काठमाडौं । साबिकको विजेता अष्ट्रेलियाले इंग्ल्यान्ड र वेल्समा जारी आइसीसी महिला एकदिवसीय विश्वकप क्रिकेटमा लगातार तेस्रो जित हासिल गरेको छ । लगातार तेस्रो जित हासिल गर्ने क्रममा आइतबार राति अष्ट्रेलियाले न्युजिल्यान्डलाई ५ विकेटले पराजित गरेको हो ।
काउन्टी मैदानको ब्रिस्टोल ओभलमा न्युजिल्यान्डले दिएको २२० रनको लक्ष्य अष्ट्रेलियाले ४८ ओभर ४ बलमा ५ विकेट गुमाएर पुरा गर्यो । अष्ट्रेलियाको जितमा एलास पेरीले ७१ तथा कप्तान मेग लानिङले ४८ रनको योगदान गरिन् । त्यस्तै अष्ट्रेलियाकी एलेक्स ब्लाकवेलले अविजित ३६ तथा बेथ मोनीले ३२ रन जोडिन । न्युजिल्यान्डकी अन्ना पिटरसन र अमेलिया केर्रले समान दुई दुई विकेट लिईन ।
यसअघि टस जितेर पहिले ब्याटिङ्ग गरेको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २१९ रन बनाएको थियो । न्युजिल्यान्डका लागि केटिन पेर्किन्सले ५२ तथा कप्तान सुजी बटेसले ५१ रनको योगदान गरिन् । त्यस्तै एरिन बेर्मीङहमले ३५ रन जोडिन् । अष्ट्रेलियाकी जेस जोनासेन र मेगानले समान तीन तीन विकेट लिए ।
यो जितसँगै अष्ट्रेलियाले ३ खेलबाट ४ अंक जोडेको छ । र, शिर्ष तेस्रो स्थानमा रहेको अष्ट्रेलियाले सेमिफाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ । यता, न्युजिल्यान्डको यो पहिलो हार हो । तीन खेलमा ३ अंक जोडेको न्युजिल्यान्ड समूहको पाँचौ स्थानमा छ ।