site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रासायनिक मलमा लुछाचुँडी, अर्ग्यानिक मल बिक्री नै भएन
SkywellSkywell

पोखरा । कोरोनालाई गिज्याउने गरी यो साता देशका विभिन्‍न भागमा चर्को घाममा रासायनिक मल किन्‍ने कृषकहरू बिहानैदेखि लाइनमा बसे । सरकारले समयमै ल्याउन नसक्दा धानखेतीमा हाल्ने युरिया र डीएपी मलको अहिले हाहाकार छ । पसाउने बेलाको धानमा मल हाल्न नपाएपछि उत्पादन घट्नेमा कृषक चिन्तित त छन् नै धानमै अन्य रोगहरू पनि देखापरेका छन् ।

समयमै मल ल्याउन नसकेपछि कृषि सामग्री कम्पनी लिमिटेडले आइतबार दुईवटा कम्पनीसँगको ठेक्का सम्झौता रद्द गरेको छ । शारदाप्रसाद अधिकारीको शैलुङ इन्टरप्राइजेज र हुमनाथ कोइरालाको हानोको मल्टिप्रपोज कम्पनीसँग भएको ठेक्का सम्झौता रद्द गर्दै धरौटी जफत गर्ने निर्णय गरेको छ ।

५० हजार टन युरिया मल ल्याउन पुस २८ र ४ माघमा गरिएको टेन्डरमा दुई कम्पनीले ठेक्का पाएका थिए । दुवै कम्पनीले गरेको ठेक्का सम्झौताअनुसार ७२ दिनभित्र मल नेपाल ल्याइसक्नुपर्ने थियो । जसअनुसार साउन १० गतेसम्म पहिलो लट तथा भदौ २० भित्र सबै मल ल्याइसक्नुपर्नेमा दुवै कम्पनीले मल ल्याउन सकेका थिएनन् ।

KFC Island Ad
NIC Asia

हरेक वर्षको नीति तथा कार्यक्रममा प्राङ्‍गारिक मललाई समावेश गरिए पनि बजेटको मामिलामा भने सरकार ठ्याक्कै विपरीत छ । अर्ग्यानिक कृषिलाई जोड दिने भनिए पनि रासायनिक मलमा अनुदान दिएर उर्वरभूमि बर्सेनि रुखो बन्दै गइरहेको छ । रासायनिक मलमा अर्बौँको बजेट र समयमै मल नल्याएपछि ठेक्का सम्झौता रद्द त्यसकै उदाहरण हो ।

 

Royal Enfield Island Ad

 

यता, रासायनिक मलको हाहाकार भइरहँदा अर्ग्यानिक मल भने बिक्री हुन सकेको छैन । बिक्री नभएपछि मलको उत्पादन पनि घट्दो छ । राज्यले नीति कार्यक्रममा प्राथमिकता दिएको प्राङ्‍गारिक मल यथार्थमा भने उपेक्षामा परेको छ ।

वर्षदिनअघि पोखरा महानगरपालिका ३२ स्थित मजुवामा गण्डकी ऊर्जा प्रालि खुल्यो । यसले पूर्ण रुपमा अर्ग्यानिक मल उत्पादन गर्दै आइरहेको छ । यहाँ उत्पादन मल बिक्री नभएपछि स्टकमा राखिएको छ ।

यसका निर्देशक कुशल गुरुङले फेसबुकमा लेखे, “दुई वर्षअगाडि रारा तालबाट सम्माननीय प्रधानमन्त्रीज्यूले नयाँ वर्षको शुभकामना दिँदै अबको १० वर्षभित्र नेपाल पूर्ण प्राङ्‍गारिक देश बनाउने घोषणा गर्नुभयो ! हुन पनि हाम्रोजस्तो कृषिप्रधान देशमा रासायनिक मलको कारखाना पनि नभएको र रासायनिक मलले कालान्तरमा माटोको उर्वरता घटाउने हुँदा हाम्रा लागि प्राङ्‍गारिक खेती आर्थिक र स्वास्थ दुवै हिसाबले उपयुक्त प्रविधि लाग्थ्यो । तर खोई, हरेक वर्ष राज्यले नै उल्टो रासायनिक मलको आयातमै बढी बल गर्दै छन् । र, यो कोभिडको महामारीमा खेतीको समयमा त्यही मल पनि उपलब्ध गराउन सकिरहेको छैन । बरु यस्तो बेलामा देशभित्रै प्राङ्‍गारिक मलको उत्पादन र प्रवर्द्धनमा जोड दिए पनि हुने ! कृषि सामग्री कम्पनीले सुरुमा नेपालमा उत्पादित सबै मल खरिद गरेर बल्ल बाकी अपुग मल मात्र आयात गर्ने नीति अवलम्बन गर्नुपर्‍यो । सो गरे स्वदेशी उत्पादनको प्रवर्द्धन हुने र माटोको उर्वरता पनि नघट्ने ! स्वच्छ र स्वदेशी ।’’

यो कम्पनीले उत्पादन गरेको मल अहिले बिक्री पनि भएको छैन । २०० टन स्टक छ भने उत्पादन मासिक १५० टनबाट घटेर ५० टनमा झरेको छ । निर्देशक गुरुङ भन्छन्, “गण्डकी ऊर्जाको दैनिक ३-५ टन प्राङगारिक मल उत्पादन गर्ने क्षमता छ र अहिले तत्काल २०० टनको स्टक पनि छ । बजारमा मलको हाहाकार छ । तर पनि हाम्रो जस्तो प्राङ्‍गारिक मलको राज्यबाट माग नै छैन ? माग कम भएकै कारण हामीले आफ्नो उत्पादन पनि घटाउन बाध्य छौं । कस्तो विडम्बना !”

स्थानीय स्तरमा सञ्चालन भएका पशु फार्म र पोल्ट्री फार्मबाट किनिएको गोबर र सुली नै कम्पनीको कच्चा पदार्थ हुन् । पूर्ण क्षमतामा उद्योग चलाउँदा दैनिक ४५ टन मल, कुहिने फोहोर र पानी चाहिने गुरुङले बताए । तर, माग नहुँदा र कोभिडका कारण अहिले यसको परिमाण पनि घटेको छ ।

 

 

अहिले हाहाकार भइरहेको युरिया र डीएपी मलको प्रतिस्थापन पनि प्राङ्‍गारिक मलले गर्छ । तर, उत्पादन त्यति बढाउन नसके पनि माटोको उर्वराशक्तिमा भने यसले ह्रास ल्याउँदैन ।

“कुरा ठूलो गर्छन, हाम्रा नेताहरू अवस्था यस्तो छ । हेर्नुस् न । युरियामा नाइट्रोजनको मात्रा २० युनिट हुन्छ भने, यो प्राङ्‍गारिक, गँड्यौला मलमा चाहिँ २ युनिट हुन्छ । यसले गर्दा तत्काल उत्पादन बढाउने हिसाबले हेर्दा कृषकले युरिया प्राथमिकतामा राख्‍ने भयो । तर, यसले माटो रुखो बनाउँछ । हरेक वर्ष युरियाको डोज बढाउनुपर्छ । उर्वरता घटाउँछ र अन्तिममा गएर बाँझो हुने हो,” उनी भन्छन् । राज्यले नै रासायनिक मललाई बढावा दिएका कारण कृषकको मानसिकता पनि रासायनिक मलतर्फ नै गएको उनले बताए ।

“कृषि सामग्री कम्पनी लिमिटेडलाई ११ अर्बको बजेट छुट्याइदिएको छ । यसैले सस्तोमा ठेक्का ल्याउने र अनुदानमा बाँड्ने हो । अनुदान भनेपछि कृषक पनि त्यतै आँखा चिम्लेर लाइनमा बस्‍ने भए । चेतना र प्राथमिकताको कुराले गर्दा युरियामा ध्यान गएको हो । हामीले उत्पादन गरेको प्राङगारिक मलको उत्पादन छ तर मागै छैन,” गुरुङले भने ।

गण्डकी ऊर्जाले उत्पादन गर्ने मललाई सरकारले नै प्रमाणित गरी प्रमाणपत्र पनि दिएको छ । आवश्यक मापदण्ड र ल्याब परीक्षण पनि गरिएको छ । तर, राज्यले पक्षपात गरेको उनको गुनासो छ । “नेपाल सरकारले प्राङ्‍गारिक मलका लागि मापदण्ड तोकेको छ । हामीले ल्याब टेस्ट गरेर प्रमाणित पनि भएको छ । अनुदानदेखि लिएर राष्ट्रिय कार्यक्रममा पनि बेच्‍न पाउँछौं । त्यतिसम्म भए पनि राज्यले सौताको छोराजस्तो व्यवहार गरेको छ । पक्षपात गरेको छ,” उनी भन्छन् ।

प्राङ्‍गारिक मललाई भनेर पोखरा महानगरले गतवर्ष २० लाख रुपैयाँ बजेट छुट्याएको थियो । सोही बजेटबाट यो कम्पनीले पनि गत वर्ष अनुदानमै तीन लाखको मल बिक्री गरेको थियो । तर, प्रदेश सरकारले पनि नीति कार्यक्रम मात्रै बनायो । बजेट छुट्याएन । नीति तथा कार्यक्रममा गण्डकीले मल कारखाना खोल्ने भनेको छ । तर, खोलिएका मल कारखानामा भने सरकारको ध्यान गएन ।

 

 

“महानगरले गत वर्ष २० लाख रुपैयाँको बजेट छुट्याएको थियो । हामीले ३ ४ लाखको बिक्री पनि गर्‍यौं । अनुदान भनेपछि बिक्री पनि भयो । अहिले त अनुदान भन्‍ने नै रासायनिक मलमा मात्र दिएको छ । कृषक पनि उतै लाइन बस्‍न जान्छन्,” उनले भने ।

कम्पनीले उत्पादन गरेको मल ३० रुपैयाँ प्रतिकिलोमा बिक्री गरिने उनले जानकारी दिए । तर, यो मलमा सरकारी अनुदान भने छैन । “सरकारले नै अनुदान दिएको छ रासायनिक मललाई । त्यही पनि ब्ल्याकमा लिएका छन् । मन्त्रालयले ११ अर्बजति बजेट रासायिनक मललाई दिँदा प्राङ्‍गारिकलाई भने जम्मा २० करोड छ । मानिसलाई छिटो चाहियो भनेर हो, दीर्घकालीन रुपमा जाने हो भने कृषकलाई पर्‍यो भने प्राङ्‍गारिक मल ठीक हो, तर यसले उत्पादनचाहिँ अलि कम दिन्छ,” उनले भने ।

 

तस्बिर सौजन्य : कुशल गुरुङ

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ २२, २०७७  १३:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro