पोखरा । औपचारिक रुपमा नेपाल कम्युनिष्ट पार्टी विभाजन भएको छैन । तर, भावनात्मक रुपमा पार्टी फुटको घोषणा आइतबारको संसद विघटनले पुष्टि गरिसकेको छ । त्यसको बाछिटा स्वरुप देशभर प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थन र विरोध प्रदर्शनमा देखिएको छ । पूर्वएमालेमा पनि ओली लाइनको गढ मानिएको गण्डकी प्रदेशका विभिन्न जिल्लामा सोमबार प्रदर्शन भए ।
आइतबार नै पोखरामा ओलीइतरको नेकपा (प्रचण्ड–माधव) को विद्यार्थी संगठन अनेरास्ववियुले ओलीको पुत्लादहन गर्दै विरोध प्रदर्शन गर्यो । कांग्रेसनिकट नेपाल विद्यार्थी संघले पनि महेन्द्रपुलमा विरोध प्रदर्शन गर्यो ।
वैकल्पिक भन्न रुचाउन विवेकशील साझा पार्टीले पनि सांकेतिक आन्दोलन गर्यो ।
आइतबार सुषुप्त रहेको प्रदर्शनले सोमबार भने गति लियो । प्रतिपक्षसहित अन्य पार्टी र निकट विद्यार्थी संगठन, युवा संघहरुले समय नै तोकेर प्रदर्शन गरे ।
के भयो त गण्डकीमा सोमबार ?
सोमबारको प्रदर्शन नेकपाभित्रको ओली निकटको अनेरास्ववियुको समर्थनसहित सुरुवात भयो भने प्रचण्ड माधव पक्षको अनेरास्ववियुका विद्यार्थीको पुत्लादहनसँगै समाप्त भयो ।
मध्यान्ह १२ बजे मानवाधिकार चोकमा आयोजित समर्थन कार्यक्रममा अनेरास्ववियु कास्कीका अध्यक्ष विवेक देवकोटा र राष्ट्रिय युवा संघका केन्द्रीय उपाध्यक्ष माधव बास्तोलाले सम्बोधन गरे ।
त्यहाँ ओलीको स्वाभिमानको चर्चा भयो, राष्ट्रनायक भएको शब्द बारम्बार दोहोरिरह्यो । प्रचण्ड र माधव नेपाल अब भ्रष्टाचारको मुद्दामा छिटै नै कोठरीमा उभ्याउन उनीहरुले ओलीलाई आग्रह गरे ।
ललिता निवासको काण्डमा माधव नेपाल, मेलम्ची भ्रष्टाचारमा प्रचण्ड मुछिएको र त्यसबाट जोगिन नै उनीहरुले ओलीको सत्ता ढाल्न खोजेको आरोप लगाए ।
अनेरास्ववियुका विवेक देवकोटाले भने, “ललिता निवासको जग्गा प्रकरणलाई लुकाउन माधव नेपाल सत्तामा जान खोजेको छन् ।”
प्रदर्शनमा सहभागीले नवनियुक्त अख्तियारका प्रमुख आयुक्त प्रेमकुमार राईको समेत समर्थन गर्दै प्लेकार्ड प्रदर्शन गरेका थिए । ओलीले नियुक्त गरेका राइले प्रचण्ड र माधव नेपालहरुलाई अख्तियार लगाएर कारवाही गर्नुपर्ने माग उनीहरुको थियो ।
युवासंघका केन्द्रीय उपाध्यक्ष बास्तोलाले प्रचण्ड र माधवको एलाइन्सलाई दुई अपराधीको गठबन्धनको संज्ञा दिए । “प्रचण्डसँगै सती जाँदै हुनुहुन्छ, हामीले १५ वर्ष महासचिव बनाएका, कतिपयको आदर्श भनिने व्यक्ति माधव नेपाल । ललिता निवास प्रकरण उहाँको कार्यकालमा भएको थियो, त्यसकारण भ्रष्टाचार विरोधी अभियानको नेतृत्वको सरकारको विरुद्ध दुई अपराधीको संगठन लागेको छ । यी दुई अपराधीलाई केही समयभित्र कालो कोठरीमा जाक्नुपर्नेछ ।”
उनीहरुले आक्रोश पोखिरहँदा केपी ओलीको मुस्कानसहितको ब्यानर राखिएको थियो र त्यसमा लेखिएको थियो, “गलत मान्छेको हातमा देश बुझाउन नसकेर जनतालाई बुझाएको हुँ ।”
पूर्वएमाले ब्युँताउने र फेरि ओलीकै नेतृत्वमा बहुमतको सरकार आउने विश्वास उनीहरुको थियो । त्यसकारण प्रचण्ड र माधव चुनावमा जान डराएको आरोप उनीहरुले लगाए ।
देवकोटाले भने, “प्रधानमन्त्री ओलीले चुनावमा आउ जितेर आउन भनेर बाटो खोलिदिएका छन् । सूर्य चिन्ह र जबज अनि पूर्व एमालेको संगठन बिना जितेर देखाऊ, के हिम्मत छ ?”
अन्तिममा उनीहरुले चुनाव जितेजसरी सैं पनि एमाले, मैं पनि एमाले भन्ने गीतमा नाचगान गरे र कार्यक्रम सके ।
केपी ओलीलाई राष्ट्रनायक घोषणा गर्दै सकिएको यस कार्यक्रमको केही घण्टामा नै उनै ओलीलाई अर्काथरि विद्यार्थीहरुले देशद्रोहीको संज्ञा दिए । महेन्द्रपुलमा ओलीको पुत्ला जल्यो ।
यो संज्ञा दिने विद्यार्थी प्रचण्ड माधव समर्थित अनेरास्ववियु नै हो, जसले संसद विघटनको विरोध गरेको छ ।
साँझ चार बजे महेन्द्रपुलमा कार्यक्रम तय भएको थियो । प्रहरीले यी प्रदर्शनकारीलाई चारैतर्फबाट घेरेको थियो । प्रदर्शनकारी तल र र माथि गर्दै प्रहरीलाई छल्न खोजिरहेका थिए । केही बेरमा नै नयाँबजारबाट मलामी आएको जस्तो दृश्य देखियो ।
अगाडिका युवाले सेतो कपडा लिएर बाटो बनाउँदै हिँडेका थिए, चारजना युवाले काँधमा शव बोकेका थिए । ओलीको अन्त्येष्टि गर्न हिँडेको विम्व देखाएर उनीहरु प्रदर्शनमा आउँदै थिए । तर, प्रहरीले महेन्द्रपुलभन्दा केही तल नै रोक्यो, पुत्लादहन गर्न नदिनको लागि धकेलाधकेल भयो । तर, उनीहरुले पुत्ला जलाइछाडे । ओलीको विरुद्धमा मुर्दावादको नारा लाग्यो ।
‘केपी चोर देश छोड’, ‘आर्यघाटले के भन्छ, केपी ओली ले भन्छ’, ‘केपी तेरो पाराले, दुःख पाए साराले’, ‘दलाल केपी मुर्दावाद’ लगायत नारासहित उनीहरुले पुत्ला दहन गरे । ओलीलाई दलालको संज्ञा दिए ।
यसको आयोजक पनि अनेरास्ववियु नै हो । अनेरास्ववियु पीएन क्याम्पसका कार्यवाहक अध्यक्ष सन्तोष न्यौपानेले भने, “तीनवर्ष पहिले यीनै हातले सूर्य चिन्हमा मतदान गरि ओलीलाई प्रधानमन्त्री र विद्यालाई जनताको रगत र पसिनाले राष्ट्रपतिमा विराजमान गरायौँ । तर, आज ती दुइवटा चरीले हाम्रो देशको लोकतन्त्रमाथि केपी ओलीको इशारामा विद्या भट्टराइले पिसाब फेरेकी छन् । कसैको इशारामा फेरेको पिसाब कसैलाई बसाएको हुनसक्छ, हामीलाई गन्हायो । लोकतन्त्रमाथि फेरेको पिसाबको हिसाब हामीले खोज्छौँ, सडकबाट, अन्य ठाउँबाट, नेकपा पार्टीभित्र र बाहिर तमाम कार्यकर्ताहरुले प्रश्नको उत्तर खोज्छन ।”
बाउबाजेले लोकतन्त्रको लागि योगदान गरिसके पनि फेरि एकपटक युवको योगदान खोजिरहेको उनको भनाइ थियो ।
विघटनअघिका नेकपाका एकै संगठनका यी कार्यकर्ताहरु सोमबार राष्ट्रनायकदेखि दलालसम्मको नाराबाजी लगाउँदै प्रदर्शनमा उत्रिए र सोमबारको प्रदर्शन समाप्त भयो ।
यसबाहेक पोखरामा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि पार्टी कार्यालयदेखि विपीचोक हुँदै महेन्द्रपुलमा गएर विरोध कार्यक्रम गर्यो ।
नेविसंघ कास्कीका पूर्वाध्यक्ष विकास थापा, पूर्वसभामुख तारानाथ रानाभाट र कास्की कांग्रेस सभापति कृष्ण केसीले अनैतिक र असंवैधानिक कदमको रक्षार्थ एकजुट हुन आग्रह गरे । ओलीको कदमले कांग्रेसलाई फाइदा होला नहोला, तर कांग्रेसले व्यक्तिगत फाइदाभन्दा पनि लोकतन्त्रको खातिर मैदानमा उत्रनुपर्ने अवस्था आएको उनीहरुको भनाइ थियो ।
कांग्रेस सभापति कृष्ण केसीले जनमतको कदर गर्दै संविधान कार्यान्वयन गराउने बेला ओली सरकारले देश चलाउन नसकेर संसद् नै विघटन गरेको बताए । शान्तिसँग बाँच्न पाउने र आर्थिक समृद्धि चाहेका जनताको सपना ओली सरकारले तुहाएको भन्दै उनले राष्ट्रिय राजनीतिमा ओलीले इतिहासमै कलंक घोषित भएको बताए । पूर्व सभामुख तारानाथ रानाभाटले प्रम र राष्ट्रपतिले व्यक्तिगत स्वार्थको लागि संसद विघटन गरेको बताए ।
पृथ्वीचोकमा विवेकशील साझा पार्टीले शान्तिपूर्ण प्रदर्शन गर्यो । पार्टीका गण्डकी प्रदेशका नेता महेश भण्डारीले संसद विघटन, असंवैधानिक कदम रहेको बताए ।
गत निर्वाचनमा उम्मेदवार बनेकी रजनी केसीले, प्रधानमन्त्रीले मन्त्रिपरिषद्को आकस्मिक बैठक डाकेर अनायास संसद विघटनको सिफारिश गर्नु र राष्ट्रपतिले आँखा चिम्लेर पारित गर्नु घोर असंवैधानिक, अलोकतान्त्रिक र तानाशाही कदम रहेको बताइन् ।
सर्वोच्चले यो ‘हर्कत’ रोक्नुपर्ने उनले बताइन् ।