site stats
बाह्रखरी :: Baahrakhari
अविच्युरी
Nabil BankNabil Bank
 राजा वीरेन्द्रले भनेका थिए– मेरो तर्फबाट आफैँ उद्घाटन गर
Sarbottam CementSarbottam Cement

पोखरा । मंगलबारको सूर्योदयले आफ्ना किरणको ताप बलियो नबनाउँदै शान्तिघाटमा सूर्यबहादुर केसी (सीताराम) को इहलीला समाप्त भयो । उनै सूर्यबहादुर, जो प्रतिनिधिसभा सदस्य, नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य, पोखराबाट सुरु गरेर दक्षिण एसियामै पहिलोपटक चाउचाउ उद्योगको जग बसाल्ने व्यक्ति, समाजसेवी भनेर चिनिन्थे । सोमबार राति साढे १० बजे निवासमै उनले प्राण त्यागे र मंगलबार उनको भौतिक अस्तित्व शान्तिघाटमा विसर्जन भयो ।

पोखरामा हावासरी समाचार फैलियो, “सूर्यबहादुर केसीको निधन भयो ।” नचिन्ने कोही थिएनन्, चिन्नेले आफ्नै तरिकाले उनलाई सम्झिए । उनका हरेक क्षेत्रका आफ्नै कथा बन्छन् । कसरी चाउचाउको उद्योग सुरु भयो, कसरी राजनीतिमा लागे, राजासँगको उठबस अनेक अनेक ।

इगोले राजनीतिमा

Prabhu Bank
Agni Group
NIC Asia

मंगलबार उनको अन्त्येष्टि हुँदासम्म उनी बहालवाला प्रतिनिधिसभा सदस्य थिए । नेपाली कांग्रेसको समानुपातिक कोटाबाट निर्वाचित । प्रतिनिधिसभा सदस्य हुनुपूर्व उनी पहिलो संविधासभाको निर्वाचनबाट संविधानसभा सदस्य पनि भए । तर, राजनीतिमा चासो उनमा विद्यार्थीकालबाट भने थिएन । पिता निर्माण व्यवसायी भएको हुँदा उनी पनि सोही व्यवसायतर्फ ढल्किएका थिए ।

लामो समय केसीसँग संगत गरेका अधिवक्ता दुर्गाप्रसाद कोइराला (जो केसीका कानुनी सल्लाहकारसमेत थिए) सम्झिन्छन्, “प्रधानपञ्चदेखि प्रतिनिधिसभा सदस्यसम्मको राजनीतिक यात्रा ।” उनै कोइरालाले केसीको पञ्चायतकालीन राजनीतिक जीवनबारे बताए ।

Global Ime bank

“त्यतिबेलाका प्रधानपञ्चले केसीको हालको वडा नं. १५ मा पर्ने घरको नक्सापासको काम रोकिदिए । बाटोमा पर्छ भनेर । त्यसपछि केसीले जवाफ फर्काए, भोलि म यही पदमा आउन सक्छु । मेरो नक्सापास नगर्ने ?,” यही इगोबाट उनी राजनीतिमा प्रवेश गरे । यो २०३९ सालको कुरा हो ।
वडा नं. १५ मा घर बनाउन लागेका थिए । प्रधानपञ्चले पुनः नक्सापास गरिदिएनन् । 

त्यतिबेलाका प्रधानपञ्च उत्तम पुनलाई दुइवटा मुद्दा पर्‍यो । स्याउलीबजारको बाटो र रामबजारको बाटोको विषयमा  । विशेष प्रहरी नै आयो । छानबिनपछि भ्रष्टाचार नै ठहर भयो । नगर पञ्चायत नै विघटन भयो । विघटनपछि उपनिर्वाचन भयो । प्रतिष्पर्धीमा उनै उत्तम पुन उठे । प्रतिद्वन्द्वी थिए सूर्यबहादुर केसी । उक्त निर्वाचन केसीले ४२ सय मतान्तरले जिते । 

पुन चाहिँ राष्ट्रिय पञ्चायत सदस्यतर्फ लागे । त्यसको दुइवर्षपछि फेरि पूर्ण कार्यकाल नगर पञ्चायतको चुनाव भयो । उनले २०४३ को चुनावमा काजीमानलाई भारी मतान्तरले पराजित गर्दै दुई कार्यकाल प्रधानपञ्च बने । त्यो पनि कम उमेरको इतिहाससहित । २७ वर्षमा उनी नगरपञ्चायतको प्रधानपञ्च बन्ने कान्छो उमेदवार थिए । प्रधानपञ्च बनेपछि वडा कार्यालय, मुखिया राख्ने काम उनैले सुरु गरेका हुन् ।

उनै पूर्वनगरप्रमुखको सम्मानस्वरुप पोखरा महानगरपालिकाले आज सार्वजनिक बिदा दिएको छ । २०४१ को उपनिर्वाचन र २०४३ मा गरि दुई कार्यकाल केसी प्रधानपञ्च भए । २०४६ सालमा पञ्चायत सकियो । 
यो त भयो, नगरपञ्चायतको चुनाव ।

त्यसपछि उनी लागे प्रतिनिधिसभा निर्वाचनतर्फ । बहुदलमा गइसकेपछि भने उनले प्रत्यक्षतर्फका चुनाव जितेनन् । २०५१ मा भने उनी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट निर्वाचनमा उठे । तत्कालीन कास्की २ बाट प्रत्यक्ष चुनाव लडेका केसी त्यतिबेला भने ११ हजार मतसहित तेस्रो बने ।

त्यसपछि भने उनले प्रत्यक्षतर्फको चुनाव लडेनन् । तर, दुईदुई पटक समानुपातिक सांसद बने । राप्रपाकै तर्फबाट २०६४ सालमा उनी समानुपातिक कोटाबाट संविधानसभा सदस्य बनेका थिए । पछिल्लोपटक उनी २०७३ सालमा राप्रपाबाट बाहिरिएर कांग्रेस प्रवेश गरे । आमन्त्रित केन्द्रीय सदस्य समेत रहेका केसी समानुपातिक सांसद थिए ।

सफ्ट ड्रिङ्सले निम्त्याएको सुगर

केसी वंशमा कसैलाई सुगरको रोग छैन । कानुनी सल्लाहकार कोइराला भन्छन्, “उहाँसँगै मैले पनि सुगरको औषधी सेवन गरिरहेको छु । उहाँलाई कोक र फ्यान्टाले नै सुगर भएको हो । २०३८–०३९ सालमा कोक आयो । उहाँ पहिलोपकट प्रधानपञ्च बन्नुभएको थियो । त्यतिबेला कोक र फ्यान्टा खाने मान्छे ठुलो हुन्थ्यो । क्रेटका क्रेट ल्याइयो ।”

२०५१ सालदेखि सुगरको औषधी खान थाले ।

कलाकार प्रजापती पराजुली केसीका स्वकीय सचिव थिए । उनले केसीका छोराहरुलाई सावाँ अक्षर चिनाए । उनी सम्झिन्छन्, “मलाई पैसा कमाउने तीनवटा विकल्प दिनुभएको थियो ।”

“नेपालगञ्ज कोहलपुरको बाटो पिच गर्ने ठेक्का थियो । मैले सक्दिनँ भने, गइन । त्यसपछि नगरपालिकामा नगर प्रहरी बनाउने र असइमा जागिर खुवाउने भन्नुभयो । मैले सलुट गर्न जानिनँ । त्यसपछि नगरपालिकाको अस्थायी टहरा बनाएर बस भन्नुभयो, मेरो आफ्नै घर थियो मानिनँ । उहाँहरु सबै मिलेर पछि साझा खाद्यमा काम गरेँ,” उनले विगत सम्झँदै भन्छन् ।

केसीलाई चुनावमा जिताउन करुवामा भोट हाल भन्दै गीत गाएको उनी सम्झिन्छन् ।

दोहोरी बचाउनुपर्छ भनेर अन्तर नगरपालिका स्तरीय दोहोरी गीत आयोजना गरियो । राजा वीरेन्द्रको जन्मोत्सवमा फाइनल गर्ने भनेर नगरपालिकाले निर्णय नै गरेर बजेट समेत छुट्याएको थियो ।

राजा वीरेन्द्रले भने,आफैँ उद्घाटन गर

चार वर्षअघि कांग्रेसमा प्रवेश नगर्दासम्म उनी राप्रपामा थिए । राप्रपाका केन्द्रीय कोषाध्यक्षसमेत रहेका केसीलाई राजावादी भन्थे । हुन पनि उनको राजासँगै पारिवारिक सम्बन्ध थियो । निकट सम्बन्धका कारण तत्कालीन राजा वीरेन्द्रले यतिसम्म भनेका थिए, “उद्घाटन कार्यक्रममा म आउँदिन मेरो तर्फबाट तिमीले नै गर ।”

कोइराला सम्झिन्छन्, “राजा वीरेन्द्रले महेन्द्रपुलको उद्घाटन सूर्यबहादुर केसी आफैँलाई गर्न भनेका थिए । वीरेन्द्र सभागृहको उद्घाटन राजा आफैँले गरे ।”

उद्घाटनको क्रममा केसीले राजालाई भने “तपाईँको पिताको नाममा महेन्द्रपुल बनाउनुपर्ने भयो, वीरेन्द्रले हुन्छ भने ।” 

पुल तयार भयो । उद्घाटनको लागि दरबारमा जाहेर भयो । राजा वीरेन्द्र आफैँले राष्ट्रिय पञ्चायतको अध्यक्ष नवराज सुवेदी र सवारीमन्त्री प्रकाशबहादुर सिंहको रोहवरमा तिमीले गर्ने भनेर हुकुम गरे । पछि केसी आफैँले उद्घाटन गरे । अहिले यो ठाउँको नाम नै महेन्द्रपुुल भएको छ ।”
राजा वीरेन्द्रको पोखरा भ्रमणमा पनि उनको पारिवारिक सम्बन्ध थियो । पोखरा आउँदा भेट्न बोलाउँथे, केसीले यो गर्नुपर्यो भन्थे, राजाले हुन्छ भन्थे । राजा वीरेन्द्रको जन्मोत्सवको अवसरमा २०४५–०४६ मा गोरखा दक्षिणबाहु पदक पनि पाए ।

झन्डै एमाले भइसकेका थिए ....

बहुदल आइसकेपछि राप्रपाबाट चुनाव लडेका केसीले पहिलो निर्वाचनमा पराजित भए । २०५१ को मध्यावधि निर्वाचनमा उनी तेस्रो भएका थिए । त्यसपछि २०५६ सालमा प्रतिनिधिसभाको निर्वाचन भयो । उनलाई पार्टीमा भित्र्याउन सबैको कसरत थियो नै । २०५६ को निर्वाचनमा उनी एमालेबाट चुनावमा लड्ने व्यापक हल्ला थियो । केसी आफैँ पनि तत्कालीन एमालेमा प्रवेश गर्न तयार थिए । तर, पार्टीका तत्कालीन महासचिव माधवकुमार नेपाल आउन भ्याएनन् । झन्डै एमाले भइसकेका केसी राप्रपामै रहे ।

कोइराला भन्छन्, “२०५५–०५६ सालमा माधवकुमार नेपाल पोखरा आएको भए उनी उहिल्यै कम्युनिष्ट भइसक्थे । एमालेमा जाने निश्चित थियो । त्यतिबेला टिकट उनले पाउने भन्ने थियो । माधवकुमार नेपाल आएनन् । निर्वाचनमा टिकट पाउने कुरा थियो ।”

माओवादीसँग उनको सँधै विपरीत सम्बन्ध रह्यो । त्यतिबेला शेरबहादुर केसीलाई माओवादीले गोली प्रहार गरेका थिए । क्षेत्रबहादुर केसीको जेठा छोराको विवाह थियो । विवाहमा आउनेलाई रातो टिका, निस्कनेलाई पहेँलो टिका लगाएर संकेत गरे ।

२०६२–०६३ मा क्षेत्रबहादुरको निधन भएपछि उनलाई ज्यानको धम्की आयो । जेठा छोराको विवाहको पार्टी कार्यक्रममा उनी उपस्थित नै भएनन् ।

चाउचाउका पायोनियर

राजनीतिका यी पक्षबाहेक उनी एक सफल उद्योगी पनि हुन् । जसले पोखरामै उद्योग खोले, जुन दक्षिण एसियाकै पहिलो समेत हो । अहिले जसरी रारा चाउचाउ सबैको मुखमा झुन्डिएको छ, त्यसलाई स्थापना गर्न उनले फलामकै च्युरा चपाउन परेको थियो । पोखरामा चाउचाउ पाइँदैनथ्यो । ३० को दशकको कुरा हो ।

लाहुरेको सहर पोखरामा छुट्टीमा आएका लाहुरेहरुले विदेशबाट चाउचाउ बोकेर आउँथे । त्यसको स्वादमा केसी पनि लट्ठिए । सँधै नपाइने भएपछि पोखरामै किन उत्पादन नगर्ने भन्ने सोच आयो ।

