site stats
बाह्रखरी :: Baahrakhari
विशेष
दाङमा कोरोना परीक्षणको नतिजा किन यकिन हुँदैन ?

दाङ । दाङमा कोरोना परीक्षणको नतिजा के भएको हो भन्‍ने यकिन गर्न अहिले निकै सकस भएको छ । सम्बन्धित पालिकाबाट संकलित स्वाब परीक्षणका लागि पठाइएको स्वाबको नतिजा प्रकाशन गर्दै आएको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले अहिले केन्द्रमा नतिजा पठाउने गरेको छ । तर नतिजाबारे सम्बन्धित पालिकालाई समेत जानकारी नगराउँदा नतिजा के भएको हो भन्नेबारे यकिन गर्ने मुस्किल परेको हो ।

हिजो (मंगलबार) पनि यस्तै भयो । बाँकेको भेरी अस्पतालमा गरिएको स्वाब परीक्षणमा तुलसीपुरबाट पठाइएको स्वाबको नतिजा आउँदा ५ जनामा कोरोना पोजिटिभ देखियो । त्यसमा २५० जनाको स्वाब परीक्षण गर्दा राप्ती प्रादेशिक अस्पतालका चारजना र एकजना घोराहीका व्यक्तिमा कोरोना देखियो । तर अरुको नतिजा के भएको हो यकिन गर्नै मुस्किल पर्‍यो ।

Argakhachi Cement Island Ad

प्रतिष्ठानको कोरोना जाँच प्रयोगशालामा गरिएको स्वाबको नतिजा पत्ता लगाउन परीक्षणका लागि पठाएका पालिकाको स्वास्थ्य शाखा प्रमुखलाई सम्पर्क गर्दा कोही सम्पर्कमा आएनन् भने कोहीले यसबारे आफू नै अनभिज्ञ भएको जवाफ दिए । समयमै सही, तथ्य र विश्वसनीय सूचना प्रवाह गरेर समुदाय स्तरबाट संकलन गरिएका स्वाबको नतिजा दिएर कोरोना रोकथाम गर्न सहयोग गर्नुपर्नेमा ढिलो गरी दिएको सूचनाको कुनै अर्थ रहँदैन ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोनाको परीक्षण गर्ने र त्यसको नतिजा सम्बन्धित पालिका वा संस्थालाई नदिएर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा मात्रै नतिजा पठाउन सुरु गरिएपछि भएको अन्योलले सूचना संकलनमा पनि सञ्‍चारमाध्यमलाई समस्या थपिएको छ । यस सम्बन्धमा प्रतिष्ठानका रजिस्ट्रार रामप्रसाद प्याकुरेलले मन्त्रालयको निर्देशनबमोजिम काम गरिएको बताए । उनले केन्द्र सरकारले प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयलाई जानकारी गराउने र त्यहीँबाट कोरोनाको नतिजा थाहा हुने बताए ।

तर केन्द्रले प्रदेशलाई जानकारी गराउन समय लाग्ने हुँदा प्रदेश सरकारले दैनिक अध्यावधिकमा गरेको ढिलाइले समुदाय स्तरबाट संकलन गरिएका स्वाबको यकिन विवरण पाउन झन्झटिलो बनेको छ । रजिस्ट्रार प्याकुरेलले केन्द्रलाई पठाएको विवरणको जानकारी सम्बन्धित पालिका वा संस्थालाई दिन नमिल्ने समेत प्रस्ट पारेका छन् । गएराति अबेर मात्रै निकै प्रयासपछि यकिन गर्दा दाङमा हिजो १७ जनामा कोरोना संक्रमण भएको देखिएको छ । जसअनुसार प्रतिष्ठानमा गरिएको स्वाब परीक्षणमा १२ जना, भेरी अस्पताल बाँकेमा गरिएको स्वाब परीक्षणमा ५ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै जिल्लामा कोरोना संक्रमित संख्या १७ पुगेको हो ।

तर स्वास्थ्य कार्यालयले तुलसीपुरका ५ र घोराहीका १ जना गरी ६ जनालाई मात्रै कोरोना संक्रमण पुष्टि भएको भनी तथ्यांक अध्यावधिक गरेको छ । निकै प्रयासपछि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग लिएको स्वाबको जानकारी अनुसार घोराही १४ का २२ र ४६ वर्षीया महिला, ५२, ५९ र ६५ वर्षीय पुरुषमा, वडा नम्बर १५ का १५ वर्षीया एक महिला, यस्तै २१, ३०, ३३, ५० र ५६ वर्षीय पुरुषमा कोरोना देखिएको छ । यस्तै, वडा नम्बर १० का ३३ वर्षीय पुरुषमा कोरोना देखिएको छ । घोराही १४ मा कोरोना देखिएको ५ जना एकै परिवारमा सदस्य रहेको बताइएको छ ।

उता, राप्ती प्रादेशिक अस्पताल तुलसीपुरबाट संकलन गरिएको २५० जनाको स्वाब बाँकेको भेरी अस्पतालमा गरिएको परीक्षणमा ५ जनामा कोरोना संक्रमण देखिएको छ । संक्रमित हुनेमा प्रादेशिक अस्पतालमा कार्यरत स्टाफ नर्स, एकजना सवारी चालक, कन्ट्याक ट्रेसिङका आधारमा गरिएको स्वाब परीक्षणमा तीनजनामा कोरोना देखिएको हो । जसअनुसार तुलसीपुर ५ की ३९ वर्षीया स्टाफ नर्स, सोही वडाकै ३४ वर्षीय सवारी चालक छन् । कन्ट्याक ट्रेसिङका आधारमा गरिएको स्वाब परीक्षणमा कोरोना संक्रमति हुनेमा समुदाय स्तरका तुलसीपुर ५ का २४ र ४० वर्षीया महिला छन् ।

यस्तै, बिरामी कुरुवा घोराही १ की ४२ वर्षीया महिलामा पनि कोरोना देखिएको छ । यसरी हेर्दा जिल्लामा कोरोना संक्रमित संख्या ८०१ पुगेको छ । तीमध्ये ६९८ जना निको भई घर फर्किइसकेका छन् । सक्रिय संक्रमितको विभिन्‍न आइसोलेसनमा उपचार भइरहेको छ ।

प्रकाशित मिति: बुधबार, भदौ १७, २०७७  १४:२४
प्रतिक्रिया दिनुहोस्