site stats
बाह्रखरी :: Baahrakhari
अविच्युरी
Global Ime bankGlobal Ime bank
रहेनन् पूर्व मुख्यसचिव दामोदरप्रसाद गौतम

काठमाडौं । पूर्व मुख्यसचिव तथा पूर्व राजदूत दामोदरप्रसाद गौतमको मंगलबार बिहान निधन भएको छ ।  

८७ वर्षीय गौतमको उपचारकै क्रममा निधन भएको जानकारी परिवारले दिए । गौतम १९९४ सालमा बाराको कलैयामा जन्मेका हुन् ।

गौतम २०४७ माघ २० गतेदेखि २०४९ कात्तिक २० गतेसम्म मुख्यसचिव थिए । सरकारले तीस वर्षे निजामती सेवा लागू गरेपछि गौतम अवकाशमा गए । २०५५ साल असोजमा उनलाई गिरिजाप्रसाद कोइराला सरकारले अमेरिकाका लागि राजदूत नियुक्त गरेको थियो ।

चार वर्षका लागि राजदूत नियुक्त भए पनि अढाइ वर्ष बिताउन नपाउँदै सरकारले फिर्ता बोलाएको थियो । 

गौतमले परराष्ट्र मन्त्रालयँग फिर्ता हुनुको ‘लिखित कारण’ मागेका थिए । ‘आफूले जसरी अरुले बीचैमा फिर्ता हुनु नपरोस्’ भन्ने उद्देश्यसहित कारण मागेका थए । तर, सरकारले जवाफ दिएन । 

गौतम २०१८ सालमा शाखा अधिकृत हुँदै सरकारी सेवामा प्रवेश गरेका थिए ।  

लामो समय उद्योग मन्त्रालय र त्यसअन्तर्गत विभागमा काम गरेपछि २०३४ सालमा कर विभागको महानिर्देशक बनेका थिए ।  त्यसपछि अर्थमन्त्रालयको अतिरिक्त सचिव हुँदै पछि वाणिज्य तथा आपूर्ति सचिव, पर्यटन सचिव हुँदै बहुदलीय व्यवस्थासँगै मुख्यसचिव भएका थिए । 

गौतमलाई वाणिज्य क्षेत्रमा विशेष दख्खल भएका प्रशासकका रुपमा लिने गरिन्थ्यो ।

सरकारी सेवा निवृत्त भएपछि गौतमले काठमाडौं विश्वविद्यलाय र अमेरिकाको मिनिसोटा विश्वविद्यालयमा ‘भिजिटिङ प्रोफेसर’का अध्यापन समेत गरेका थिए । गौतम ट्रान्सपरेन्सी इन्टरनेसनलका अध्यक्ष समेत भएका थिए ।

गौतम मातहत रहेर मन्त्रिपरिषद्मा काम गरेका पूर्व सचिव कृष्ण ज्ञवाली ‘क्षमतावान, इमान्दार र स्वाभिमानी प्रशासक’को रुपमा लिन्छन् । 

ज्ञवाली भन्छन्, ‘‘उहाँ गम्भीर प्रकृतिको हुनुहुन्थ्यो भने हतारिएर झ्वाट्ट निर्णय नलिने उहाँको स्वभाव थियो । मन्त्रिपरिषद्मा दह्रोसँगै अडान राख्ने प्रशासकका रुपमा लिने गरेको सुनिन्थ्यो ।’’

आफू मातहतका अधिकारीहरुसँग अधिक विश्वास गर्ने व्यक्तिको रुपमा आफूले पाएको ज्ञवाली बताउँछन् । 

‘‘उहाँसँग काम गर्दा मैले धेरै कुरा सिकेको छु । उहाँ भन्नुहुन्थ्यो, दुई चोटि नपढीकन सही नगर्नुहोस्,’’ ज्ञवालीले बाह्रखरीसँग भने, ‘‘तपाईंले यो डकुमेन्ट राम्रोसँग पढ्नुभयो होइन, अब मैले पढ्नु भनेको समय खेर फाल्नु हो । म तपाईंलाई विश्वास गर्छु ।’’
    
गौतमको २०१९ सालमा शान्ता ढकालसँग विवाह भएको थियो । गौतमका तीन सन्तान रहेका छन् । 
 

प्रकाशित मिति: मंगलबार, चैत १२, २०८१  १७:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro