जनकपुर । अन्न उत्पादनको दृष्टिकोणले धान र गहुँ खेतीका आधारमा प्रदेश २ का आठवटै जिल्ला मुलुकको पकेट क्षेत्रका रुपमा छ । भारतीय सीमासँग जोडिएका यी जिल्लामा राज्यले आवश्यक मल आपूर्ति गर्न नसक्दा सीमापारिबाट चोरी निकासी भई आउने मलको भरमा किसानले खेती गर्न बाध्य छन् ।
राज्यको तर्फबाट किसानलाई मल आपूर्ति गर्ने जिम्मा कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनको हो । कम्पनीले ७० प्रतिशत र कर्पोरेसनले ३० प्रतिशत मल आपूर्ति गर्ने जिम्मेवारी पाएका छन् । धनुषास्थित उक्त दुवै निकायले यस वर्ष धानबालीको लागि किसानलाई आवश्यक मल उपलब्ध गराउन सकेन ।
जिल्ला कृषि ज्ञान केन्द्रका अनुसार धनुषामा ५९ हजार हेक्टरमा धान खेती भइरहेको छ । प्रदेशमा करिब पाँच सय हेक्टरमा धान खेती भइरहेको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ । धान खेतीका लागि एक सिजनमा कम्तीमा प्रति हेक्टर १२० किलो मल आवश्यक पर्छ । यसैलाई आधार मान्ने हो भने यस प्रदेशमा कम्तीमा ६० हजार टन मल आवश्यक पर्छ ।
“यस वर्ष धान खेतीका लागि मात्रै कम्तीमा ८ देखि १० हजार टन मल कृषि सामग्री कम्पनीले धनुषा र महोत्तरीमा वितरण गर्नुपर्ने थियो,” कम्पनीका धनुषा प्रमुख बेचन साहले बाह्रखरीसँग भने, “अलिअलि डीएपी मल त बाँडियो । युरिया मल हामीलाई पनि उपलब्ध भएन, किसानलाई कहाँबाट बाँड्नु ?”
गत भदौ २० गतेसम्म ५० हजार टन मल आपूर्ति गर्न दुई ठेकेदार कम्पनीलाई जिम्मेवारी दिइएको थियो । ती दुवै कम्पनीले निर्धारित समयसम्म मल नल्याएपछि सरकारले दुवै कम्पनीले जम्मा गरेको धरौटी रकम जफत गरी ठेक्का सम्झौतासमेत रद्द गरी कालोसूचीमा राखेको छ । ती ठेकेदारले तोकिएको समयभित्र मल आपूर्ति नगर्दा धानखेती गर्ने किसान प्रत्यक्ष मारमा परेको कम्पनीका धनुषा कार्यालय प्रमुख साह बताउँछन् ।
धनुषा, महोत्तरी र सिन्धुलीमा मल वितरण गर्ने साल्ट ट्रेडिङ कर्पोरेसनले साउनयता जम्मा एक हजार आठ सय ५९ टन मल वितरण गरेको छ । एक जिल्लामा दुई हजार टन मल उपलब्ध गराउनुपर्नेमा तीन जिल्ला मिलाएर दुई हजार टन मल पनि पुर्याउन नसकिएको कर्पोरेसनका जनकपुरस्थित कार्यालय प्रमुख वासुदेव उपाध्याय बताउँछन् । “नेपाल सरकारले अनुदानमा दिने भनेको मल किसानले माग गरेअनुरुप उपलब्ध गराउन नसकेकै हो,” उनको भनाइ छ ।
किसानले स्वदेशमा पैसा तिरेर पनि मल नपाएपछि सीमापारीबाट चोरी निकासी भई आउने मलको भरमा पर्न बाध्य रहेको सरकारी कर्मचारी नै बताउँछन् । जनकपुरस्थित भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका एक अधिकृतले बाह्रखरीसँग भने, “मेरै खेतमा पनि बटिदार (अधियाँ लगाउने मानिस) ले भारतीय बजारबाट साइकल र मोटरसाइकलमा बोकेर ल्याएर मल हालिरहेका छन् । अन्यत्र झन् के होला !”
भारतीय सीमासँग जोडिएका पालिकामा बस्ने नेपाली किसानहरू आफैंले पनि भारतीय बजारबाट मल किनेर ल्याउँछन् । प्रदेशका यी जिल्लामा सयौं मानिस पारि किनेर नेपाली बजारमा मल उपलब्ध गराउने पेसा नै गर्छन् । करिब एक महिनाअघि रौतहटस्थित सीमा क्षेत्रमा भारतबाट ल्याइने मल प्रहरीले नियन्त्रणमा लिएको थियो ।
दर्जनौ साइकल र मोटरसाइकलमा लोड भएको ती मल किसानको खेतबारीमा हाल्न ल्याउन लागिएको थाहा पाएपछि तुरुन्तै त्यहाँका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले सबैलाई छुटाइदिए । नेपालमा सहज ढंगले मल उपलब्ध नभएको अवस्थामा भारतबाट ल्याउने मल नरोक्न प्रजिअ यादवले प्रहरीलाई निर्देशन नै दिएका थिए ।
धनुषास्थित एक कृषि सहकारी संस्थाका अनुसार जिल्लामा कम्तीमा ६० प्रतिशत मल भारतीय बजारबाट उपलब्ध भइरहेको छ । कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनले मागअनुरुप मल उपलब्ध नगराउँदा किसानले बाध्य भएर भारतीय मल प्रयोग गरिरहेको ती संस्थाका सञ्चालक बताउँछन् ।