
काठमाडौं । माघेसंक्रान्तिमा कन्दमूलको व्यापार मज्जैले हुन्छ । विशेषगरी माघेसंक्रान्तिमा कन्दमूल अर्थात् तरुल, सखरखण्ड, पिँडालुको महत्त्व धेरै हुन्छ ।
माघेसंक्रान्ति विशेषगरी हिन्दु धर्मावलम्बीले मनाउने गर्छन् । तराईका आदिवासी जनजातिहरुले पनि माघेसंक्रान्तिलाई आ-आफ्नो परम्पराअनुसार मनाउने गर्छन् । थारु समुदायमा माघेसंक्रान्तिलाई नयाँ वर्षका रुपमा मनाउने चलन छ ।
यस्तै माघे संक्रान्ति, मकर संक्रान्ति, माघी नामले चिनिने किराँतहरूको नयाँ वर्षको रूपमा परम्परा देखि नै मनाउदै आएको देखिन्छ । माघे/मकर संक्रान्ति पर्व नेपालभर विभिन्न पवित्र नदी, त्रिवेणीमा स्नान गरी मन्दिरमा पूजाआजाका साथै घिउ, चाकु, तिलको लड्डु, तरुल, सखरखण्ड, सिमल तरुल खाएर मनाइन्छ ।
यस पर्वमा देवघाट, बराहक्षेत्र, रिडी, पनौती, दोलालघाट, कन्काई तथा भारतको प्रयाग र गंगा सागरलगायत नदी र घाटमा स्नान, दान, श्राद्ध आदि गर्नेको ठूलो भिड लाग्छ । भविष्य पुराण, विष्णुवचन तथा धर्मसिन्धु नामक ग्रन्थमा यस दिन स्नान गरी घिउ, चाकु, तिलको लड्डु, सागपात, तरुल, वस्त्र, पानीको भाँडो र मकलसहितको सिदा दान गरेमा विशेष फल प्राप्त हुने र उक्त पदार्थ आफूले पनि खाएमा शरीर पोषिलो हुनुका साथै निरोगी हुने जनविश्वास छ ।
हरेक वर्ष शिशिर ऋतुमा पर्ने यो संक्रान्तिमा शरीर शुद्ध गरी घिउ, चाकु र तिल र खिचडी खानाले शरीरमा गर्मीको मात्रा बढेर तागत दिने तथा मास हाली पकाइएको तेल शरीरमा घस्दा चिसोबाट मुक्त भई शरीरका छाला सम्बन्धी रोग नाश हुने जनविश्वास छ ।
यसैबीच बजारमा गाउँ घरमा उब्जाएका र जंगल उब्जिएका कन्दमूलको व्यापार बढेको छ । काठमाडौंको व्यस्त मानिने असन बजारमा पनि माघे संक्रान्तिका लागि किनमेल गर्नेको बाक्लो भिड देखिन्छ ।
गत वर्षको तुलना यो वर्ष कोरोना महामारीका कारण कन्दमूलको व्यापार आधाजस्तो घटेको असनमा कन्दमूलको वर्षौंदेखि व्यापार गर्दै आएकी मैयाँ खड्गीले बताइन् । मैयाँका अनुसार अरु वर्ष २ देखि ३ क्विन्टल कन्दमूलको व्यापार हुनेमा यस वर्ष डेढ क्विन्टल बेच्न पनि धौधौ भएको बताइन् ।
अहिले बजारमा घर तरुल प्रतिकिलो १८०, हात्तीपाउ ८० रुपैयाँ, वन तरुल ३५० रुपैयाँ, स्कुसको जरा १६० रुपैयाँ, सखरखण्ड सय रुपैयाँ र सिमल तरुल ८० रुपैयाँमा बिक्री भइरहेको छ । हेरौं थप तस्बिर :