काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण नेपाली खेलकुद क्षेत्र ठप्प छ । लामो समयसम्म नेपाली खेलकुद क्षेत्रमा खेलकुद गतिविधि हनु सकेका छैनन् । खेलकुद गतिविधि ठप्प हुँदा खेलाडीहरुलाई आफ्नो खेलको लय गुम्छ की भन्ने चिन्ता छ ।
पछिल्लो समय केही दिन नेपलमा खेलकुद प्रशिक्षणहरु भएपनि पुनः ठप्प भए । कोरोना महामारीकाबीच हाल खेलाडीलाई आफ्नो स्वास्थ्यको पनि चिन्ता छ । लामो समयको लकडाउन अनि समुदायमा फैलिएको कोरोनाको महामारीले गर्दा उनीहरु जोखिममा रहेको महसुस गर्न थालेका छन् ।
भर्खरै मात्र विभागीय टोली एपीएफका ३९ जना खेलाडीलाई कोरोना संक्रमण भयो । एपीएफले कोरोनाको महामारीकाबीचमा ८२ जना खेलाडीलाई तराई भेगमा सीमा सुरक्षाका लागि खटाएको थियो । त्यहाँबाट आएका खेलाडीहरुमा तीन जना फुटबलका र चार जना भलिबलका लागि जम्मा ३९ जनामा कोरोनाको संक्रमण देखियो ।
खेलाडीमा कोरोनाको संक्रमण देखिएपछि खेलाडी आफ्नो खेलको लय गुम्ने चिन्ताभन्दा पनि कोरोनाको चिन्ताले पिरोलिरहेको छ । एपीएफका एक जना अधिकारीले खेलाडीहरु हाल सबैको माग कोरोना परिक्षण गरि दिन भन्ने भएको बताए ।
“हामीले कोरोनाको महामारीलाई नियन्त्रणका लागि खेलाडीहरुलाई सीमा सुरक्षाका लागि पठाएका थियौं । कुल ८२ जना खेलाडीमध्ये ३९ जना खेलाडीमा कोरोना संक्रमण देखियो । यस्तो अवस्थामा सबै खेलाडीको माग कोरोना परिक्षण गरि दिन भन्नेछ । हामीले अब सबै खेलाडीको कोरोना परिक्षण गर्ने योजना बनाएका छौं,” उनले भने ।
यता अखिल नेपाल फुटबल संघ एन्फाले पनि खेलाडीहरुको कोरोना परीक्षण गरायो । विश्वकप छनोट खेलको तयरी गरिरहेका खेलाडीहरुको कोरोना परिक्षण गर्दा एक जना खेलाडीमा कोरोना पुष्टि भयो । खेलाडीको कोरोना परिक्षणलाई एन्फाले सराहनिय कार्यका रुपमा लियो ।
त्यस्तै हाल अन्य खेलका खेलाडीहरु पनि कोरोनाको जोखिममा रहेको खेलकुद क्षेत्रमा कार्यरत स्वास्थ्य विज्ञहरु बताउँछन् । नेपाली राष्ट्रिय क्रिकेट टोलीका फिजियो बिक्रम न्यौपानेले यस्तो अवस्थामा धेरै खेलाडीहरु जोखिममा रहेकोले छिटैनै कोरोना परिक्षण गर्दा सहज हुने बताएका छन् ।
“खेलाडीहरु पनि हाल कोरोनाको उच्च जोखिममा छन् । यस्तो अवस्थामा खेलाडीको पीसीआर परीक्षण गर्न जरुरी छ । यो कामका लागि संघको दायित्व त छँदैछ यसमा संघीय सरकारको पहलमा नै सबै खेलाडीको कोरोना परिक्षण गर्दा सहज हुन्छ,” न्यौपानेले बाह्रखरीसँगको कुराकानिमा भने ।
उनले थपे, “क्रिकेट क्षेत्रका खेलाडी मात्र होइन् सबे क्षेत्रका खेलाडीहरु कोरोनाको जोखिममा छन् । लकडाउन अवधिभर सबै खेलाडी घरमा बसेका छैनन् । सबै खेलका खेलाडीहरुको कोरोना परिक्षण गर्दा खेलाडीलाई कोरोनाको जोखिमबाट टाडा राख्न सहज हुने थियो ।,”
हाल नेपालमा फुटबलबाहेकका कुनै पनि खेल क्षेत्रका खेलाडीहरुको पीसीआर परिक्षण भएको छैन । खेलाडीहरु लकडाउन यता घरमै छन भन्नु पनि गलत हो । कतिपय खेलाडी पारिवारीक वा अन्य कामकाजले घर बाहिर पनि निस्केका छन् । प्रशिक्षण सुरुआत हुनु पूर्व मात्र खेलाडीको कोरोना परिक्षण गर्ने खेल क्षेत्रका हस्तीहरुको योजना छ । जसका कारण खेलाडी कोरोनाका उच्च जोखिममा छन् ।
अझ भनौं नेपाली खेलकुद क्षेत्रमा खेलाडीको कोरोना बिमा भर्खरै मात्र हुन थालेको छ । नेपाल क्रिकेट एसोसियसन (क्यान) ले भर्खरै मात्र राष्ट्रिय क्रिकेट टोलीका खेलाडीहरुको कोरोना बिमा गर्यो । क्यानका सचिव असोक नाथ प्याकुरेलले कोरोनाको महामारीलाई ध्यानमा राख्दै खेलाडीको कोरोना बिमा गरिएको र चाडै नै कोरोना परिक्षण पनि गरिने बाह्रखरीलाई बताए ।
यता नेपाल तेक्वान्दो एसोसियसनले पनि खेलाडीको कोरोना बिमा गरि रहेको छ । खेलाडीको कोरोना बिमासँगै पीसीआर परिक्षण गर्ने संघका तयारी रहेको छ । नेपाली फुटबल तथा भलिबल खेलाडीको कोरोना बिमा पनि भई सकेको छ । तर, भलिबल खेलाडीको कोरोना बिमा भने हुन सकेको छैन ।