पूँजी थिएन । उद्योग खोल्छु भन्दा पत्याउने पनि कोही भएनन् । आफ्ना सहपाठीसँग कुरा गरे । कुरा मिल्यो व्यवसायी फणिन्द्रमान श्रेष्ठ, कृष्ण आचार्यले गण्डकी नूडल्समार्फत सिन्के चाउचाउ उत्पादन गर्ने भए । तर, उद्योग घाटामा गयो । बुबा निर्माण व्यवसायी थिए । सोही व्यवसाय सिकेका केसीले २०३० मा केसी कन्स्ट्र्क्सन स्थापना गरेर निर्माण व्यवसायलाई नयाँ गति दिएका थिए ।

केसीले सोही समूहसँग साझेदारीमा वि.सं. २०३९ माघ २३ मा उत्पादन भयो रारा चाउचाउ । यो बेला केसीको राइसमिल पनि सञ्चालनमा  आएको थियो । गण्डकी नूडल्सबाट रारा चाउचाउ हिमश्री फुड्समार्फत उत्पादन हुन थाल्यो । चाउचाउ उत्पादनका लागि कम्पनीले नेपाल औद्योगिक विकास निगमबाट ३५ लाख रुपैयाँ ऋण लिएको थियो । १५ लाख रुपैयाँ केसीसहितको समूहले जुटाएको थियो ।

त्यतिखेर रारा चाउचाउमा ३० जनाको सेयर रहेको थियो । २०५८ सालसम्म आइपुग्दा उनीसँग रहेका अरु साझेदारहरु सबै बाहिरिए । ५० लाख रुपैयाँबाट सुरु भएको चाउचाउ उद्योगमा अहिले एक अर्ब रुपैयाँभन्दा बढी लगानी भइसकेको छ । 

रारा चाउचाउ स्थापित भैसकेपछि भारतको म्यागी चाउचाउले रारा चाउचाउ खरिदका लागि प्रस्ताव गरेको थियो । तर केसीले उद्योग बेच्न मानेनन् । त्यो बेला अरु साझेदारले बेच्न चाहिरहेका थिए । यहि विषयमा मतभिन्नता हुँदा त्यहि बेला केहि साझेदारले कम्पनी छाडिसकेका थिए । 

सूर्यबहादुरले भन्ने गर्थे– विनोद चौधरीले पनि रारा चाउचाउ खरिद गर्न चाहेका थिए । उनले बिक्री नगरेपछि चौधरीले वाइ वाइ चाउचाउ नेपालमा भित्र्याए । केसीले चाउचाउ उद्योगलाई मात्र स्थापित गरेनन् । जलविद्युत्, निर्माण व्यवसाय, हाउजिङ्ग, बैंक, हस्पिटालिटी क्षेत्रलाई पनि स्थापित गराए ।

केसीले सन् २००५ मा हाइड्रोपावर क्षेत्रमा लगानी गरेका थिए । ४.८ मेगावाटको गण्डकी हाइड्रोपावरबाट सुरु गरेर १ मेगावाटको टास्क हाइड्रोपवार,१३ मेगावाटको सिकलेस हाइड्रोपावर, ४.५ मेगावाटको भगवती हाइड्रोपावरमा लगानी गरेका छन् । अप्पर मादी, अप्पर सेती, विजयपुर–२ जलविद्युत आयोजनामा समेत उनको लगानी छ । 

केसी ग्रुपअन्तर्गत हिमालयन गल्फ कोर्स, केसी हाउजिङ्ग, नेपाल टुरिजम एन्ड होटल म्यानेजमेन्ट, नेपाल इन्जिनियरिङ्ग कलेज, कालिका मल्टिप्रपोज कलेजमा लगानी छ । 

सूर्यबहादुरले पोखरालाई नै आधार मानेर राष्ट्रिय स्तरको बाणिज्य बैंक माछापुच्छ्रे बैंकलाई स्थापना गरेका थिए । माछापुच्छ्रे अहिले नेपालको बलियो बैंकमध्ये एक हो । केसी ग्रुपको सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडमा पनि लगानी रहेको छ । बैंक तथा वित्तीय संस्थाबाहेक केसी ग्रुपअन्तर्गतका कम्पनी र उद्योगमा नौ सय बढीले रोजगारी पाएका छन् । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक १८, २०७७  १४:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC