काठमाडौं । कोरोनाका कारण चैत ११ बाट देश लकडाउनमा गयो । हुनेहरूलाई त के थियो र ? घर बस्यो, खायो । समस्या त नहुनेहरूलाई न हो । दैनिक ज्याला मजदुरी गर्नेहरू भोकै बस्नुपर्ने बाध्यात्मक अवस्था आयो ।
हाम्रो टिम नेपालका सदस्यहरूले थाहा पाए, काठमाडौंमा जनता भोकै बस्ने अवस्था आयो । भोकाहरूको सारथि कसरी बन्न सकिएला ? हाम्रो टिम नेपालले आफ्ना सदस्यहरूबाट साढे चार लाख रुपैयाँ उठाए । र, सुरु गरे भोकाहरूको पेट भर्न ।
अनामनगर पूर्वी गेटअगाडि मेस तयार गरे । एकै ठाउँमा जम्मा भए संक्रमणको जोखिम थियो/छ । त्यसैले उनीहरूले भोकोहरूलाई खोज्न थाले । अनामनगर, थापागाउँ, बानेश्वरलगायत प्रसूति गृह, ह्याम्स हस्पिटल, सिभिल हस्पिटल, बीएन्डबी, महालक्ष्मीथान, बौद्ध, कालीमाटी, वसन्तपुरलगायत थुप्रै ठाउँ जहाँ भोकाहरू बसिरहेका हुन्थे, त्यहीँ पुगेर खाना दिन थाले ।
होटलहरू बन्द भएपछि अस्पतालको क्यान्टिन झन महँगो भएका थिए । औषधिकै लागि अभाव झेलिरहेका बिरामी तथा आफन्त खानामा पैसा खर्च गरिरहेको देखेर हाम्रो टिम नेपालले खाना खुवाउन थाले ।
यसरी खाना खुवाउने क्रममा हाम्रो टिम नेपालले भेट्यो, ओखलढुङ्गाकी कमला विकलाई । जसले दुर्घटनामा बुवालाई गुमाएर आफू घाइते अवस्थामा ह्याम्स हस्पिटल आइपुगेकी थिइन् । उनीहरूले कमलाका लागि दैनिक खाना तथा औषधिका लागि सहयोग मात्रै गरेनन् सहयोगको अभियानै चलाए । उपचार खर्च नहुँदा अस्पतालमै बन्दी भएर बस्नुपर्ने अवस्थामा पुगेकी कमलाको सहयोगका लागि चलाएको अभियानमा सहयोगी मनहरूले सहयोग गरे । ११ लाख ७५ हजार रुपैयाँ तिरेर उनी निस्कने वातावरण बन्यो ।
अहिले कसैले हामीले उपचार पाएनौं भन्यो भने हाम्रो टिम नेपालले घरघरमै औषधि पुर्याइदिने गरेको हाम्रो टिम नेपालका सदस्य उमेश बोहोरा बताउँछन् । सुरुमा बिहान ३०० र साँझ ३०० जनालाई खाना खुवाउँदै आएको हाम्रो टिम नेपाल अहिले केही समय गौशाला, गौरीघाटमा खाना खुवायो ।
“सुरुका दिनमा हामी अन्त खाना खुवाउँदै अन्तिममा रत्नपार्क पुग्थ्यौं । रत्नपार्कमा १८ जना नियमित रुपमा हामीलाई कुरेर बस्नुहुन्थ्यो,” हाम्रो टिम नेपालका कोषाध्यक्ष मिलनकुमार बोगटी भन्छन्, “कति बेला खाना लिएर आउँछन् भनेर बस्नुहुन्थ्यो ।”
उनीहरुले ८० जनाभन्दा धेरै दृष्टिविहीन तथा अपाङ्गता भएका व्यक्तिलाई नियमित खाना खुवाए भने ८० जना मिर्गौला फेल भएकाहरूलाई राहत वितरण गरे । बीचमा लकडाउन अन्त्य भयो । हाम्रो टिम नेपालले खाना खुवाउन छोड्यो, कारण बजार पसल खुल्न थाले । जनजीवन सहज हुन्छ भन्ने अपेक्षा थियो । तर अवस्था सोचेजस्तो भएन । कोरोनाले फँणा फिँजायो । विस्तारै बजार पसल बन्द हुन थाले । परिस्थिति पुरानै अवस्थामा फर्कियो । १० दिनको बसाइपछि उनीहरू पनि पुरानै अवस्थामा फर्किए । अथवा भोकाहरूको पेट भर्न थाले ।
योपटक अवस्था पुरानै मात्रै रहेन । अझ खराब भएर आयो । काठमाडौं ठप्प भयो । सरकार लकडाउनबाट निषेधाज्ञामा गयो । निषेधाज्ञा लम्बिदै जाँदा श्रमिक वर्ग अफ्ठ्यारोमा पर्यो । ज्यान जोगाउन एक छाक पनि खान नपाउने अवस्थामा पुग्यो । खानकै लागि छटपटाउनु पर्ने अवस्था आएपछि हाम्रो टिम नेपालले पछिल्लो समय रत्नपार्कमा खाना खुवाउन थाल्यो ।
“आज (मंगलबार) हामीले गनेर ७०० जनालाई खाना खुवायौं । हिजो ६५१ जना हुनुहुन्थ्यो,” मिलन भन्छन्, “दिनदिनै खाना खानेहरू थपिँदै हुनुहुन्छ । बच्चादेखि वृद्धसम्मलाई हामी खाना खुवाइरहेका छौं । पछिल्लो केही दिनयता त टाइसुट लगाएर पनि खाना खान आउनुहुन्छ । यसको अर्थ अब मध्यम वर्गीयलाई पनि समस्या हुन थालेको छ भन्ने हो ।”
मिलन अगाडि थप्छन्, “सामाजिक सञ्जालमा रुँदै आउने र झरीमा खाना खाँदै गरेकाहरू त प्रतिनिधि पात्र मात्रै हुन्, सडकमा खाना खानेहरू हरेकको अवस्था उस्तै छ ।” साढे चार लाख रुपैयाँ आफैंले उठाएर खाना खुवाउन सुरु गरेका उनीहरूलाई विस्तारै हुने खानेहरूले सहयोग गर्न थाले । कसैले चामल, कसैले दाल त कसैले नुन दिन्छन् । कसैले नगद सहयोग गर्छन् । त्यसैले भोकाहरूको पेट भरिरहेका छन् ।
“दैनिक ५ बोरा चामल, सात किलो दाल र २५ केजी तरकारी पकाएर खुवाइरहेका छौं,” मिलन भन्छन्, “सुरुमा दुई छाक खुवाउँदै आएकामा संख्या बढेपछि अहिले एकछाक मात्रै खुवाइरहेका छौं ।” अहिले उनीहरूलाई वडाले पनि सहयोग गरेको छ । मेस ठूलो भएपछि कोठाभित्र पकाउन सम्भव भएन । पूर्वी गेटअगाडिको खाली जग्गामा टिनले बेरेर खाना पकाउँछन् र रत्नपार्क पुर्याएर वितरण गर्छन् । खाना पुर्याउन उनीहरूलाई प्रहरीले रोक्दैन । कारण उनीहरूले गरेको सहयोग प्रहरीले देखेको छ ।
त्यसो त उनीहरू खाना खुवाउने र औषधि उपलब्ध गराउने मात्रै होइन खाद्यान्न पनि सहयोग गर्छन् । “हामीले हालसम्म १२ सयभन्दा धेरैलाई खाद्यान्न वितरण पनि गर्यौं,” उमेश भन्छन्, “तर हामीलाई विभिन्न ठाउँबाट चामल, दाल र पैसा सहयोग गर्नुहुन्छ । कतिले मैले पठाएको पैसा फलानो व्यक्ति तथा संस्थालाई दिनू भन्नुहुन्छ र हामी पुर्यादिन्छौं ।”
खाना मात्रै होइन उनीहरू पर्दा अफ्ठ्यारोमा परेका सबैलाई सहयोग गर्छन् । सिन्धुपाल्चोकको लिदीमा गएको पहिरोमा ज्यान गुमाएका परिवारलाई राहत लिएर घटनास्थल पुगे । अछामको रामारोशन पुगेर बाढी पीडितलाई सामाजिक अभियन्ता जनक सुनारले उपलब्ध गराएको एक लाख ६० हजार रुपैयाँ बाँडे ।
राहत बोकेर बागलुङको बोबाङ र तनहुँ र म्याग्दी पुगे । उनीहरूको संस्थाको स्लोगन नै छ- भोक मुक्त, नाङ्गो मुक्त र भेदभावमुक्त राष्ट्र निर्माण । हाम्रो टिम नेपाल कहिले निःशुल्क कपडा बैंक अभियान चलाउँछ । कहिले भोकाहरूलाई खाना र खाद्यान्नको सारथि बन्छ भने कहिले बाढी र पहिरो पीडितलाई सिरक, डसना, चामल, दाल र पैसा लिएर आर्तनादहरूको घाउमा मल्हमपट्टी लगाउन पुग्छ ।
हेरौं थप तस्बिरहरु :
तस्बिरहरू : सुनील प्रधान/बाह्रखरी र हाम्रो टिम नेपाल