काठमाडौं । काठमाडौं महानगरपालिकाका ब्रुमरले जति धुलो बढारे पनि सडकको अवस्था उस्तै देखिन्छ । दिनदिनै धुलो उठाइरहँदा पनि सडकमा उत्तिकै धुलो देखिएको हो ।
गएको कात्तिक अन्तिम साता गौशाला–चाबहिल–धोबीखोला सडकखन्डमा कालोपत्रे गरियो । हिलो र धुलोको सास्ती खेप्न बाध्य यात्री, चालक, ट्राफिक प्रहरी, स्थानीय सबै खुसी भए । अब धुलोमुक्त हुने उनीहरुको अपेक्षा थियो । तर, अहिले पनि धुलो उस्तै छ ।
सडक कालोपत्रे हुँदा खुसी भएका सबै यो समयमा पानी नपर्दा हिलोबाट त बचे । तर, धुलोबाट बच्न सकेका छैनन् । चाबहिलका स्थानीय सूर्य कटुवाल भन्छन्, ‘‘सडक कालोपत्रे नहुनुभन्दा अगाडि त धुलो–धुवाँ हुन्थ्यो नै । हामीलाई लागेको थियो, सडक कालोपत्रे भएपछि धुलो–धुवाँको सास्ती खेप्न पर्दैन । तर, अहिले पनि धुलो–धुवाँ उस्तै छ ।’’
उनको चाबहिल चोकमै कपडा पसल छ । पसलभित्रका सामान पूरै धुलाम्य हुने गरेको उनी सुनाउँछन् । उनी भन्छन्, ‘‘सामान किन्न आएका ग्राहक धुलो लागेको सामान देखेर नकिनी जाने गर्छन् ।’’
बा९५प ९३३९ नम्बरका मोटरसाइकल चालक सायल सुनुवार बिहान सफा भएर निस्किए पनि बेलुका धुलाम्य भएर आउनुपरेको सुनाउँछन् । काठमाडौंका रत्नपार्क, माइतीघर, बानेश्वर, चक्रपथ, गोंगबु बसपार्क, कलंकी, कोटेश्वर, तीनकुने, थानकोट सबैतिरका सडकमा धुलो देखिन्छ । उनले भने, ‘‘बिहान जाँदा सफा भएर गइन्छ, बेलुका पूरै सेतै भएर फर्कनुपर्छ । मोटरसाइकलमा चढ्दा आँखामा धुलो छिरेर चलाउनै गाह्रो पर्छ ।’’
८७५८ नम्बरको साझा यातायातमा साँखु–रत्नपार्क–कालीमाटी–कलंकी रुटमा सवारी चलाउने दोलखा, चरिकोटका विष्णु प्रधान सवारी चलाउँदा गाडीको सिसाबाट बाहिर हेर्न गाह्रो भएको बताउँछन् । गाडीको सिसामा धुलो टाँसिएर बाहिर हेर्नै नसकिने र यसले सवारी दुर्घटनाको उच्च जोखिम हुने उनको भनाइ छ ।
काठमाडौं महानगरपालिकाले काठमाडौंका सडकमा बु्रमर चलाएर धुलो संकलन गर्न थालेको दुई वर्ष हुन लाग्यो । जति बु्रमर चलाए पनि सर्वसाधारणले धुलोमुक्त सहरको अनुभूति गर्न सकेका छैनन् ।
सोमबार राति चाबहिल–जोरपाटी सडकखन्डको करिब हजार टन धुलो ब्रुमरले संकलन गरेको काठमाडौं महानगरपालिका वातावरण व्यवस्था विभागका कार्यसञ्चालन शाखा प्रमुख एवं नगर प्रहरी निरीक्षक पूर्णचन्द भट्टले बताए । उक्त क्षेत्रमा दैनिक हजारौँ सवारी गुड्छन् । तर, सडक कालोपत्रे छैन ।
‘‘कच्ची सडक हुँदै गुड्ने सवारीले चक्कामा हिलो ल्याएर आएका हुन्छन् । चक्काको हिलो सुक्दै जाँदा सडकमा खस्छ । जसले सडक धुलाम्य बनाउँछ । रातिको समयमा धुलो बढार्छौँ । तर, भोलिपल्ट उस्तै हुन्छ,’’ उनले भने । उनले विभागले लकडाउनको बेला पनि ब्रुमर चलाएको सुनाए । त्यो बेला सवारीको चाप थिएन ।
कामपा वातावरण व्यवस्था विभागका प्रमुख हरिकुमार श्रेष्ठका अनुसार महानगरसँग अहिले सातओटा बु्रमर छन् । ब्रुमर, चालक, सहचालक, कन्ट्रोल गर्नेलगायत गरी १८ जना कामदार अहिले खटिएका छन् । उनले भने, ‘‘३२ ओटै वडामा ४७८ जना कुचीकार छन् । उनीहरु दैनिकरुपमा खटिरहेका छन् । बु्रमरले नभ्याउने ठाउँमा फोहोर उठाउन खट्दै आएका छन् ।’’
श्रेष्ठले ब्रुमर सञ्चालनमा आएपछि पाँच हजार ९७ टन फोहोर र धुलो उठेको जानकारी दिए । दैनिक विभागको तथ्यांकानुसार सडकबाट १८ देखि २० टन धुलो उठ्छ । ०७६ साउनदेखि ०७७ असारसम्म चार हजार ९९२ टन धुलो उठाइएको थियो ।
पहिलो वर्षमा महानगरले उठाएको धुलो जम्मा गरेर राखेको थियो । जुन धुलोले खोला किनाराका सडकका खाल्डा पुर्ने काम गरियो । अहिले जम्मा गरेको धुलोबाट इँटा बनाउने योजना छ । धुलो परीक्षणका लागि पठाइएको छ ।
पूर्वाधारविद् सूर्यराज आचार्य पूर्णरुपले सडक मर्मत नगरेसम्म सडकको धुलो हटाउन मुिस्कल पर्ने बताउँछन् । उनी भन्छन्, ‘‘खाल्डाखुल्डी भएका ठाउँका सडक पुरेर कालोपत्रे गर्नुपर्छ । सबैतिर चिल्लो हुनुपर्छ । ब्रुमरले खाल्डाखुल्डी नभएका ठाउँको मात्रै धलो उठाउने हो । ब्रुमर चलाउनुभन्दा अगाडि सडकमा चुहावट हुने पानीका गाडी बन्द हुनुपर्छ । अस्तव्यस्त सडक मर्मत गर्नुपर्छ । हिलाम्य सडकबाट गाडी छिराउँदा सवारीका चक्का धोएर मात्रै भित्र छिराउनुपर्छ । तब मात्रै सडकको धुलो, हिलो हटाउन सकिन्छ ।’’
इटालियन कम्पनीबाट महानगरपालिकाले ०७५ मा पाँचओटा ब्रुमर खरिद गरेको थियो । चारओटा ब्रुमर करिब १६ टन क्षमता बराबरका हुन् भने एउटा ब्रुमर छ टन क्षमता बराबरको हो । ब्रुमरले दिनमा १० किलोमिटरजति सडकको धुलो संकलन गर्न सक्छन् । ब्रुमरका दायाँ–बायाँ गरी प्लास्टिकका चारओटा ब्रस जडान गरिएको छ । धुलो तान्न सक्ने शक्तिशाली पाइप जडान गरिएको छ । जुन ब्रुमर युरो मापदण्डका हुन् । ०७६ असारमा चीनको छेन्दु नगरले उपहारस्वरुप काठमाडौं महानगरपालिकालाई दुईओटा ब्रुमर हस्तान्तरण गरेको थियो । जसले धुलो र पात–पतिङ्गर पनि संकलन गर्न सक्ने क्षमता रहेको छ ।
विभागका प्रमुख श्रेष्ठका अनुसार धरहरा पुनर्निर्माण गर्दा रत्नपार्कको सडकमा धुलो निम्तिएको छ । यसले गर्दा जति ब्रुमर चलाए पनि सडक सफा हुन सकेका छैनन् । उनले भने, ‘‘छिमेकी नगरपालिकासँग छलफल गरिरहेका छौँ, पिच सडकमा पनि कच्ची सडकको हिलोले गर्दा धुलो–धुवाँ भित्र छिरेर वातावरण प्रदूषण भइरहेको छ । यो महानगरबासी जो कोहीको समस्या हो । काठमाडौं उपत्यका छिर्दा हिलो पखाल्ने योजना लागु गर्छौँ र महानगरका बासिन्दालाई छिट्टै हिलो धुलो–धुवाँमुक्त बनाउँछौँ ।’’