काठमाडौं । आइएमई नेपाल लिटरेचर फेस्टिवलको पहिलो दिनको प्रारम्भिक सत्रमा मदन पुरस्कार विजेता पुस्तकका लेखक चन्द्रप्रकाश बानियाँसँग अन्तरक्रिया गरियो । पत्रकार राजकुमार बानियाँसँगको अन्तरसंवादमा लेखक चन्द्रप्रकाशले मदन पुरस्कार पाएपछि विभिन्न संस्थाहरूले छलफलको आयोजना गरेको थिए । तथापि पोखराले अझै पनि आफूलाई नचिनेको र आफू गुमनाम नै रहेको बताए ।
मदन पुरस्कार पाउनुअघिसम्म लेखक चन्द्रप्रकाश बानियाँ साहित्यका पाठकमाझ गुमनाम सरह थिए । कहिल्यै कुनै पुरस्कार नपाएका उनले ‘महारानी’ उपन्यासबाट नेपाली साहित्यमा सबैभन्दा ठूलो पुरस्कार मदन पुरस्कार पाए पछि लेखक स्वयम्लाई चकित पार्ने यो पुरस्कार उनी हाल बस्दै आएको सहर पोखराका लागि पनि ‘सरप्राइज’ नै भएको उनले बताए । म्याग्दीमा जन्मेका चन्द्रप्रकाशकै शब्दमा उनले मदन पुरस्कार जितेको खबर ‘पोखराका लागि हर्ष न विस्मात्’ सरह नै भयो ।
उनले ‘महारानी’ को चर्चा आफ्ना लागि अनपेक्षित भएकोसमेत बताए । “पुरस्कृत होला भन्ने कल्पनै थिएन,” उनले भने । म्याग्दी, पुलाको भीरमुनि जन्मेका चन्द्रप्रकाशले महारानी उपन्यास म्याग्दीको ऐतिहासिक सन्दर्भमा पर्वत राज्यलाई आधार बनाएर लेखेका हुन् । उनको पारिवारिक पृष्ठभूमिका कारण पर्वत राज्यका ऐतिहासिक दस्तावेज, लोककथा, किंवदन्तीलगायत सामग्रीमा उनको पहुँच थियो ।
अन्तरसंवादमा उनले भने, “पर्वत राज्यको इतिहास लेखनमा ती सामग्री उपयोग गरी इतिहास लेख्नुपर्छ भन्ने लागेर मैले कोसिस गरेँ ।” इतिहासका सामग्री संकलन गरेपछि पनि केही कथाहरू भन्न बाँकी रहेको महसुस गरेपछि कथामार्फत इतिहास भन्न उपन्यास लेखेको उनले बताए ।
लेखक बानियाँ र पत्रकार बानियाँबीचको सवाल जवाफमा महारानी उपन्यासको ऐतिहासिकता र सामयिकताबारे चर्चापरिचर्चा भयो । “म्याग्दीको सन्दर्भमा महारानीको पूजास्थल छ । देवी भनेर चिनिन्छ । भगवती भनेर पूजा गर्छन् तर उनी देवी वा भगवती नभएर रानी थिइन् । त्यही जानकारी दिन यो किताब लेखिएको हो,”चन्द्रप्रकाशको भनाइ थियो ।
महारानीका लेखक चन्द्रप्रकाश २०४८ मा सांसद बनेका सक्रिय राजनीतिज्ञ पनि हुन् । तर ब्रेन ट्युमर भएपछि उनी राजनीतिमा निस्क्रिय हुँदै लेखनमा सक्रिय बन्दै गए । यही क्रममा मनग्गे पुस्तक पढेको उनले बताए ।
“म चमत्कारमा विश्वास गर्दिनँ । २५ वर्षदेखि क्यान्सर बोकेर मस्तिष्कमा पनि बाँचिरहेको छु । मलाई उपचार गर्ने डाक्टर नै क्यान्सरबाट बिते, म जीवित छु,” उनले भने ।
राजकुमार बानियाँले लेखक बानियाँलाई सोधे, ‘राजनीति छाड्नुपरेकोमा पश्चात्ताप छ कि ?’
“मन्त्री भएको भए गाली खाइन्थ्यो होला, सराप्थे होलान् । लेखक बनेर धेरथोर प्रतिष्ठा आर्जन गरियोे, मलाई कुनै पश्चात्ताप छैन,” उनले भने, “लेखनको बाटोमा हिँडेर प्रसन्न छु ।”
नेपालमा मदन पुरस्कार पाए लेखकको परिचय, पहिचान र पुस्तक बिक्रीमा ठूलै असर पारेको देखिन्छ । ‘महारानी’को हकमा पनि यस्तै नै भयो । यसले गुमनाम लेखकलाई परिचय दियो । पुस्तकको चर्चासँगै बिक्रीमा पनि सकारात्मक प्रभाव पा¥यो ।
यही कुरा जोड्दै प्रस्तोता बानियाँले सोधे, ‘महारानीले मदन पुरस्कार पाएपछि यसको बिक्रीबाट तपाईं कति अर्थ आर्जन गर्नुभयो त ?’
लेखकले भने, ‘पुरस्कारबाट पाएको नगदबाहेक नढाँटीभन्दा लेखकस्वबाट एक छाक भात पनि खाएको छैन ।’
कर्मठ 'केटीहरू'
बाल–कुपोषण न्यूनीकरण र मातृस्वास्थ सुधारमा नेपालले २५ वर्ष लगाएर हासिल गरेको सफलता कोभिड–१९ का कारण २५ दिनमै धरापमा परेको सोसल चेन्जमेकर एन्ड इन्नोभटेरर्स (सोचाइ) की संस्थापक बोनिता शर्माले बताएकी छन् ।
बोनिता शर्मालाई सन् २०१९ मा बीबीसीले विश्वका प्रेरणादायी र प्रभावशाली महिलाको सूचीमा समेटेको थियो । शर्माले महिला र बाल–स्वास्थको क्षेत्रमा काम गर्दै आएकी छन् । उनी नवउद्यमी पनि हुन् ।
शर्माकै समकालीन अर्की महिला उद्यमी सोनिका मानन्धरले २५ वर्षदेखि महिलाहरूको हालत उस्तै रहेको उल्लेख गरिन् । “नेपालमा २५ वर्षअघिदेखि महिलाहरूले सफा टेम्पु चलाउन थाल्नुभएको हो,” उनले भनिन्, “अहिले उहाँहरूले सफा टेम्पु छाडेर इलेक्ट्रिक ट्याक्सी किन्न वा कुनै पनि कामका लागि ऋण माग्नुभयो भने कुनै पनि बैंकले उहाँहरूलाई पत्याउँदैनन् । यत्रो वर्षदेखिको योगदानपछि पनि नेपालमा महिलालाई विश्वास गरिँदैन ।”
आइएमई लिटरेचर फेस्टिभलको पहिलो दिनको दोस्रो सत्रको ‘कर्मठ केटीहरू’ मा शर्मा र मानन्धरसँगै ‘खाली सीसी’ संस्थाकी आयुषी केसीले आफ्ना उद्यम, यसमा रहँदाका चुनौती, समाज, राज्य र अन्र्तराष्ट्रिय क्षेत्रले महिला व्यवसायीलाई गर्ने व्यवहार लगायत विषयवस्तुबारे आफ्ना अनुभव र विचार साटासाट गरे ।
तीनै युवा व्यवसायीका कामलाई बीबीसी, फोब्र्स, नेसनल जियोग्राफिकजस्ता अन्तर्राष्ट्रिय संस्थाले पहिचान गरेको उल्लेख गर्दै मध्यस्थकर्ता आभाष्ना पाण्डेले उद्यमीका रूपमा उनीहरूलाई आफ्नै देशले चाहिँ कस्तो व्यवहार गर्छ भनी जिज्ञासा राखेकी थिइन् । यो जिज्ञासामा बोल्दै आयुषीले भनिन्, “देशले वास्ता गरेन भनेर दोष लगाइहनुभन्दा हामीले निरन्तर घचघच्याइरहनुपर्छ भन्ने ठान्छु । निरन्तरको प्रयासले नै अहिले हामी काठमाडौं महानगरपालिकाको वातावरण साखासँग मिलेर काम गर्ने अवस्थामा पुगेका छौं ।”
बोनिता र सोनिकाले भने युवा व्यवसायीलाई सरकारले तक्मा दिनुभन्दा काम गर्ने वातावरण र अवसर मिलाइदिए पर्याप्त हुने बताए ।
के सम्पदा के बसोबास
आइएमई लिटरेचर फेस्टिभलको नवौँ संस्करणमा ‘के सम्पदा के बसोबास’अन्तर्गतको छलफलमा वास्तु एवम् ग्रामीण विकासविज्ञ मिलन बगालेसँगै सांस्कृतिक सम्पदा संरक्षक रवीन्द्र पुरीले परम्परागत शैलीको निमार्णको दिगोपन, विकासका नाममा भइरहेको डोजर विकास र जीवनशैलीसँगको सम्बन्धबारे छलफल गरे । जसले पछिल्लो समय आधुनिकताका नाममा पुरानो संस्कृतिलाई मानिसले कसरी छाड्दै आएको छ भन्नेबारेमा वक्ताहरूले आफ्नो अभिमत राखे ।
बगालेले २०७२ सालको भूकम्पले घरहरूलाई बलियोसँग नबाँधिएको कुरा देखाएको बताए । “घरको संरचना मात्र भत्काएको, यसको वास्तुकला, इतिहास, आत्मा, कलाशैली भत्काएको होइन,” उनले भने । घरलाई एक ढिक्का बनाउनुपर्छ भनेर स्थापना गरिएको जुन मान्यता छ, इन्जिनियरिङले घरको चार सुरलाई बाँध्न सकेको भए मौलिक घरको वास्तुकलालाई गुमाउनु नपर्ने उनको भनाइ छ ।
यस्तै सांस्कृतिक सम्पदा संरक्षक रवीन्द्र पुरीले रैथाने संस्कृतिमा दिगोपना भएको कुरा उल्लेख गरे । भक्तपुरको झन्डै ३०० वर्ष पुरानो सांकृतिक धरोहर, ‘न्यातापोल’ यसको उदाहरण भएको उनले बताए । पुरीका अनुसार हरेक शताब्दीमा ठूलो भूकप्प भोग्ने नेपालमा न्यातापोलोले ४ ओटा भूकम्प थेगिसकेको छ ।