site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
निर्वाचनले धोइदिएको देउवाको कलंक
Sarbottam CementSarbottam Cement

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुनेबित्तिकै उनलाई अक्षम र राजालाई प्रजातन्त्र बुझाउने नेताका रूपमा धेरैले चित्रण गरे । उनका विरोधीले त नेपालको लोकतन्त्रलाई नै देउवाले सिध्याउने ठोकुवासमेत गरे । विपक्षी दल नेकपा एमालेका नेता तथा कार्यकताको त गोलो नै खनियो देउवाविरुद्ध । 

नेकपा एमालेका सचिव तथा प्रभावशाली नेता योगेश भट्टराईले एउटा अत्यन्त कडा ट्विट प्रहार गरे देउवाविरुद्ध, ‘प्रम शेरबहादुरले कलंकित इतिहास बदलेनन्, बरु दोहोर्याए । उनका गलामा अक्षमको तक्मा थपिने भयो । लोकतन्त्र र शेरबहादुर सँगै जान सक्दैनन् कि के हो ?’

एमाले सचिवले यो ट्विट प्रदेश नम्बर २ को निर्वाचन असोज २ गते सार्ने सरकारको निर्णय भएलगत्तै गरेका थिए । समाचार तयार पार्दासम्म उक्त ट्वीटमा ७ सय बढीले लाइक गरेका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

उक्त ट्विटलाई केहीले त्यो तहको नेतालाई नसुहाउँदो भनेर प्रतिक्रिया व्यक्त गरे पनि शेरबहादुर देउवाले गरेको काम सही हो भनेर दावी गर्ने भने अत्यन्तै न्यून छन् ।
शेरबहादुर देउवाले साँच्चिकै निर्वाचन गराउँछन् भन्ने विषयमा धेरैलाई शंका थियो । कतिपयले १, ५ र ७ नम्बरको मधेसी जिल्लालाई पनि प्रदेश २ सँगै असोज २ गतेका लागि सार्छन् भनेर पनि अनुमान गर्न थालेका थिए । तर आज शेरबहादुर देउवामाथि गरिएको अविश्वास निराधार सावित भएको छ । देउवाले २ नम्बर प्रदेशको निर्वाचन सारेरै भएपनि अन्य क्षेत्रमा सफलतापूर्वक निर्वाचन गराउन सफल भएका छन् । छिटफुट घटनाबाहेक स्थानीय तहको दोस्रो चरणको निर्वाचन सफल ढंगले सम्पन्न भएको घोषणा गर्न सकिन्छ । यसका लागि निर्वाचन आयोग, सुरक्षा अंग र अन्य निकायकाबीच श्रेय बाँडफाँट गर्न पनि सकिएला तर मुख्य श्रेय देउवालाई नदिनु चाहिँ राजनीतिक फट्याईं सिवाय केही हुँदैन । 

देउवा करिब १२ वर्ष कुनै पनि लाभको पदमा बसेनन् । तर जुन बेला उनी लाभको पदमा बसेका थिए, सो समयमा विवादरहित भएर पदबाट बाहिरिन सकेनन् । 
गृहमन्त्री हुँदा आईजीपी प्रकरण, पहिलोपल्ट प्रधानमन्त्री हुँदा जम्बो मन्त्रिपरिषद्,  सांसद्हरुलाई पजेरो खरिद प्रकरण, संसद् विघटन गरी सत्ता राजालाई सुम्पिएको, पार्टी फुटाएको, पार्टीमा गुटबन्दीको सुरुवात मात्रै नभई त्यसलाई हुर्काएको, सत्ताको दुरुपयोग गर्दै गठबन्धन सरकारमा रहेका बेला फेरि आईजीपी प्रकरण, प्रधानन्यायाधीशमाथि लगाइएको महाभियोग लगायतका उनका दर्जनौं विवादित कदम हुन् ।

Global Ime bank

त्यसले गर्दा उनले चाल्न लागेका हरेक कदममा शंका हुनु र गरेका काममा औंला उठ्नु स्वभाविक हो । आजको निर्वाचन सम्पन्न हुनु अघिसम्म पनि बरु प्रचण्डले भए निर्वाचन गराउन सक्थे, देउवाले सक्दैनन् भनेर ठोकुवा गर्ने समेत प्रशस्त थिए । उनले प्रधानमन्त्री हुनेबित्तिकै असारमै चुनाव गराउँछु भन्नु निर्वाचन सार्ने बहाना मात्रै हो भन्ने धेरैको आरोप थियो ।

बोलेर आफ्नो धेरै कुरा प्रष्ट्याउन नसक्ने उनको कमजोरीका कारण हो वा आफ्नो चरित्रमा लागेको दाग काम गरेरै मेट्ने उनको दृढ इच्छाशक्तिको कारणले हो, उनले प्रधानमन्त्री भएपछि कुनै आरोपको खण्डन वा उत्तर दिएनन् । चुपचाप आफूले बोलेको काम फत्ते गर्न लागिपरे । 

देउवा प्रधानमन्त्री भएलगत्तै असार १४ गते हुने भनिएको निर्वाचनमध्ये प्रदेश नम्बर २ को निर्वाचनलाई असोज २ मा सार्ने निर्णय गरे । धेरैले यसलाई अत्यन्त कमजोर र नेपाललाई अस्थिर बनाई राख्ने कदमको रुपमा व्याख्या गरे । अझ कतिले त अब असार १४ गतेको निर्वाचन पनि कुनै पनि हालतमा हुँदैन भनेर बाजी समेत लगाए । तर, निर्वाचन असोज २ गते सार्ने ‘बोल्ड डिसिजन’ तर्कसंगत, समयसापेक्ष र परिपक्व राजनीतिक निर्णय साबित भएको छ । किनभने अब सरकारलाई प्रदेश नम्बर २ को निर्वाचन गराउन त्यहीँका जनताले समेत साथ दिने अवस्था सिर्जना भएको छ । 

मधेसबाटै प्रतिनिधित्व गर्ने उपेन्द्र यादव, विजय गच्छदारलगायतले चुनावको तीव्र तयारी गरेकै बेला सरकारले २ नम्बर प्रदेशको चुनाव सार्दा मधेसी मतदातामा नकारात्मक सन्देश प्रभाव भए पनि त्यो ‘राजनीतिक निर्णय’ गरिएको थियो ।

यदि २ नम्बर मा पनि असार १४ मा नै निर्वाचन हुन्थ्यो र त्यहाँमात्र धेरै नै निर्वाचन बिथोल्ने, हिंसात्मक घटना भएको भए देउवालाई निर्वाचन सफलताको श्रेय लिन गाह्रो पथ्र्यो । तर अहिले देउवाको सफलता प्रचण्डको पहिलो चरणको भन्दा महत्वपूर्ण र मूल्यवान देखिएको छ किनभने प्रचण्डले सहज प्रदेशमा निर्वाचन गराए, देउवाले अलि मुस्किल प्रदेशमा । अब सबैभन्दा मुस्किल मानिएको प्रदेश नम्बर २ को निर्वाचन सबैभन्दा सहज हुन्छ । यो कुरा मधेशका नेताले नै भनिसकेका छन् । 

संघीय समाजवादी पार्टीका अध्यक्ष तथा प्रभावशाली मधेशी नेता उपेन्द्र यादवले राजपाको लाइनलाई जनताले अस्वीकार गरेको बताइसकेका छन् ।

बुधबार मतदानपछि प्रतिक्रिया दिँदै यादवले भने, “मतदाता मतदानका लागि आतुर रहेछन् । अत्यन्त उत्साही तरिकाले मतदानमा भाग लिए । राजपा दृष्टिकोण नभएका नेताको झुण्ड रहेछ । राजपाको लाइन गलत थियो भन्ने जनताले पुष्टि गरिसके ।”

अब राजपाले कुन लाइन लिन्छ र कसरी आफ्नो राजनीतिक भविष्य डुब्नबाट जोगाउँछ, त्यो समयले बताउने कुरा हो । नेपाली कांग्रेस, एमाले तथा माओवादी केन्द्रले कस्तो प्रकारको मत ल्याउँछन्, त्यो पनि जनताको मतले बताउने विषय हो । तर यो निर्वाचन सफलतापूर्वक सम्पन्न गरेको आधारमा समाचार विश्लेषकले भन्न सक्ने कुरा के हो भने देउवाले आफ्नो राजनीतिक छविमा लागेका दाग पखाल्न पाएको यो मौकालाई सशक्त र सफल ढंगले सदुपयोग गरेका छन् । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार १४, २०७४  १७:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement