेको हातमा हुनेछन् । सबै संवैधानिक निकाय ओलीले आफ्नै हातमा ल्याउनेछन् । त्यसपछि प्रचण्डलाई नै पहिलो ‘ब्ल्याकमेल’ गर्नेछन् । हामी अहिले त्यो अवस्था नआओस् भन्ने पक्षमा छौँ ।”
प्रचण्डले कांग्रेससँगको सम्बन्ध मजबुत बनाउने नयाँ रणनीति अख्तियार गरेका छन् अहिले । त्यो हो कांग्रेसभित्रका सबै गुटसँग छुट्टाछुट्टै छलफल गर्ने ।
शेरबहादुर देउवासँगमात्रै होइन, उपसभापति पूर्णबहादुर खड्का, शेखर कोइराला, गगन थापालगायतका नेताहरुसँग प्रचण्डले लगातार छलफल गरेका छन् । विश्वासको वातावरण बनाउनकै लागि प्रचण्डले यो छलफल गरेको कांग्रेस नेताहरुको बुझाइ छ ।
प्रचण्डसँग छलफल भएकै साता थापाले एक सार्वजनिक कार्यक्रममा वर्तमान गठबन्धनको आयु नै तोकिदिए । थापा यसअघि वर्तमान गठबन्धन अघि बढ्न दिनुपर्ने र कांग्रेस प्रतिपक्षमा बस्नुपर्ने अडानमा थिए ।
प्रचण्डसँगको छलफलपछि कांग्रेसका एक पदाधिकारीले बाह्रखरीसँग भने, “प्रचण्डले अहिले हाम्रो पार्टीका धेरै नेताहरुसँग एक एक कुरा गर्नुभएको छ । एमालेले जसरी सभामुख बनायो, राष्ट्रपति पनि त्यहीअनुसार बनाउनेछ । त्यतिमात्रै होइन त्यसपछि एमालेले राष्ट्रपतिको संस्थाबाट समानान्तर शक्तिको अभ्यास गर्नेछ । अघिल्लोपटक संसद् विघटन गरेर गैरसंवैधानिक कदम चाल्यो । यसपल्ट राष्ट्रपतिलाई संविधानले नै नदिएको अधिकार प्रयोग गरेर मुलुकलाई अस्थिरतातर्फ धकेल्ने काम हुन्छ भन्नेमा प्रधानमन्त्री पनि विश्वस्त रहेको पायौँ । यस्तो अवस्थामा एमालेको उमेदवारलाई राष्ट्रपति बनाउनु भनेको जानाजान प्रतिगमनको पथतर्फ जानु हो भन्ने उहाँको बुझाइ छ ।”
बनिसकेको गठबन्धन पनि भत्किने अर्को बन्न समस्या पर्छ कि भन्ने ‘भय’ प्रचण्डमा रहेकाले लगातार कांग्रेसभित्र फरक फरक समूहसँग वार्ता गरेका हुन् ।
“यो बेलामा रिस्क लिएर राष्ट्रपतिमा कांग्रेसलाई सहयोग गर्ने तर कांग्रेसभित्र अर्को समूहले मलाई स्वीकार गर्छ कि गर्दैन ? भन्ने आशंका र डर प्रधानमन्त्रीमा रहेको पायौँ । हामीले पनि कांग्रेसभित्र प्रतिस्पर्धा आफ्नो ठाउँमा छ । त्यहाँ हामी प्रतिस्पर्धा गर्छौँ, झगडा गर्छौँ तर मुलुकलाई बचाउने कुरामा हाम्रो एउटै मत हुनेछ । हामीले माओवादी नेतृत्वको सरकारलाई अप्ठेरोमा पर्न दिदैनौँ भनेपछि वातावरण बन्दै गएको छ, राष्ट्रपतिको चुनावपछि हामी सरकारमै सहभागी हुनेछौँ,” प्रचण्डसँगको कुराकानीपछि ती नेताले बाह्रखरीसँग भने ।
प्रचण्ड कांग्रेस र रास्वपासहितको गठबन्धन चाहन्छन् । प्रचण्ड लागेको भए रास्वपाका सभापति रवि लामिछानेको गृहमन्त्री पद कायमै रहन सक्थ्यो तर लामिछाने ओलीको ‘छाया’ बनेको उनलाई मन परेको छैन ।
प्रचण्डले यस्तो अवस्थामा नयाँ गठबन्धनमा आफूले चाहेअनुसार रास्वपालाई प्रयोग गर्ने, रविलाई जोगाउने रणनीति लिन सक्छन् ।
अब नयाँ बन्ने गठबन्धनमा पनि रास्वपालाई सरकारमा सहभागी गराएर रविलाई बालकोटको बार्दली धाउन बन्द गराउने योजना प्रचण्डको देखिन्छ ।
कांग्रेस के गर्दैछ ?
कांग्रेसका नेताहरु अहिले एकठाउँमा छन्– जसरी पनि राष्ट्रपति आफ्नो उमेदवार बनाउने र जिताउने विषयमा ।
पार्टीमा अरु विषयमा गुट देखिए पनि अहिले पदाधिकारी तहमा विवाद छैन– यो गठबन्धन भत्काउने, कांग्रेसको राष्ट्रपति बनाउने र बिस्तारै माथिदेखि तलसम्मका सरकारमा भागबण्डाका आधारमा सहभागी हुने ।
यसअघि प्रचण्डलाई विश्वासको मत दिने कि नदिने ? माओवादीसँग मिलेर चुनावमा जाने कि नजानेलगायतका थुप्रै विषयमा पार्टीभित्र विवाद देखिएको भए पनि यो विषयमा सबैजसो नेता स्पष्ट छन् विवाद देखिँदैन ।
कांग्रेसका एक पदाधिकारीले बाह्रखरीको प्रश्नमा स्पष्ट जवाफ दिँदै भने– हो हामी यो गठबन्धन भत्कियोस् भन्ने चाहन्छौँ । त्यसका लागि वातावरण बनाउँदैछौँ ।”
त्यसो भए कांग्रेसले राष्ट्रपतिमा कसलाई उमेदवार बनाउँछ त ?
कांग्रेसका ती पदाधिकारीले सहजै जवाफ दिए– हामीले सबैभन्दा पहिले त सभापति शेरबहादुर देउवालाई उमेदवार बन्नुहोस् भनेर आग्रह गर्छौं । त्यो अवस्था आयो भने पार्टीको लागि पनि राम्रो हुनेछ ।”
उनी इतरसमूहका नेता हुन् । तर ती नेताले नै सभापति उमेदवार बन्ने कुरा त्यति सहज नदेखिएको र मान्ने अवस्था पनि नरहेको बताए ।
“पहिले पनि महामन्त्री विश्वप्रकाश शर्मा र गगन थापाले दलको चुनाव नलड्न आग्रह गरेका थिए, सभापतिले मान्नुभएन । अहिले आएको प्रस्ताव पनि उहाँहरुबाटै हो,” ती नेताले भने, “सभापतिज्यूले भाइहरुले भनेको ठीकै हो भन्नेबाहेक जवाफ दिनुभएन ।”
सभापति देउवा उमेदवार बन्ने अवस्था आएमा एमालेलाई पनि अप्ठेरो पर्ने ती नेताको बुझाइ छ । देउवा सभापति भए त्यसबाहेकका नेता माओवादीसँग नजिक हुन नसक्ने बुझाइ एमालेको रहेको छ ।
उनी त्यतिमै रोकिएनन् । त्यसबाहेक हाम्रा उमेदवार माओवादीले कांग्रेसभित्रैबाट मान्यो भने रामचन्द्र पौडेल हुनेछन् बाहिरबाट दिनूस् भन्ने अवस्था आएमा कल्याण श्रेष्ठ हुनेछन् ।
उनका अनुसार देउवा संसदीय दलको नेताका लागि उमेदवारी दर्ता गर्ने बेला पुगेका रामचन्द्र पौडेलले भित्र प्रवेश गर्दैगर्दा भनेका थिए– म अहिले कसैको प्रस्तावक र समर्थक बस्दिन ।
तर भित्र केहीबेर देउवासँगको छलफलपछि उनी नै प्रस्तावक बने ।
देउवा निकट एक नेताकाअनुसार त्यहाँ देउवाको केही आश्वासनपछि मात्रै पौडेल तयार भएका थिए ।
रामचन्द्र पौडेलपछि किन कल्याण श्रेष्ठ ? अनि कल्याण श्रेष्ठचाहिँ कांग्रेस हुन् ? भन्ने बाह्रखरीको प्रश्नमा उनको जवाफ थियो– माओवादीले रामचन्द्र पौडेललाई नमानेको अवस्थामा मात्रै कल्याण श्रेष्ठलाई अघि सार्ने हो । फेरि संविधानको रक्षा गर्ने जिम्मेवारी भएका कारण त्यहाँ हिजो नेविसंघकै झन्डा बोकेको, हामीले भन्नासाथ संसद् विघटन गर्ने खालकै व्यक्ति हुनुपर्छ भन्न मिल्दैन ।”
उनले माओवादीका दोस्रो तहका नेताको मुखबाट पनि कल्याण श्रेष्ठ र दमननाथ ढुंगानाको नाम आएको दाबी गरे ।
तर माओवादीलाई त्यो बाटो सहज छैन । किनकि माओवादी एमाले वा कांग्रेसको बलियो टेकोबिना सरकारमा रहन सक्दैन । राष्ट्रपति पनि स्वतन्त्र व्यक्ति भनेर अडान लिँदा र कांग्रेसलाई एमाले देखाएर एमालेलाई कांग्रेस देखाएर तर्साउन त प्रचण्ड सफल होलान् तर त्यसपछि ती दुई मिल्ने अवस्था आयो भने ?
त्यसैले प्रचण्डले व्यक्तिमा दबाब दिन सक्ने छैनन् । कांग्रेसले दिने उमेदवारीमै प्रचण्ड तयार हुनुपर्ने अवस्था आउन सक्छ ।
यस्तो बेलामा प्रचण्डले प्रदेश सरकार र संघीय सरकारमा सहभागितामा लचिलो बनेर आफू पाँचै वर्ष सरकारको नेतृत्त्वमा रहन पाउनुपर्ने अडान भने राख्न सक्नेछन् ।
त्यसबाहेक कांग्रेसमा अर्का नेता छन् जसको नाम सभापति देउवाले पनि लिएका थिए– कृष्णप्रसाद सिटौला ।
जो प्रचण्डको पनि रोजाइमा पर्न सक्छन् । माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन सफल भएका, संविधान निर्माणमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका र परिवर्तन संस्थागत गर्ने पात्रको रुपमा उनलाई चित्रण गरिन्छ ।
तर, कांग्रेसभित्र ठूलै ‘दबाब’ नपरेसम्म उनको नाममा निर्णय हुने अवस्था कम देखिएको अर्का एक पदाधिकारीको टिप्पणी छ ।
“अहिले सभापतिबाहेक दुई उपसभापति, दुई महामन्त्रीलगायतका पदाधिकारी उहाँको पक्षमा छैनन्,” एक नेताको टिप्पणी छ, “दुई महामन्त्रीलाई नाघेर सभापति निर्णय गर्न सक्ने अवस्थामा हुनुहुन्न ।”
पूर्वप्रधानन्यायाधीश चुनाव लड्न मिल्छ ?
कांग्रेसका एक पदाधिकारीले घुमाउरो शैलीमा व्याख्या गर्दै भन्छन्, “संविधानले नियुक्ति गर्न पाइने छैन भनेको छ निर्वाचन पनि लड्न मिल्दैन त भनेको छैन नि !”
टिप्पणीकारले एकजना पूर्वप्रधानन्यायाधीशसँग यस विषयमा राखेको जिज्ञासाको जवाफ पनि करिब कांग्रेसकै ती नेताको जस्तै थियो ।
संविधान निर्माणकै क्रममा सर्वोच्चका न्यायाधीश तथा पूर्वप्रधान्यायाधीशलाई अवकाशपछि ‘चुप लागेर बस’ भन्ने अवस्थामा पुर्याएको टिप्पणी उनले गरे ।
संविधानको धारा १३ (२) मा प्रधानन्यायाधीश तथा सर्वोच्च अदालतको न्यायाधीशलाई अन्य कुनै काममा लगाउन नहुने व्यवस्था छ ।
उपधारा (१) मा भनिएको छ– प्रधानन्यायाधीश वा सर्वोच्च अदालतको न्यायाधीशलाई न्यायाधीशको पदमा बाहेक अन्य कुनै पदमा काममा लगाइने वा काजमा खटाइनेछैन ।
नेपाल सरकारले न्याय परिषद्सँग परामर्श गरी सर्वोच्च अदालतको न्यायाधीशलाई न्यायिक जाँचबुझको काममा वा केही खास अवधिका लागि कानुन वा न्यायसम्बन्धी अनुसन्धान वा अन्वेषणको कुनै काममा खटाउन सक्नेछ ।
उपधारा (२) प्रधान न्यायाधीश वा सर्वोच्च अदालतको न्यायाधीश भइसकेको व्यक्ति यस संविधानमा अन्यथा उल्लेख भएकोमा बाहेक कुनै पनि सरकारी पदमा नियुक्तिका लागि ग्राह्य हुने छैन ।
उनले विश्वका अरू मुलुकको उदाहरण दिँदै आक्रोश पोखे - “अन्य देशको कुरा किन भारतकै उदाहरण हेर्नोस् त ? यहाँ त प्रधानन्यायाधीशलाई अन्य ठाउँमा जान दिने हो भने त्यसैलाई हेरेर मुद्दाको फैसला गर्छन् भनेर आरोप लगाइन्छ । कुन चाहिँ मुद्दा विश्वका अन्य मुलुकमा त्यसरी हेरेर गरिएको हुन्छ ?”
उनले संविधान निर्माणका बेला वकिलहरुले बढी चलखेर गरेर न्यायाधीशलाई अन्य काममा लगाउन नपाइने व्यवस्था गरिएको भन्दै त्योसहित संविधानमा थुप्रै कमजोरी रहेको औँल्याए ।
“त्यसो भए हामीलाई अवकाशपछि सासमात्रै फेरेर बस भन्न खोजेको हो ?,” उनको प्रश्न थियो, “हाम्रो अनुभवलाई सरकारले कुनै पनि ठाउँमा लगाउनुपर्ने होइन ? हामीमाथि राज्यको लगानी छैन ? मलाई त प्रस्ताव पनि आएको छैन आउँदा पनि आउँदैन होला तर प्रधानन्यायाधीशलाई यसरी थुनेर राखेको हामीलाई मन परेको छैन ।”
उत्साही माधव नेपाल, निराश हुँदै ओली
पछिल्ला दिनमा सबैभन्दा बढी उत्साही देखिएका नेता हुन् नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल ।
बालकोट जाने बेलामा प्रचण्डबाट धोका पाए पनि उनले प्रचण्डलाई भने छाडेनन् । सोही दिन बेलुकी फोन गरेर बधाई पनि दिए । तर बालकोट गठबन्धनपछि प्रचण्डले बेवास्ता गरेको भन्दै चिन्तित देखिएका नेपाल पछिल्ला दिनमा बढी नै उत्साही छन् ।
केहीदिन अघि भएको एउटा अनौपचारिक कुराकानीमा नेता नेपाललाई राष्ट्रपति उमेदवारीबारे सोधिएको प्रश्नमा भने घुमाउरो जवाफ दिएका थिए । उनले प्रचण्डले राष्ट्रपतिको उमेदवार धेरै जनालाई बाँडिसकेको भन्दै अहिले पार्टी सिध्याएर आफू उमेदवार हुन नदौडिने बताएका थिए ।
तर, उनी निकट नेताहरुले दिएको जानकारीअनुसार प्रचण्डसँग भएको पछिल्लो भेटपछि नेपाल एमालेप्रति बढी आक्रोशित बनेका छन् भने एमालेबाहेककै उमेदवार राष्ट्रपति बन्नेमा उनी ढुक्क छन् ।
“शेरबहादुर देउवाको बेहोसी र अहंकारका कारण प्रचण्ड बाहिरिनुपरेको हो । अब पुरानै गठबन्धन ब्युँताउनुपर्छ,” नेपालको भनाइ उद्धृत गर्दै उनी निकट नेताले बाह्रखरीसँग भने ।
कांग्रेसले मान्ने अवस्थामा प्रचण्डको पहिलो नजर भने माधव नेपालकहाँ पुगेर अडिनेछ ।
नेपाल नेतृत्वको पार्टी एकता गरेर उनलाई राष्ट्रपतिमा उमेदवार बनाउन सकिनेछ भन्ने प्रचण्डलाई पनि लागेको हुनुपर्छ तर एमाले र कांग्रेस दुवै चिढ्याउने रणनीति अहिले प्रचण्डकै लागि घातक भने हुन सक्छ ।
प्रचण्डको अर्को रोजाइका पात्र हुन् डा. बाबुराम भट्टराई । तर उनको पक्षमा कांग्रेसले निर्णय गर्ने सम्भावना पनि कम देखिन्छ ।
बुधबार पोखरा पुगेका नेता नेपालले पनि ‘एमालेले राष्ट्रपति पाए बर्बादै’ हुने टिप्पणी गरे । यता दुई दिन बिराएर बालुवाटार या सिंहदरबार धाइरहेका एमालेका अध्यक्ष केपी ओलीको ‘रेस’ कम भएको छ ।
ओलीले पनि अहिलेसम्म पार्टीबाट राष्ट्रपति उमेदवार को ? भन्नेबारेमा आफू निकट नेताहरुसँग पनि छलफल गरेका छैनन् ।
सहमतिअनुसार एमालेले पाउनुपर्ने ‘एकोहोरो अडान’ ओलीको छ ।
कांग्रेस र माओवादीलाई ओलीले सभामुखमाजस्तै उमेदवार पठाउन सक्छन् भन्ने ‘भय’ले नजिक ल्याइरहेको छ । तर अन्तिम समयमा ओलीले गठबन्धन जोगाउनकै लागि प्रचण्डले सहजै स्वीकार गर्ने उमेदवार अघि सारेर ‘नयाँ राजनीतिक अस्त्र’ भने प्रहार गर्न सक्नेछन् ।