
काठमाडौं । इलिमिनेटरमा एफसी चितवनविरुद्ध ३–० को जित निकाल्दै पोखरा थन्डर्सले नेपाल सुपर लिग–२०२५ को दोस्रो क्वालिफायरमा स्थान बनाएको छ ।
आइतबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा पोखराले चितवनविरुद्ध ३–० को सहज जित निकालेको हो । पोखराले तीनै गोल दोस्रो हाफमा गरेको हो ।
६४औँ मिनेटमा पोखराले आत्मघाती गोल उपहार पाएपछि अग्रता बनाएको थियो । पोखराका स्ट्राइकर स्टेफन बिनोङको प्रहार रिबाउन्ड आउँदा समीर लामाले दिएको क्रस चितवनका अभिषेक लिम्बूको खुट्टामा लागेर गोल भएको थियो ।
७२औँ मिनेटमा पोखराका जोइ आइडुले टोलीको अग्रतालाई दोब्बर बनाए । जन्मजय धामीले दिएको पासमा उनले करिब २४ यार्ड सुन्दर ढंगबाट बललाई जाली चुमाए । उनको प्रहार जोनाथन क्यामपबेलबाट डिफ्लेक्ट हुँदै गोल भएको थियो ।
७६औँ मिनेटमा आइडुकै गोलमा पोखराले अग्रतालाई ३–० मा पुर्यायो । चन्दनकुमार दासले १८ यार्ड बक्सको दायाँतर्फबाट निकालेको पासमा आइडुले पहिलो प्रहारमै गोल गरे ।
त्यसअघि पहिलो र दोस्रो हाफमा पनि दुवै टिमले गोल अवसर बनाएका थिए । तर, त्यसलाई सदुपयोग भने गर्न सकेनन् । छैटौँ मिनेटमा पोखराका कप्तान आयुष घलानको पासमा आइडुले गरेको प्रहार चितवनका गोलकिपर अमल नाइटले सजिलै बिफल बनाएदिए ।
११औँ मिनेटमा आयुष घलानको पासमा करिब २२ यार्डबाट आइडुले गरेको प्रहार पुनः पोष्टको बायाँतर्फको नजिकैबाट बाहिरियो । २४औँ मिनेटमा चितवनका सुमित श्रेष्ठले पाएको बललाई सही दिशा दिन सकेनन् । जोनाथन क्याम्बेलको क्रसमा प्राप्त अवसरलाई गोलमा परिणत गर्न खोज्दा बायाँतर्फबाट बाहिरियो ।
२८औँ मिनेटमा पोखराका गोलकिपर प्रिसोले चितवनका भिक्टोर मन्सारेको प्रहार सअजै नियन्त्रणमा लिए । ३०औँ मिनेटमा चितवनका छिरिङ गुरुङको पासमा नीरज चौधरीले प्रहार गरेको फितलो ओभरहेड किक प्रिसोले सहजै नियन्त्रणमा लिए ।
जितसँगै दोस्रो क्वालिफायरमा स्थान बनाएको पोखराले अब फाइनल प्रवेशका निम्ति धनगढी एफसीसँग प्रतिस्पर्धा गर्नेछ । यी दुई टिमबीचको खेल वैशाख १० गते हुनेछ । यसअघि धनगढी पहिलो क्वालिफायरमा साविक विजेता समेत रहेको ललितपुर सिटी एफसीसँग २–१ ले पराजित भएको थियो ।