काठमाडौं । वि.सं. २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त पाशुपत क्षेत्रका ३९ संरचना अझै पनि उठ्न सकेका छैनन् । विश्व सम्पदा सूचीमा सूचीकृत पशुपतिनाथ क्षेत्रका सम्पदा पाँच वर्ष बितिसक्दा पनि पुरानो अवस्था फर्कन नसकेको हो ।
पशुपति क्षेत्रभित्र बाहिरीरुपमा देखिएका ८१८ ओटा सम्पदा संरचना रहेका छन् । जसमध्ये विनाशकारी भूकम्पले ९२ ओटा सम्पदाको संरचना भत्काएको थियो ।
पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाका अनुसार अहिलेसम्म ५३ ओटा सम्पदा पुनर्निर्माण गरिएको छ । ३९ ओटा सम्पदा पुनर्निर्माण हुन बाँकी छ । यी सम्पदा पुनर्निर्माण हुन अझै करिब दुई वर्ष लाग्ने कोषकोे अनुमान छ ।
‘‘हाल १४ ओटा सम्पदा पुनर्निर्माणको चरणमा रहेका छन्,’’ उनले भने, ‘‘भूकम्पले मूल मन्दिरलाई समेत जीर्ण बनाएको छ । यसको पनि जीर्णोद्धार गर्न सकिएको छैन ।’’
आर्थिक वर्ष २०७७/७८ मा पशुपति क्षेत्र विकास कोषले ७९ करोड रुपैयाँ सम्पदा पुनर्निर्माणका लागि छुट्ट्याएको छ ।
१४ ओटा सम्पदा पुुनर्निर्माण हुँदै
हाल पशुपति क्षेत्रभित्रका १४ ओटा सम्पदा पुनर्निर्माण भइरहेका छन् । जसमा गौशाला भुवनेश्वरीको स्तरोन्नति, आर्यघाट दर्शनमार्ग स्तरोन्नति, जिततंग प्रकाशेश्वर मन्दिर पुनर्निर्माण, पशुपतिनाथको मूलढोकाभित्र रहेको भान्साघर, संकटनारायण सत्तल, राम मन्दिर, उमाकुण्ड मन्दिरलगायत रहेका छन् । विश्वरुपा मन्दिर, गौरीघाटलगायत अरु सम्पदा पनि पुनर्निर्माण प्रक्रियामा छन् ।
काठ नहुँदा पुनर्निर्माणमा समस्या
सम्पदा पुनर्निर्माण गर्न काठको समस्या परेको कोषले जनाएको छ । जयवागेश्वरी मन्दिर पुनर्निर्माणका लागि साँखु र लुभुबाट माटो ल्याइने भएको छ । माटो ल्याइने निश्चित भए पनि काठको अभाव भएको छ । मन्दिरको तल्लो भागमा नयाँ काठ राख्नुपर्ने छ । बजारमा काठ पाउन नसक्दा पुनर्निर्माणमा समस्या आएको जनाइएको छ ।
कोषले २०७६ सालमा आगामी ५० वर्षसम्मको स्थितिको आँकलन र प्रक्षेपण गरी गुरुयोजना तयार गरेको छ । पशुपति क्षेत्रको संस्कृति, सम्पदाको संरक्षण गरी यसलाई धार्मिक तथा आध्यात्मिकरुपमा अन्तर्राष्ट्रिय सनातन तीर्थस्थल एवं आकर्षक पर्यटकीय गन्तव्य बनाउने लक्ष्य राखिएको छ ।
भक्तजन आतुर
पुनर्निर्माण भइसकेका सम्पदा हेर्न भक्तजन आतुर रहेको कोषले जनाएको छ ।
गत साता पाशुपत क्षेत्रभित्रको पुनर्निर्माण भइसकेको चन्द्रविनायक मन्दिरमा भक्तजनको भिड लागेको थियो । उनका अनुसार चन्द्रविनायकको दर्शन गरेमा छाला एवं घाउखटिरा निको हुने धार्मिक विश्वास छ ।
कोरोना महामारीले धक्का
पशुपतिनाथको मूल मन्दिर पनि जीर्ण बन्दै गएको छ । यसको पनि पुनर्निर्माण गर्नुपर्ने बेला भएको छ । पुरातत्व विभागले यसको अध्ययन अगाडि बढाएको छ । ‘कोरोनाको धक्काले एक वर्षपछि परेका छौँ,’’ उनले भने, ‘‘सांस्कृतिक पर्यटन भनेको खासगरी मानवीय आवागमन हो । बन्दाबन्दी खुलेसँगै सामाजिक दूरी र नियम अनिवार्य गरेका छौँ । यो क्षेत्रमा ठूलो क्षति पुगेको छ । हवाई तथा स्थलमार्गबाट हुने आवतजावत पूर्णरुपमा बन्द भएका कारण आन्तरिक र बाह्य पर्यटकहरु आउन पाएनन् ।’’
पुरातात्विक सांस्कृतिक सम्पदाको अध्ययन, अनुुसन्धान र उत्खनन् गर्ने योजना तर्जुमा गरिएको छ । जसमा खानेपानीलगायतका आधारभूत भौतिक पूर्वाधारको निर्माण, पूर्वीय दर्शन अध्ययन केन्द्रहरु स्थापना, पशुपति क्षेत्रसम्बन्धी अन्तर्राष्ट्रियस्तरमा प्रचारप्रसारलगायत छन् ।
गोेरखा भूकम्पले देशभर ९२० सम्पदामा क्षति
साढे पाँच वर्षअघिको ‘गोरखा भूकम्प’ले देशभरका ९२० सम्पदामा क्षति पुगेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएको छ । तीमध्ये हालसम्म ४६५ सम्पदा पुनर्निर्माण भइसकेका छन् । हाल २७२ सम्पदाको पुनर्निर्माण जारी रहेको जनाइएको छ ।