काठमाडौं । लकडाउन खुलेसँगै केही सार्वजनिक सवारी–साधनले महँगो भाडा असुलेको यात्रीको गुनासो छ । विद्यार्थी र ज्येष्ठ नागरिकले छुट पनि पाउन नसकेको उनीहरु बताउँछन् ।
कोरोना महामारीका कारण गरिएको लकडाउनले लामो समय सार्वजनिक यातायातका साधन बन्द रहे । पछि सरकारले स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर यातायात सञ्चालन गर्न स्वीकृति दियो । तर, यातायात व्यवसायीले भने सुरक्षा मापदण्ड पालना गरेको पाइँदैन ।
बौद्धबाट रत्नपार्क जान कालिकोटका ध्रुवराज सञ्जेल साझा यातायातको ८७५८ नम्बरको बसमा चढे । सबै सिट ‘प्याक’ थियो । करिब १० जनाजति यात्री उभिएर यात्रा गरिरहेका थिए । उभिनेमा उनी पनि हुन् । ४५ मिनेटजतिमा उनी पुतलीसडक पुगे । भाडास्वरुप १५ रुपैयाँ दिए । विद्यार्थी परिचयपत्र पनि देखाए । सहचालकले भाडा २५ रुपैयाँ लाग्ने बताए । ‘‘कार्ड सार्ड चल्दैन,’’ उनले भने ।
सञ्जेलले सोधे, ‘‘किन चल्दैन ? चल्नुपर्ने हो त ।’’
सहचालक ‘‘खुरुक्क १० रुपैयाँ फेरि थप्नू’’ भन्दै झर्किए ।
थप १० रुपैयाँ दिएर उनी ओर्लिए ।
काठमाडौं उपत्यकाभित्र चल्ने छोटो दूरीका सवारी–साधनमा व्यवसायीले कुनै पनि सतर्कता नअपनाई गाडीको क्षमताभन्दा धेरै यात्री चढाएर चर्को भाडा असुलिरहेका छन् । लामो दूरीका सवारी–साधनमा पनि व्यवसायीले सामान्य अवस्थामा जसरी नै यात्री कोचेर चर्को भाडा असुल्ने गरेको यात्रीको गुनासो छ ।
कोरोना संक्रमणका कारण सरकारले यातायातमा स्वास्थ्य सुरक्षाको मापदण्ड अनिवार्य गरेको थियो । दुई सिटमा एकजना मात्र यात्री राख्ने, ढोकामा स्यानिटाइजर राख्ने, यात्रीसँग दूरी कायम राख्ने, मास्क लगाएर मात्र सवारी–साधनमा बसाल्नेलगायत सुरक्षा अपनाउन सरकारले निर्देशन दिएको थियो ।
चर्को भाडा असुल्ने कुरा त बेग्लै छ । भाडादर नटाँसे कारबाही गर्ने भन्दै नियम पनि बनाइएको थियो । तर, नियम कार्यान्वयन भएको देखिँदैन ।
सार्वजनिक यातायातमा चाबहिल–रत्नपार्कको यात्रा गर्ने सरस्वती चालिसे पहिलाको भन्दा अहिले बढी भाडा लिने गरेको बताउँछिन् । ‘‘भाडा चर्को लिने तर मापदण्ड पालना गर्नतर्फ व्यवसायीले चासो दिएका छैनन्,’’ उनले भनिन्, ‘‘अहिले राजधानीभित्र सार्वजनिक गाडीमा चढ्नासाथ २५ रूपैयाँ लिइहाल्छन् । चाबहिलदेखि पुरानो बसपार्क आउन १५ रुपैयाँ लाग्थ्यो ।’’
जोर–बिजोर प्रणाली हटाइ अहिले सबैखाले सवारी नियमित सञ्चालनमा आइसके । लामो र छोटो दूरीमा तोकिएको भाडादरभन्दा दोब्बर लिने गरेको अर्का यात्री धर्मराज जैसीको भनाइ छ । सवारी–साधनमा भाडादर टाँसिएको देखिँदैन । विद्यार्थी र ज्येष्ठ नागरिकले परिचयपत्र देखाउँदासमेत छुट दिइँदैन ।
रत्नराज्य क्याम्पसका विद्यार्थी जयदीप गिरीका अनुसार परिचयपत्र देखाउँदा सहचालकले ‘चल्दैन’ भनेर छुट दिँदैनन् । कहिले २५ रुपैयाँ त कहिले ३० रुपैयाँ तिर्दै आएको उनी सुनाउँछन् । उनी बौद्धमा बस्छन् । बीए दोस्रो वर्षको परीक्षा फाराम खुलेको छ । परीक्षाको तयारीको लागि पनि क्याम्पस जानुपर्छ । उनी भन्छन्, ‘‘परिचयपत्र चल्दा सजिलो थियो । दैनिक १५ रुपैयाँको दरले आउन–जान ३० रुपैयाँमात्र लाग्थ्यो । तर, अहिले ६० रुपैयाँ खर्च हुन्छ ।’’
सरकार र यातायात व्यवसायीबीच दसैंताका भाडा बढाउने सहमति भएको थियो । दुई सिटमा एकजना मात्र यात्री राख्ने सर्तमा त्यस्तो सहमति भएको हो । तर, अहिले एउटै सिटमा दुईजना राखिएको छ । ट्राफिक प्रहरीले अनुगमन गरेको पाइँदैन । यातायात व्यवस्था विभागले पनि वास्ता गर्दैन । गिरी भन्छन्, ‘‘१०३ मा फोन गर्दा उठ्दैन ।’’
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला सरकारले एकलौटी निर्णय गरेको बताउँछन् । जसले गर्दा यातायात व्यवसायी उल्टो मारमा परेको उनको भनाइ छ । उनले भने, ‘‘सरकारले गरेको एकलौटी निर्णय मान्न तयार छैनौँ । ग्यारेजमा लामो समय सवारी थन्किँदा मजदुर मर्कामा परे ।’’
यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमाल भने यातायात क्षेत्रमा सुरक्षा अनिवार्य गरिएको बताउँछन् । ‘‘यातायात विभागका कर्मचारीले निगरानी बढाएका छन्,’’ उनले भने, ‘‘प्रहरीले समेत यसको निगरानी बढाएको छ । यस्तो महामारीका समयमा आफैँ स्वयं सतर्क रहने हो । आफ्नो सुरक्षा आफैँ गर्नुपर्छ । व्यवसायीलाई सुरक्षा अपनाएर मात्रै सवारी चलाउन भनेका छौँ । अनुगमन पनि तीव्र गतिमा भइरहेको छ ।’’
महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईले अब छिट्टै ट्राफिक प्रहरीको दायरालाई बढाएर अनुगमनमा खटिने तयारी भइरहेको बताए । उनले भने, ‘‘सार्वजनिक सवारी–साधनमा भाडादर टाँस्न अनिवार्य गरेका छौँ । जथाभावी भाडा असुलेको भेट्टाइए कारबाही गर्छौँ ।’’
फाइल तस्बिर