
काठमाडौं । २८ दिनदेखि सडक आन्दोलनरत शिक्षक र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय सहमतिनजिक पुगेका छन् । सोमबार (वैशाख १५) मन्त्री रघुजी पन्त र शिक्षकबीच मध्यरातसम्मको वार्ता सहमतिनजिक पुगेको बताइएको छ ।
तर, शिक्षकले सडक छोडेका छैनन् । मन्त्रालयका सूचना अधिकारी नीलकण्ठ ढकालले सहमति हुनेमा आफूहरू आशावादी रहेको बताए । “हिजो पनि वार्ता भयो । हामी आशावादी छौँ । केही बुँदामा दुवै पक्षबीच सहमति भएको छ । आज दिउँसो ३ बजेपछि पुनः वार्ता हुन्छ,” उनले बाह्रखरीसित भने ।
गए रातिको वार्तामा कसरी निष्कर्षमा पुग्ने भन्ने विषयमा छलफल भएको महासंघकी सहसचिव नानुमाया पराजुलीले जानकारी दिइन् ।
उनका अनुसार, शिक्षक संगठनबीच आन्तरिक वार्तापछि मन्त्रालयका पदाधिकारीसँग छलफल गरिनेछ ।