दाङ । दाङ गढवा गाउँपालिका १, पत्रिंगाका गाजुराम थारु कुमाल आजभोलि माटोका भाँडाहरू बनाउन व्यस्त छन् । ६५ वर्षीय गाजुराम बिहानै उठेर माटो संकलन गर्ने, त्यसलाई कुट्ने, चाल्ने, भिजाउने अनि मुछेको माटोलाई अनेक आकार दिने गर्छन् । उनले माटोबाट घैँटा, पाला, गमला, करुवा, हाँडी, पैनी, खुत्रुके, पालालगायत भाँडा बनाउने गरेका छन् । उनले बनाएका भाँडालाई घाममा सुकाउने र त्यसपछि आगोमा पोलेर बिक्रीका लागि तयार गर्छन् ।
यसरी तयार गरिएका माटोका भाँडाहरू पहिले बिक्रीका लागि गाउँ-गाउँ जानुपर्ने बाध्यता भए पनि अहिले घरबाटै बिक्री हुने गरेको उनी सुनाउँछन् । घरबाटै सामग्री बिक्री हुन थालेपछि माग पनि बढेको छ । आफूहरुले मागअनुसारका भाँडा पुर्याउन नसकिरहेको उनको भनाइ छ । ‘‘अहिले यति धेरै माग आयो कि हामीलाई पुर्याउँनै मुस्किल परेको छ,’’ गाजुराम भन्छन्, ‘‘तिहारमा त सबै भाँडा बनाउने काम छोडेर तीन बाउछोराले पाला बनाउँदा पनि मागअनुसार पुर्याउन सकेनौं ।’’ उनका अनुसार यस वर्ष दाङका घोराही, तुलसीपुर, भालुवाङ, प्युठान, सल्यानसँगै बुटवलबाट समेत माटाका भाँडाहरूको माग आइरहेको छ । ‘‘माटाका भाँडाहरू दाङबाट मात्रै होइन, बाहिरी जिल्ला प्युठान, सल्यान र बुटवल बजारबाट समेत माग आएको छ तर हामीले बनाएका भाँडाहरू दाङ र प्युठानमै अपुग भइरहेको छ,’’ उनले भने, ‘‘यो वर्ष सुरुमा धेरै वर्षा भएका कारण जंगलबाट माटो लिन नपाउँदा पहिले भाँडाहरू बनाउन सकिएन, जसले गर्दा अहिले पुर्याउन गाह्रो भएको छ ।’’
उनको जस्तै अनुभव छ पत्रिंगाकै तारालाल थारु कुमालको पनि । कुमाल पनि आजभोलि भाँडाहरू बनाउने, सुकाउने अनि पोल्ने काममा व्यस्त छन् । अघिल्ला वर्षहरूको तुलनामा यस वर्ष तिहारका लागि माटाका पालाहरूको माग धेरै आएपछि अन्य भाँडाहरू बनाउन छाडेर पाला मात्र बनाउने काम गरेको तारालाल बताउँछन् ।
‘‘अघिल्ला वर्षहरूको तुलनामा अहिले विभिन्न भाँडाको धेरै माग आएको छ,’’ तारालालले भने । उनका अनुसार पहिलेका तिहारहरूमा माटाका पालाहरू बनाएर गाउँ-गाउँमा पुगेर बेच्नुपर्ने बाध्यता थियो पनि अहिले भने त्यस्तो समस्या हटेको छ । अहिलेको तिहारमा हामीलाई बोकेर गाउँ-गाउँसम्म डुलाउन परेन ।’’ घरबाटै माटाका भाँडाहरू बिक्न थालेपछि आफूहरूलाई सहज भएको समेत बताए ।
गाजुराम र तारालाल मात्रै होइन माटाका भाँडाहरू बनाउन देउखुरीका पत्रिंगा, गैरालगायत ठाउँका कुमाल समुदायलाई भ्याइ-नभ्याइ छ । अन्य समयको तुलनामा तिहारमा माटाका भाँडा, कौसीलगायत सामग्रीहरू बढी बिक्री भएको अनुभव छ उनीहरुसँग ।
अहिले अरू कामको चापसमेत बढ्ने गरेको राजकुमार थारु कुमाल बताउँछन् । परम्परागत शैली छोडेर आधुनिक तरिकाले माटोका भाँडा बनाउने गरेका उनले आम्दानीसमेत बढी हुने बताए । ‘‘परम्परागतभन्दा प्रविधिको प्रयोग गरेर काम गर्दा सहजतासँगै आम्दानी बढ्ने गरेको छ,’’ उनले भने, ‘‘काममा सहजतासँगै थोरै समयमा धेरै सामग्री बनाउन सकिने भएकाले समेत फाइदा छ ।’’