काठमाडौं । जोरपाटी–सुन्दरीजल सडक विस्तार कार्यले चार वर्षपछि गति लिएको छ । स्थानीयले जग्गा खाली नगर्दा काम रोकिएको थियो । गोकर्णेश्वर नगरपालिकाका प्रवक्ता मनोजकुमार ढुंगानाका अनुसार सडक क्षेत्रमा रहेका संरचना हटाउने काम ६० प्रतिशत सकिएको छ । स्थानीयबासीको सहमतिमा सडक विस्तारको काम सुरु गरेको उनले बताए । ‘‘गोकर्णेश्वरका सबै सडकखण्डमा संरचना भत्काउने काम भइरहेको छ । घरका आँगन, सिँढी, विद्युत्का पोल, ढलका नाली खोल्ने काम गरी सडकको लेन लम्ब्याइँदै छ,’’ उनले भने ।
उक्त सडकखन्ड २०७५ भदौमा कालोपत्रे भइसक्नुपर्ने थियो । चार वर्षअघि ठेक्का सम्झौता भएको थियो । पहिलोपटक थपिएको म्याद गएको भदौमा सकियो । दोस्रोपटकको म्यादानुसार आउँदो असार मसान्तसम्म काम सकाउनुपर्ने सडक विस्तार आयोजनाले जनाएको छ ।
सडक नबन्दा घाम लागेका बेला धुलो र पानी परेको बेला हिलोको सास्ती खेप्न बाध्य भएको स्थानीयबासी आयुश ढुंगेल बताउँछन् । यही सडकखन्ड हुँदै सुन्दरीजल, चिसापानी, हेलम्बु, लामटाङलगायतका पर्यटकीय क्षेत्रमा पुग्न सकिन्छ । ५४ करोड रुपैयाँमा सात किलोमिटर सडक विस्तार गर्ने गरी ठेक्का सम्झौता भएको थियो । जसअन्तर्गत् कालोपत्रे पनि पर्छ ।
कालोपत्रेको काम आउँदो फागुनको तेस्रो हप्तासम्म सुरु गर्ने योजना बनाएको निर्माण व्यवसायी शान्तकुमार श्रेष्ठले बताए ।