
अब हामीबीच नेपालकै पहिलो महिला न्यायाधीश शारदा श्रेष्ठ रहनुभएन । म पहिलो न्यायाधीश श्रेष्ठप्रति हार्दिक श्रद्धान्जलि व्यक्त गर्न चाहन्छु ।
मैले २०३५ सालमा वकिलको प्रमाणपत्र प्राप्त गरी वकालत सुरु गर्दा उहाँ न्यायाधीश बनिसक्नुभएको थियो । उहाँ २०२८ सालमै अधिकृतबाट अतिरिक्त जिल्ला न्यायाधीश बन्नुभएको रहेछ । उहाँले २०३१ असार २५ मा जिल्ला न्यायाधीश पदमा नियुक्ति पाउनु भएको हो ।
त्यसरी महिला न्यायाधीश बन्नु हाम्रा निम्ति त्यस समयमा यो ठूलो गौरवको विषय थियो । २०३१–०३२ सालतिर हुनुपर्छ, कानुनको प्राइभेट परीक्षा दिन काठमाडौंमा रहेर पढ्ने क्रममा मैले उहाँसँग भेटेकी थिएँ ।
मेरो उहासँग भेटघाट न्यायाधीश भएका बखत पनि पटक–पटक हुने गरेको हो । धनकुटा पुनरावेदन अदालतमा मैले धेरैपटक उहाँको इजलासमा वहस गर्ने इच्छा राखेको थिएँ । तर, त्यो अवसर कहिले मिलेको थिएन । तथापि उहाँसमेतको बेञ्चमा मैले कानुन व्यवसायीका रूपमा सर्वोच्च अदालतमा एउटा मुद्दामा एकपटक बहस गर्ने अवसर पाएको थिएँ ।
एउटा सम्भ्रान्त घरानियाँ व्यापारी परिवारकी छोरी शारदा श्रेष्ठका तीन दिदी–बहिनीले नै उच्च शिक्षा हासिल गर्ने अवसर पाउनुभयो, सबैले नेपाल सरकारको सेवामा पनि ।
कान्छी बहिनीसँग उहाँको हुबहु अनुहार मिल्दो रहेछ । मैले कार्यक्रमहरूमा झुक्किएर बहिनीलाई नमस्कार गर्न पुगेको कुराको मलाई स्मरण छ ।
अनि उहाँ बहिनीले नै भन्ने गर्नुहुन्थ्यो, ‘‘म शारदा होइन, उहाँ मेरो दिदी हो । म त उहाँकी कान्छी बहिनी हुँ ।’’
उहाँहरू सेन्ट मेरिज स्कूलमा पढेको हुँदा अंग्रेजीमा राम्रो दख्खल पनि थियो । कानुन पढ्ने प्रेरणा उहाँकै पिताले दिनुभएको हो ।
उहाँले भन्नुभएको थियो, ‘‘राणाकालमा पिताले विनाकसूर बेहोर्नुपरेको एक अभियोगका कारण छोरीलाई कानुन पढ्न प्रेरित गर्नुभएको हो । पितालाई निरपराध सावित गर्न पनि वकिल बन्ने इच्छा जागेको हो ।’’
उहाँले २०२७ जेठ ९ गते शाखा अधिकृतका रुपमा सेवा सुरू गर्नुभएको थियो ।
२०२८ सालमा अतिरिक्त जिल्ला न्यायाधीश पदमा नियुक्ति प्राप्त गरी २०६५ जेठ २१ गते सर्वोच्च अदालतको न्यायाधीश पदबाट सेवानिवृत्त हुनु भएको थियो ।
अत्यन्त उत्साही, मृदुभाषी, रूपकी धनी, तीक्ष्ण बुद्धि अनि विवेकी शारदा श्रेष्ठ महिला कानुन व्यवसायीहरूका निम्ति प्रेरणाकी स्रोत नै हुनुहुन्थ्यो ।
उहाँलाई कुनै पनि कार्यक्रममा भेट्टाउँदा हामीहरूबीच एक आपसमा कुराकानी भइरहन्थ्यो ।
एकपटक नारायणगढमा भएको एक कार्यक्रम सकी विराटनगरका हामी महिला कानुन व्यवसायीहरू र उहाँ पनि धनकुटा पुनरावेदन अदालततिर फर्किने क्रममा एउटा रद्दी बसमा परेछौँ । त्यो सवारीमा आधा मान्छे, आधा बाख्रा–पाठाले भरिएको थियो ।
मिनेट–मिनेटमा ठाउँ–ठाउँमा बस रोक्ने, मान्छे चढ्ने र उत्रिने हुँदा हामी सबै त्यो रात जाग्राम भयौँ ।
उहाँका पति, जसलाई हामीले भिनाजु भनी सम्बोधन गर्थ्यौँ । उहाँले बेला–बेला हामीलाई पनि बाटोमा पानी, चिया र आवश्यक कुरा किनी खान दिनुभयो ।
त्यसपछि हामीले उहाँलाई जिस्काएका थियौं, ‘असिटेन्ट’ त राम्रो पाउनु भएको रहेछ नि ?’ सम्भवतः त्यसबेला भिनाजु बैङ्कको सेवाबाट सेवानिवृत्त भएको हुँदा शारदा श्रीमानसँगै बस्ने गर्नुभएको थियो ।
शारदा श्रेष्ठमा कुनै घमण्ड थिएन । सबैसँग मेलमिलाप राख्ने उहाँको स्वभाव हो । २०६४–२०६५ सालतिर पनि नेपालमा महिला न्यायाधीशहरूको संख्या न्यायापालिकामा अत्यन्त कम थियो ।
म २०६५ साल माघमा न्यायाधीश हुँदा पनि महिला न्यायाधीशहरू म समेत गरी जम्मा सातजनाको संख्यामा थियो । उहाँ नै यस्तो व्यक्तित्व हो, जसले अन्तर्राष्ट्रिय संघ संगठनहरूमा थोरै संख्याका नेपालका महिला न्यायाधीशहरूलाई परिचित गराउनुभएको थियो ।
त्यसरी नै महिला न्यायाधीशहरूको संगठन आई.ए.डब्लु.जे.सँग परिचित गराउनु भएको थियो ।
यसरी यो अन्तर्राष्ट्रिय महिला न्यायाधीशको संगठनमा संसारका दशौँ हजार महिला न्यायाधीशहरू प्रतिनिधि भएकामा, यसले दुई–दुई वर्षमा अन्तर्राष्ट्रिय सम्मेलनहरू फरक–फरक मुलुकमा आयोजना गराउँथ्यो । त्यस्ता सम्मेलनहरूमा कमसे कम चार हजार महिला न्यायाधीश प्रतिनिधिहरू भेला हुने गरेकामा नेपालबाट पनि भाग लिने गरेका छन् ।
त्यस सम्मेलनमा नेपालका महिला न्यायाधीशहरूलाई प्रवेश गराउने शारदा श्रीमान् हुनुहुन्छ । यसका क्षेत्रीय सम्मेलन पनि हुने गरेको छ । उहाँ करिब–करिब सबै सम्मेलनमा उपस्थित हुनु भएको थियो ।
कोरोनाकालमा सम्मेलन भएन । त्यसपछि सायद जानुभएको र भाग लिनुभएन भन्ने लाग्छ । उहाँले नेपालमा केही समय अन्तर्राष्ट्रिय महिला न्यायाधीशको सहयोगमा सञ्चालित परियोजना सञ्चालन गर्नुभएको र हामीलाई पनि भाग लिन लगाएको स्मरण छ ।
शारदा श्रीमानमा मैले जहिले पनि सक्रियता पाएँ । उहाँको आँखामा समस्या थियो । पछि–पछि देख्न समस्या परे पनि यति धेरै उहाँमा हिम्मत् थियो कि उहाँ अन्तर्राष्ट्रिय महिला न्यायाधीशहरूको सम्मेलनमा भाग लिन सन् २०१६ मा अमेरिकाको वासिङ्गटनमा जानुभयो ।
कहीँ टाढा आफन्तको घरमा बस्नुभएकामा ओहोर–दोहोर गरेको र सम्मेलनमा भाग लिएको देखियो । सन् २०१६ मा नै न्युजील्यान्डमा पनि आफन्तकहाँ बसेर दैनिक सम्मेलनमा एक्लै धाएको पाइयो ।
प्रत्येक सम्मेलनहरूमा अंग्रेजीमा आफूलाई लागेको कुराको प्रस्तुति राम्रैसँग गर्ने गर्नुहुन्थ्यो । नेपालमा हुने कार्यक्रमहरूमा पनि उहाँ दुई–चार महिना पूर्वसम्म पनि निरन्तर भाग लिएको देखिएको हो ।
शारदा श्रीमान् त्यस्तो समयकी न्यायाधीश हुन्, जुन समयमा न्यायाधीशका निम्ति कुनै सरकारी सुविधा थिएन । गाडी, घर–भाडा, भत्ता आदि सबै सुविधा त्यस बखतका न्यायाधीशका निम्ति दिवास्वप्न थियो ।
न्यायाधीशभन्दा प्रमुख जिल्ला अधिकारीको सुविधा र स्तर कता हो कता उच्च थियो । सर्वोच्च अदालतकै न्यायाधीशले आउँदा–जाँदा एकै कारमा पाँच जनासम्मले चढ्नुपर्ने बाध्यता थियो ।
उहाँले अनुभव सुनाउने क्रममा कसरी आफू सर्वोच्च अदालतमा डेपुटी रजिष्ट्रार हँुदा काम सकी घर फर्किने क्रममा हिँड्दा हिँड्दै बाटोमा जुत्ता छिनेर दुवै खुट्टाको जुत्ता फाली खाली खुट्टा हिँड्दै घर पुगेको कुरा सुनाउनु भएको थियो ।
फेरि सरुवा भइरहने र यत्रतत्र दुर्गममा पनि जानुपर्ने बाध्यता थियो । त्यसबेला छोराहरूले टेलिभिजन हेर्ने इच्छा देखाउँदा आफूले किन्न नसकेको अभावका दिनका अनुभव सुनाउनु भएको थियो ।
उहाँको परिवारिक आपसी मेलजोल पनि अति सुन्दर र सौहाद्र्रपूर्ण र घरको वातावरण पनि अति अनुशासित भएको सदैव पाइयो । उहाँका दुई छोरा जेठा डा. सुमनराजा श्रेष्ठ, जो नेपाल प्रहरी अस्पताल महाराजगन्जमा कार्यरत हुनुभएकामा हाल सेवानित्तत हुनुहुन्छ । कान्छो सुजनराजा श्रेष्ठ सम्भवतः व्यापारी हुन् ।
दुवैले मिलेर आमाको सेवा अत्यन्त धेरै स्नेहको साथ गरेको देखियो । शारदा श्रीमानले गतवर्ष नै आफ्नो आत्मावृत्तान्त पुस्तक प्रकाशन गर्नुभएकामा त्यसको प्रकाशन र विमोचनमा उहाँका दुवै छोराहरू अत्यन्त सक्रिय भएको पनि देखियो ।
उहाँकी कान्छी बुहारी कृषि विशेषज्ञ हुनुहुन्छ, उहाँको ललितपुरस्थित घरमा दुई महिनाअघि म र मेरा श्रीमान दुर्गा सुवेदीजी भेट गर्न जाँदा हामी दुई–तीन घण्टासम्म कुरा गरिबसेको स्मरण छ ।
उहाँले विशेषज्ञ बुहारी र जेठी बुहारीको प्रसंशा नै गर्नुभएको थियो । आफ्ना माइतीले अघि–पछि दिएका बहुमूल्य काष्टकलाका पुरातन उपहारहरू हामीलाई देखाउनु भएको थियो । जुन साँच्चै आकर्षक थिए ।
पाँच दिनअघि म प्रहरी अस्पतालमा भेट गर्न जाँदा उहाँ भेन्टिलेटरमा हुनु हुन्थ्यो । म उहाँको अगाडि उभिए । उहाँले मेरो हात च्याप्प पारेर समाउनुभयो । मैले पनि उहाँका हात आफ्ना दुई हातले समाते । त्यहाँ उपस्थित डाक्टर साहबले भन्नुभयो, ‘‘तपाईँले कुरा गरे हुन्छ ।’’
तर, मलाई उहाँलाई तकलिफ दिन मन लागेन । म फेरि भेट्न आउँछु भन्ने वचन दिँदै हिँडेकी थिएँ । तर, उहाँलाई १६ गते आर्यघाटमा अन्तिम बिदाइ दिन पुग्नुपर्यो ।
जीवनको मार्ग नै यही रहेछ, सबैको बाटो पनि त्यही हो । शोकाकुल परिवार उहाँको दुई छोरा, दुई बुहारी नातिनीहरूलाई धैर्यता प्राप्त होस् भनी इश्वरसँग प्रार्थना गर्छु ।