site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कार्यालयमा हुनुपर्ने लाइसेन्स धानखेतमा- सहायक सीडीओ भन्छन्, ‘हामीले कारबाही गर्न मिल्दैन’

जनकपुर । कार्यालयमा रहेको लाइसेन्स (सवारी चालक अनुमतिपत्र) धानखेतमा भेटिएको घटना जिल्ला प्रशासन कार्यालयले छानबिन गर्न नमानेपछि यातायात कार्यालयले मातहतकै कर्मचारीलाई अनुसन्धान अधिकृत तोकेको छ ।

जनकपुरस्थित यातायात व्यवस्था कार्यालयका प्रमुख विपिनकुमार कर्ण बिदामा छन् । निमित्त प्रमुख वीरेन्द्र साहले घटनाबारे जानकारी हुनासाथ जिल्ला प्रशासन कार्यालयलाई मौखिक र लिखित रुपमा समेत जानकारी गराएको र छानबिनका लागि समेत अनुरोध गरेको बताए । प्रशासन कार्यालयले आफूलाई समयमा जानकारी नगराइएको र पछि अनुसन्धानका लागि पत्र पठाए पनि त्यसो गर्न नमिल्ने प्रतिक्रिया दिएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी दीपक कोइरालाले प्रदेश मातहतको कार्यालयमा भएको लापरबाहीमा संघीय सरकार मातहतको कार्यालयले कुनै कारबाही गर्न नमिल्ने बताउँछन् ।

उनी भन्छन्, “सबैभन्दा पहिले हामीले बिहीबार अनलाइन सञ्चारमाध्यमबाट मात्रै घटनाबारे थाहा पायौं कि यातायात व्यवस्था कार्यालयको लाइसेन्ससम्बन्धी घटनाको छानबिन हामी (जिल्ला प्रशासन कार्यालय) ले गर्दै छौं । त्यहाँ (यातायात कार्यालय) का कर्मचारीलाई फोन गरी सोधेपछि अपराह्‍न ४:१५ बजे औपचारिकता पूरा गर्न यहाँ पत्र पठाइयो । त्यो पत्रकै आधारमा हामीले केही गर्न मिल्दैन ।”

यातायात व्यवस्था कार्यालय प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय मातहतको निकाय रहेको र आफूहरु (जिल्ला प्रशासन कार्यालय) संघीय सरकार मातहत भएकाले त्यस कार्यालयमा भएको घटनामा आफूहरुले चासो राख्‍न नमिल्ने उनको भनाइ हो ।

“सबभन्दा पहिले कार्यालयमा हुनुपर्ने लाइसेन्स धानखेतमा पुगेको घटना यातायात कार्यालय आफैंले खोजबिन गर्नुपर्ने हो । आवश्यक परे प्रदेश सरकारको विभागीय मन्त्रालय वा अन्य निकायले हेर्ने हो । संघीय सरकार मातहत रहेको हामीले प्रदेश सरकार मातहतको निकाय वा कर्मचारीलाई कुनै कारबाही गर्न उचित हुँदैन ।”

जिल्ला प्रशासन कार्यालयले कार्यालयमा हुनुपर्ने लाइसेन्स धानको खेतमा कसरी पुग्यो भन्‍ने विषयमा छानबिन गर्न तयार नभएपछि यातायात कार्यालयले मातहतकै कर्मचारीलाई अनुसन्धान अधिकृत तोकेर छानबिन थालेको निमित्त प्रमुख वीरेन्द्र साहले बताए ।

धानखेतमा भेटियो लाइसेन्स, जिल्ला प्रशासनले थाल्यो छानबिन !

“कार्यालयको सुरक्षासम्बन्धी विषय भएकाले सुरुमा हामीले जिल्ला प्रशासन कार्यालयलाई घटना अनुसन्धानका लागि अनुरोध गरेका थियौं । पछि त्यहाँबाट छानबिन गर्न नमिल्ने बताइएपछि हाम्रो आफ्नै कार्यालयका एकजना अधिकृत पवन पंजियारलाई अनुसन्धान अधिकृत तोकेर छानबिन सुरु गरेका छौं,” उनले भने ।

घटनाको छानबिन गर्ने प्रक्रिया र तोकिएको अनुसन्धान अधिकृतबारे जिल्ला प्रशासन कार्यालय र विभागीय मन्त्रालयलाई पत्रमार्फत बोधार्थ (जानकारी) गराएको साहले बताए । उनले थपे, “यो घटना सामान्य होइन । यसले सेवाग्राहीमा कार्यालयप्रतिको विश्वास घटेको छ भने राज्यको नोक्सान भएको छ । घटनाको सत्यतथ्य छानबिन गरी दोषी ठहर हुने कर्मचारीलाई सम्बन्धित निकायमा कारबाहीका लागि सिफारिस गर्नेछौं ।”

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक १४, २०७७  ०८:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro