site stats
बाह्रखरी :: Baahrakhari
विशेष
गरिबका लागि २५२ घर बने, ५३५ वटा निर्माणाधीन

दाङ । प्रदेश ५ का चार जिल्लामा गएको दुई वर्षमा प्रदेश सरकारबाट गरिबका लागि दुई सय ५२ वटा घर निर्माण भएका छन् ।

जनता आवास कार्यक्रमअन्तर्गत अहिले पनि थप ५३५ बढी घर निर्माणाधीन छन् । आर्थिक वर्ष ०७५/७६ मा जनता आवास कार्यक्रमअन्तर्गत प्रदेश ५ सरकारको भौतिक पूर्वाधार मन्त्रालयले साबिक राप्तीका दाङ, प्यूठान, रोल्पा र पूर्वी रुकुममा विपन्‍न परिवारका लागि २५२ वटा घर निर्माण गरेको सहरी विकास तथा भवन निर्माण कार्यालय दाङका निमित्त प्रमुख आनन्दकुमार देवले जानकारी दिएका छन् ।

Argakhachi Cement Island Ad

उनका अनुसार दाङमा १९२ वटा, प्युठानमा ३५ वटा, रोल्पामा २१ वटा र पूर्वी रुकुममा ५ वटा घर निर्माण गरिएको छ । बाँकी घर निर्माणका क्रममा रहेको उनको भनाइ छ । आर्थिक वर्ष ०७६/७७ मा छनोट भएका ५३५ घर निर्माणाधीन रहेको समेत उनले बताए । जसअन्तर्गत दाङमा २६७, रोल्पामा ११२, प्युठानमा ११० घर र पूर्वी रुकुममा ४६ घर निर्माण हुँदै छन् । निमित्त कार्यालय प्रमुख देवका अनुसार आर्थिक वर्ष ०७७/७८ मा जनता आवास कार्यक्रमअन्तर्गत चार जिल्लामा गरिब परिवारका लागि ६५ घर छनोट भएका छन् ।

विपन्‍न परिवारलाई आवासीय सुविधा दिने उद्देश्यले सरकारले गरिव परिवारको घर निर्माणको काम गर्दै आएको जनाएको छ । आफ्नो जग्गा भएका तर आर्थिक अभावका कारण घर निर्माण गर्न नसकेका दलित, विपन्‍न मुस्लिम, सीमान्तकृत, अल्पसंख्यकलगायत लक्षित समुदायका लागि घर निर्माण गर्दै आएको सहरी विकास तथा भवन निर्माण कार्यालय दाङका प्रमुख देवले बताए । घर निर्माणका लागि कार्यालयले प्रत्येक परिवारलाई चार किस्तामा तीन लाख ३६ हजार रुपैयाँ उपलब्ध गराउने गरेको छ ।

प्रकाशित मिति: सोमबार, भदौ २२, २०७७  १२:४४
प्रतिक्रिया दिनुहोस्