काठमाडौं । अत्यधिक जाडोका कारण विद्यालय बिदा भएपछि हुम्लाका विद्यार्थीको दैनिकी फेरिएको छ ।
उनीहरु बिहान ८ बजे नै काँधमा नाम्लो र बन्चरो बोकेर जंगलतिर जान्छन् । पिठ्युँमा दाउराको भारी बोकेर साँझ घर फर्कन्छन् ।
सर्केगाड गाउँपालिका–१ स्थित सरस्वती माविका विद्यार्थी विद्यालय जानुपर्ने बेलामा नाम्लो र बन्चरो बोकेर जंगलतिर जान थालेका हुन् ।
जाडोको समयमा पाँच महिना विद्यालय बन्द रहन्छ । मंसिर महिनाको वार्षिक परीक्षापछि उनीहरुको दैनिकी परिवर्तन हुन्छ ।
घरमा खाना पकाउन र आगो ताप्न दाउरा बाल्नुको विकल्प छैन । त्यसका लागि ग्रामीण क्षेत्रका बालबालिका दाउरा बोक्न बाध्य बन्छन् ।
‘‘विद्यालय मंसिरदेखि वैशाखसम्म बिदा हुन्छन् । करिब पाँच महिना दाउरा बोक्दैमा जान्छ । गाउँका सरकारी विद्यालयमा किताब पनि आउँदैन । आफूभन्दा माथिल्लो दर्जाका साथीहरुका मागेर पुराना किताब पढ्ने हो,’’ सरस्वती माविमा कक्षा–६ मा अध्ययनरत् उब्जन नेपाली भन्छन्, ‘‘गाउँभरिकै मानिसहरु दाउरामै खाना पकाउनुपर्दा नजिकै कतै दाउरा भटिँदैन । त्यति सजिलो छैन, दाउरा ल्याउन ।’’
हरेक वर्ष मंसिरदेखि आफूहरुको दिनचर्या यसरी नै बित्ने गरेको उनको भनाइ छ ।
दैनिक दाउरा ल्याउन दुई घण्टाको बाटो हिँडेर लेकमा जानुपर्ने उनले बताए । जंगल मासिँदै जाँदा दाउरा लिन टाढा–टाढाबाट जानुपर्ने बाध्यता बनेको हो ।
विद्यालय बन्दका बेला केही बालबालिका भने पशुचौपाया चराउन जाने गर्छन् ।
सोही विद्यालयमा कक्षा–७ मा अध्ययनरत् धौला नेपाली आफूहरुको मुख्य काम भनेको जंगल गएर दाउरा ल्याउनु रहेको बताउँछन् ।
‘‘दुई/तीन घण्टाको समय हिँडेर जंगलमा जानुपर्छ । जंगलमा पुग्दै दिनको धुप ढल्छ । बन्चरोले दाउरा चिर्दा–चिर्दै साँझ पर्छ । बल्ल एक भारी दाउरा लिएर घर फर्कनुपर्छ,’’ उनले भने ।
सरस्वती माविका प्रधानाध्यापक छक्कबहादुर रावतका अनुसार दुई महिना अत्यधिक जाडो हुन्छ । त्यसको लागि छुट्टी हुने हो । तर, फागुनबाट विद्यालय सञ्चालन हनुपर्नेमा सञ्चालन हुन सक्दैनन् । वैशाखदेखि मात्रै विद्यालय पूर्ण सञ्चालनमा आउँछन् ।