काठमाडौं । के तपाईं लामो समयदेखि ग्यालरीमा गएर प्रत्यक्ष चित्रकला अवलोकन गर्ने अनुभूति (मिस) गरिराख्नु भएको छ ? अनि प्रत्यक्ष चित्रकला हेरेर, छानीछानी आफूलाई मनपरेको चित्रकला किन्न पाइराख्नु भएको छैन ? चित्रकारहरुले कसरी सेतो क्यानभासलाई रंग्याउछ भनेर हेर्न मन छ ?
यदि छ भने चित्रकला प्रेमीहरुले यी सबै इच्छा अब ‘ओपन आर्टिस्ट स्टुडियो’ मार्फत पूरा हुने छ । दुई दशकभन्दा लामो समयदेखि चित्रकलालाई पेशा र प्यासन बनाएर यसमा निरन्तर लागिरहेका ‘काष्ठमण्डप आर्टिस्ट गु्रप’ का कलाकारहरुले यो अवसर जुटाउन लागेका हुन् ।
कोरोना महामारीका कारण ९ महिनादेखि कलाकारहरु बन्द कोठाभित्रै बसेर पेन्टिङ सञ्चित गरिरहे पनि उनीहरुको पेन्टिङले ग्राहक पाउन सकेको छैन । फाट्फुट्ट रुपमा अनलाइन प्रदर्शनीबाट केही चित्रकला बिक्री भएपनि, त्यो निकै न्यून छ ।
आफू लगायत आफ्ना कलाकार साथीहरुको यही समस्या सामाधान गर्न काष्ठमण्डपका सदस्य आशा डंगोलले यो कन्सेप्ट ल्याएका हुन् । उनी सन् २००७ मा अमेरिकालगायत युरोप टुरमा जाँदा बाहिरका कलाकारहरुले बेलाबखत यस्तो कार्यक्रमको आयोजना गर्ने बारे जानकार थिए । त्यही कन्सेप्ट अहिलेको समयमा नेपालमा पनि प्रयोगमा ल्याउँदा उचित हुने सोचेर उनले यो प्रस्ताव आफ्नो समूहमा सुनाए ।
काष्ठमण्डपकै अर्की सदस्य एरिना ताम्राकार भन्छिन्, “हामी, चित्रकलालाई नै मुख्य पेशा बनाएर अघि बढिरहेकाहरुलाई यो लामो समयको बन्दाबन्दीले धेरै समस्या भइसकेको छ । हामी पनि बाँच्नुपर्छ, त्यसैले कति दिन यसरी बस्ने अब आफैले केही समाधान त खोज्नै पर्ने भएपछि आशाले हामीबीच यो कन्सेप्ट ल्याउनु भएको हो ।”
२६ वर्षअघि स्थापना भएको काष्ठमण्डपका कलाकारहरु पहिले कुपण्डोल स्थित एउटै स्टुडियोमा बसेर काम गर्थे । तर, काम धेरै भएसँगै र सबै कलाकारलाई पायक नपर्ने भएपछि उनीहरु आपसी समझदारीमा नै अलग अलग स्टुडियो बनाएर काम गर्न थाले ।
अहिले कलाकार एरिना ताम्राकार र आशा डंगोल कुपण्डोलस्थित ग्यालरीमा छन् । त्यस्तै कलाकार भाइराज महर्जनको स्टुडियो पाटन ढोकामा छ । कलाकार बिनोद प्रधान र प्रदीप कुमार बज्राचार्यको स्टुडियो डल्लु र कलाकार प्रमिला बज्राचार्यको हरिहर भवनमा छ ।
डिसेम्बर १ देखि ३० तारिखसम्म एक महिना सञ्चालन हुने यस कार्यक्रममा कलाप्रेमी, विद्यार्थी तथा आर्ट कलेक्टरहरु माथि उल्लेखित ४ वटामध्ये जुन स्टुडियोमा गएर पनि प्रत्यक्ष आर्ट अवलोकन गर्ने, कलाकारसँग भलाकुसारी गर्ने र किन्न सक्छन् ।
शनिबार १२ बजेदेखि ४ बजेभित्र आफूलाई पायक पर्ने समयमा स्टुडियो जान सक्छन् । भने शनिबार बाहेक अन्य दिनमा ११ बजेदेखि ६ बजेसम्म जान सक्छन् ।
सामाजिक सञ्जालमा यो खबर सार्वजनिक गरेसँगै एक ग्राहकले दुईदिन अगाडि मात्रै एरिनाको स्टुडियो गएर एउटा चित्रकला किनेर लगिसकेको पनि उनले जानकारी दिए ।
यसले कलाकारको आर्थिक पाटोलाई मात्रै नभई बन्दाबन्दीका बीच पनि काम गर्न अझै प्रोत्साहन मिल्नेमा उनीहरु आशावादी सुनिए ।
प्रत्यक्ष स्टुडियोमा जाने भएकाले कलाप्रेमीहरुले कलाकारका पुराना काम पनि हेर्न चाहेमा हेर्न पाउने छन् । साथै लामो समयदेखि गुम्सिएर रहेका कलाप्रेमीहरुका लागि यो (माइन्ड फ्रेस) बनाउने अचुक थलो हुने पनि उनीहरुले विश्वास गरेका छन् ।
यसरी प्रत्यक्ष स्टुडियो अवलोकन गर्ने सुविधा नेपालमा पहिलोपटक हुन लागेको उनीहरुको दाबी छ । सिद्धार्थ आर्ट ग्यालरीले कला प्रदर्शनीको क्रममा नै कहिलकाँही ग्राहकलाई स्टुडियो भिजिटको व्यवस्था मिलाएपनि यसरी कलाकारहरुद्वारा स्टुडियोमा नै गएर अवलोकन र कला किन्ने कार्यक्रम भने पहिलो चोटी नै हुन लागेको उनीहरु बताउँछन् ।
महामारीको समय भएकाले कलाकारहरुले आफ्नो तर्फबाट भौतिक दूरी कायम राख्नेदेखि दर्शकलाई स्यानिटाइज गर्ने लगायत कुरामा ध्यान दिने र स्टुडियो आउने दर्शकलाई पनि मास्क लगाएर सुरक्षित भएर आउन पनि उनीहरुले आग्रह गरेका छन् ।