site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
खुल्दै दाङका विद्यालय
Sarbottam CementSarbottam Cement

दाङ । कोभिड-१९ को महामारीका कारण बन्द भएका विद्यालयहरू सञ्चालनमा आउन थालेका छन् ।

बन्द भएको करिब ६ महिनापछि विद्यालय सञ्चालन हुन थालेका हुन् । लामो समय बन्द रहेका जिल्लाका विद्यालयहरूले भौतिक रुपमा कक्षा सञ्चालन गर्न थालेको बताएका छन् । नेपाल सरकारले सिकाइ निर्देशिका २०७७ जारी गरेपछि विद्यालय सञ्चालन गर्न विद्यालयहरूलाई बाटो खुलेको हो । सोही सिकाइ निर्देशिकाबमोजिम विद्यालयहरू सञ्चालनमा आउन थालेको स्थानीय तहहरूले जनाएका छन् ।

सरकारले स्वास्थ्य मापदण्ड अपनाएर विद्यालयहरू सञ्चालन गर्न सकिने तथा अन्य वैकल्पिक माध्यमबाट शैक्षिक क्रियाकलाप अगाडि बढाउन भनेको छ । तर वैकल्पिक माध्यमबाट प्रभावकारी शिक्षण सिकाइ हुन नसकेको अभिभावकहरूको गुनासो छ । अहिले जिल्लामा विद्यार्थीहरूको उपस्थितिमा नै पढाइ सुरु गर्न थालिएको छ । केही स्थानीय तहहरूले विद्यालय सञ्चालन गरिसकेका छन् भने केहीले तयारी गरेका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

बंगलाचुली गाउँपालिकामा रहेका सबै सामुदायिक विद्यालयहरू आइतबारदेखि सञ्चालनमा आएका छन् । गाउँपालिकामा रहेका ४२ सामुदायिक विद्यालय, ९ वटा बाल विकास केन्द्र र एउटा बोर्डिङ स्कुलमा पठन-पाठन सुरु भएको हो ।

गाउँपालिकाले पहिलो चरणमा बाल विकास केन्द्रदेखि ५ कक्षासम्मको पठनपाठन सुरु गर्ने निर्णयअनुसार आइतबारदेखि पठन-पाठन सुरु भएको हो । त्यसैगरी ६ देखि माथिको कक्षा भने गाउँपालिकाको बैठक बसी पाठ्यक्रम निर्धारण गरेर सञ्चालन गरिने तयारी गरेको छ ।

Global Ime bank

गाउँपालिकामा शिशुदेखि कक्षा ५ सम्म ४ हजार ९ सय ७६ विद्यार्थीहरू छन् । गाउँपालिकामा जम्माजम्मी ७ हजार २ सय ५४ विद्यार्थी छन् । नेपाल सरकार शिक्षा तथा प्रविधि मन्त्रालयले जारी गरेको विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका २०७७ को गाइडलाइनअनुसार गाउँपालिकाले पठन-पाठन कार्यलाई सञ्चालन गरेको बंगलाचुली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेवबहादुर वलीले बताए । लामो समयसम्म लकडाउन भएपछि विद्यार्थीको पढाइ अन्योलमा परेको हुँदा स्वास्थ्य सुरक्षा अपनाउँदै पठन-पाठनलाई नियमित गरिएको वलीको भनाइ छ ।

यता घोराही उपमहानगरपालिकाभित्र रहेका विद्यालयहरू पनि खुल्ने तयारीमा छन् । घोराही उपमहानगरपालिका शिक्षा तथा खेलकुद महाशाखाका प्रमुख विनोद गौतमका अनुसार नगरभित्र रहेका विद्यालयहरूले सञ्चालन गर्ने तयारी भइरहेको छ । ‘‘नगरभित्र रहेका विद्यालयहरू केही दिनमै सञ्चालनमा आउनेछन्,’’ प्रमुख गौतमले भने, ‘‘विद्यालयहरूमा विद्यार्थीहरू उपस्थित गराएर सञ्चालन गर्ने तयारी भएको छ ।’’

 

 

राप्ती गाउँपालिकाले पनि छिट्टै विद्यालय सञ्चालन गर्ने तयारी गरेको जनाएको छ । विद्यालयहरूलाई कसरी पढाइ सञ्चालन गर्ने भनेर योजना बनाउन लगाइएको र विद्यालयले बनाएको योजनाअनुसार अगाडि बढिने गाउँपालिकाका शिक्षा शाखा प्रमुख विश्वास विकले बताए । 

विद्यालयहरूले आफूले बनाएको योजनाअनुसार अगाडि बढ्नसमेत सहज हुने उनको भनाइ छ । सुरुको एक साता समुदायमा पुग्ने र त्यसपछि विद्यार्थीहरूलाई विद्यालयमा बोलाउने तयारीमा आफूहरू रहेको विक बताउँछन् । तीन चरण बनाएर विद्यालयहरू सञ्चालनमा ल्याउने गाउँपालिकाको योजना छ । सामाजिक दूरी कायम गरी विद्यालय सञ्चालन गर्न सकिने उनको भनाइ छ । गाउँपालिकाले यसअघि पनि समुदायस्तरमै पुगेर बालबालिकाहरूलाई पढाउने गरेको थियो । तर पछिल्लो समयमा कोरोना संक्रमण बढेपछि समुदायमा पढाइ रोकिएको प्रमुख विकले बताए ।

 

 

 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज ७, २०७७  १७:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement