site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
पाठ्यक्रम पूरै बन्‍न बाँकी, तत्कालै कार्यान्वयन कसरी होला ?
SkywellSkywell

काठमाडौं । सरकारले २३ वर्षपछि कक्षा १ र ११ का लागि नयाँ पाठ्यक्रम ल्याएको छ । पर्याप्त तयारी नपुगेको गुनासो आइरहँदा यही शैक्षिक सत्रदेखि नै सरकारले उक्त पाठ्यक्रम लागु गर्ने जनाएको छ । यसका लागि ‘विद्यालय शिक्षाको नयाँ पाठ्यक्रम प्रारुप, २०७६’ पारित गरी नयाँ पाठ्यक्रम लागु गर्न लागेको हो । लामो प्रशासनिक परिवर्तनपछि संघीय संरचना, नयाँ संविधानबारे जानकारीसहितको परिमार्जित तथा नयाँ पाठ्यक्रम थपिएका हुन्।

कोरोना महामारीका कारण देश आक्रान्त छ । वैशाखदेखि सुरु हुनुपर्ने पठनपाठन अहिलेसम्म सुरु भएको छैन । देशभरि नै अनलाइन, रेडियो र टेलिभिजनजस्ता वैकल्पिक माध्यमबाट कक्षा सञ्चालन भइरहेको छ, जुन पर्याप्त छैन । विद्युत् नै नभएका गाउँ र विद्युत् भए पनि कम्प्युटर नभएका बालबालिकाका लागि अनलाइन शिक्षा काम चलाउसमेत मात्र बन्‍न पुगेको छ । यस्तै, पटक-पटक विद्यालयको भर्ना मिति सरकारले सारिरहेको छ । देशैभरि निषेधाज्ञा भइरहेको अवस्थामा असोज १ गतेदेखि भर्ना गर्ने भनिए पनि त्यसमा ढुक्क हुने अवस्था नरहेको शिक्षा मन्त्रालयले नै जनाइसकेको छ । यस्तो विषम् परिस्थितिमा नयाँ पाठ्यक्रम कसरी लागु होला ?

पाठ्यक्रम बनिसकेको र सबै कुरा हातमा आएपछि मात्र सुरु गर्छु भन्‍ने सोचबाट परै बस्‍नुपर्ने पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक केशव दाहाल बताउँछन् । भन्छन्, “पाठ्यपुस्तक बनेको छैन भन्दै सधैं साँघुरो घेरामा बस्‍नुहुन्छ । केही पाठ्यपुस्तक बनाएका छौं । सन्दर्भ सामग्री अरुले पनि बनाइहाल्छन्।” केन्द्रबाट ८५ वटा पाठ्यक्रमले स्वीकृति पाइसकेको र २२ वटाले मात्र स्वीकृति पाउन बाँकी छ । दाहालका अनुसार बाँकी रहेको २२ वटै नयाँ विषय भएकाले तिनीहरू तयारी नभए पनि फरक नपर्ने तर्क गर्छन् । 

Dabur Nepal
NIC Asia

०७५ को चैत २२ मा राष्ट्रिय पाठ्यक्रम तथा मूल्यांकन परिषद्ले कक्षा १ देखि १२ सम्म पाठ्यक्रम तालिका अनुरुप परिवर्तन गर्ने कार्ययोजना स्वीकृत गरेको थियो । जसअनुसार ०७६ राष्ट्रिय पाठ्यक्रम प्रारुप तयार भयो । कक्षा १ र ११ को यस शैक्षिक सत्रमा कार्ययोजनाअनुरुप पाठ्यक्रम परिवर्तन र परिमार्जन गरियो । ०७७ मा कक्षा १ र ११ मा नयाँ पाठ्यक्रम लागु गर्ने तालिका हो । यसका लागि कक्षा १ को सम्पूर्ण काम सकेर पाठ्यपुस्तक छपाइको काम जनक शिक्षा सामग्री केन्द्र र निजी क्षेत्रका प्रकाशन गृहलाई दिइएको छ । 

कक्षा ११ को सन्दर्भमा ऐच्छिक विषयका ८५ वटा पाठ्यक्रम स्वीकृत भइसकेको र २२ वटा स्वीकृत हुन बाँकी छ । अनिवार्य विषयलगायत धेरै विद्यार्थीले पढ्न चाहेका मुख्य ऐच्छिक ८५ वटा विषयका पाठ्यपुस्तक तयार भइसकेको केन्द्रले जनाएको छ । सो पाठ्यक्रमहरू केन्द्रको वेबसाइटमा अपलोड भइसकेको छ । अनिवार्य नेपाली र अंग्रेजी विषयका पाठ्यपुस्तक सामग्री तयार पारी जनक शिक्षा सामग्रीलाई दिइसकेको र निषेधाज्ञा खुल्नेबित्तिकै छापिने र बजारमा लगिने केन्द्रले जनाएको छ ।

