काठमाडौं । काठमाडौं उपत्यकामा गएराति १२ बजेबाट जारी निषेधाज्ञा कडाइका साथ पालना गराउन प्रहरीलगायत अन्य सुरक्षा संयन्त्र सक्रिय भएका छन् । उपत्यकामा कोरोना जोखिम बढ्दै गएपछि उपत्यकाको तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा अधिकारीको वैठकले निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।
गएरातिबाट १० गते रातिसम्मका लागि अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा बन्द गरिएको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी श्यामलाल ज्ञवालीले अत्यावश्यक कामबाहेक घरबाट बाहिर नजान आग्रह गर्दै अटेरी गर्नेलाई नियन्त्रणमा लिएर कारवाही गरिने बताए । बिहानैदेखि प्रहरीले विभिन्न स्थानमा निषेधाज्ञा मिच्नेहरुलाई नियन्त्रणमा लिएर सडकमै होल्ड गरेर राखेको छ । निषेधाज्ञा जारी भए पनि अस्पतालमा जाने बिरामी,मालवाहक ढुवानीका सवारी साधन तथा विद्युत्, दूरसञ्चार, भन्सार, क्वारेन्टाइन, आइसोलेसन, फोहोर व्यवस्थापन, मृत्यु संस्कारका लागि हिँडेका सवारी साधन, स्वास्थ्यकर्मी र सुरक्षाकर्मी लगातयका सवारीमा भने रोक लगाइएको छैन ।
एसएसपी ज्ञवालीले भने, “निषेधाज्ञा नागरिककै स्वास्थ्य जोखिमलाई मध्यनजर गरेर गरिएको हो । कोरोनाविरुद्धको लडाई साझा लडाई हो । त्यसैले निषेधाज्ञा मिच्नुलाई बहादुरी नसम्झौं । घरमै बसौं सुरक्षित रहौं ।” उनले अत्यावश्यक काममा प्रहरीले समेत आवश्यक समन्वय गरिरहेको बताए ।