तर पाठ्यपुस्तक बन्‍नु मात्र ठूलो कुरा नभएको त्यसको कार्यान्वयनको पाटो ठूलो चुनौती भएको शिक्षाविद् एवं उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोग २०७५ का सदस्य विमलकुमार फुयाँल बताउँछन् । उनका अनुसार नयाँ पाठ्यक्रम लैजान संस्थागत र पेसागत दक्षता महत्त्वपूर्ण हुन्छ । “नयाँ पाठ्यक्रमको सचेतनाबारे शिक्षक र अभिभावक जानकार छ कि छैनन्,” फुयाँलले भने, “नयाँ पाठ्यक्रमले माग गर्ने नयाँ ज्ञान र सीप शिक्षकमा छ कि छैन, कक्षा ११को शिक्षकको क्षमता अभिवृद्धिको योजना के छ त्यसबारे पनि छलफल हुन जरुरी छ ।”

सरकारको अपूर्ण तयारीका कारण नयाँ पाठ्यक्रम लागु गर्न चुनौती रहेको निजी तथा आवासीय माध्यामिक तथा उच्च माध्यामिक विद्यालय संगठनहरू हिसान, प्याब्सन र एनप्याब्सनले बताएका छन् । कक्षा ११ को सामाजिक विकास अध्ययन र १२ को जीवन उपयोगी शिक्षालाई परिमार्जन गरी एउटै पाठ्यपुस्तक बनाइ कक्षा ११ मा पढाइँदै छ । कक्षा ९ देखि १२ को पाठ्यक्रम निर्माण एवं परिमार्जनमा भूमिका निभाएका हिसानका अध्यक्ष रमेश सिलवालले पाठ्यक्रम तयार भएपछि के कस्तो बन्यो भनेर केन्द्रले सरोकारवाला निकायलाई छलफलमा समेत नबोलाएको आरोप लगाए । भन्छन्, “शैक्षिक सत्र होला न होला थाहा छैन । थपिएका पाठ्यक्रमको परीक्षा के कसरी लिने छलफल भएको छैन । सन्दर्भ सामाग्री निकाल्न सार्वजनिक सूचना छैन । नयाँ विषयमा शिक्षक पुग्दैनन् । किन हतारिएर अहिले लागु गर्नुपर्यो मैले बुझ्‍न सकिनँ ।”

यस्तै, थपिएको सामाजिक अध्ययन तथा जीवनपयोगी शिक्षा पढाउन पाठ्यपुस्तक मात्र नभई प्रयोगात्मक सामग्री आवश्यक भएको फुयाँलको भनाइ छ । जुनसुकै विषयलाई सहयोग पुग्‍ने र जीवन जिउन सहज बनाउने सो शिक्षा दिन १० वटा मुख्य सीप सिकाइन्छ । सो विषय बनाउन केन्द्रलाई सहयोग गरेका फुयाँल भन्छन्, “पाठ्यपुस्तक सीधै लाद्नुभन्दा पाइलट प्रोजेक्टका रुपमा निश्चित ठाउँमा लागु गरेर त्यसको उपयोगिता हेरेर कार्यान्वयन गरेको भए राम्रो हुन्थ्यो ।”

तयारी पाठ्यक्रम लागु गर्न समस्या नभएको एनप्याब्सनका अध्यक्ष रितुराज सापकोटाले जानकारी दिए । तर सरकारको तयारीले आश्वस्त  हुन नसकेको उनले बताए । यस्तै, प्याब्सनका अध्यक्ष टीकाराम पुरीले कक्षा १ को पुस्तक असार लागेपछि पाएको जिकिर गर्दै, “अझै पूरै पाठ्यक्रम तयार भएको छैन । कहिले छापिने र कहिले विद्यार्थीको हातमा पुग्ने ?” भन्दै चिन्ता व्यक्त गरे ।

तर महानिर्देशक दाहाल विगतमा पनि पूर्ण तयारी नहुँदा पाठ्यक्रम कार्यान्वयनमा आएको र शिक्षकको अभाव हुँदा पनि कक्षा सञ्चालन भएको जिकिर गर्दै २२ वटा पाठ्यक्रम यस वर्षदेखि थपिएकाले त्यसले शैक्षिक सत्रमा खासै असर नपार्ने दाबी गर्छन् । नयाँ पाठ्यक्रमका सन्दर्भमा शिक्षकलाई भर्चुअल तालिम दिने योजना रहेको उनले बताए ।

देशभरिकै अवस्था  हेर्दा सरकारी, सामुदायिक र निजी विद्यालयमा सबै ठाउँमा सरकारले समयमै पाठ्यपुस्तक पुर्‍याउन सक्ने अवस्था नरहेको विज्ञहरू औँल्याउँछन् । साथै सरकारी तथा सामुदायिक विद्यालयमा दक्ष शिक्षकको अभाव छ । नयाँ पाठ्यक्रमबारे शिक्षकहरूलाई औपचारिक जानकारी वा सामान्य अभिमुखीकरण तालिमको व्यवस्था समेत नहुँदा विद्यार्थीको पढाइको गुणस्तरमै ह्रास आउने चिन्ता छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ २३, २०७७  १०:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu