देश
काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले सञ्चालन गरेको ‘अपरेसन क्वाक’का क्रममा फेरि २ जना डाक्टर पक्राउ परेका छन् । नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा डाक्टर बनेकाहरूको खोजी गर्न सीआईबीले ‘अपरेसनन क्वाक’ सञ्चालन गरिरहेको छ ।
यसरी नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी डाक्टर बनेका ५६ जना पक्राउ परिसकेका छन् । ब्युरोले आइतबार पक्राउ परेका २ जना नक्कली डाक्टरलाई सोमबार सार्वजनिक गरेको छ ।
मिहार्ड अस्पताल लगनखेलमा कार्यरत फर्जाना सविया र शिवपुरी डेन्टल क्लिनिक महाराजगन्जमा कार्यरत किशोर गुरुङलाई पक्राउ गरी कारबाही अघि बढाइएको सीआईबीका प्रमुख डीआईजी नवराज सिलवालले बताए ।
पक्राउ परेका दुवैले नेपाल मेडिकल काउन्सिलबाट दर्ता प्रमाणपत्र लिएर काम थालेका थिए ।
पक्राउ परेका सवियाको नेपाल मेडिकल काउन्सिल दर्ता प्रमाणपत्र नम्बर ९६३६ र गुरुङको ७४७९ रहेको ब्युरोले जनाएको छ ।
“स्वास्थ्य क्षेत्रमा हुने गरेका गैरकानुनी काम र गुणस्तरहिन स्वास्थ्य सेवालाई सुधार गर्न सीआईबीले नेपाल मेडिकल काउन्सिल र उच्च माध्यमिक शिक्षा परिषद्को सहयोगमा ‘अपरेसन क्वाक’ थालेको हो,” डीआईजी सिलवालले बाह्रखरीसँग भने, “यो अपरेसनले स्वास्थ्य क्षेत्रमा सबै अनियमितता अन्त्य गर्छ ।” नक्कली डाक्टरका कारण सबै डाक्टरको बदनामी भएकाले नक्कली कारबाहीमा परेपछि सक्कलीलाई सहज हुने सिलवालको भनाइ छ ।
सीआईबीले नक्कली शैक्षिक योग्यताका आधारमा डाक्टर बनेको आशंकामा १५ सय डाक्टरको फाइल पल्टाएर अनुसन्धान थालेको छ । सबै नक्कली डाक्टर पक्राउ नपरेसम्म ब्युरोको ‘अपरेसन क्वाक’ नरोकिने डीआईजी सिलवालले बताए ।
यसअघि पक्राउ परेका नक्कली डाक्टरको मुद्दा फैसला नभएसम्म काममा फर्कन नमिल्ने भन्दै ब्युरोले उनीहरूको निगरानी बढाएको उनले जानकारी दिए । “अदालतमा मुद्दा विचाराधीन भएका केही डाक्टर काममा फर्किएको खबर हामीले पाएका थियौं । अनुसन्धान गर्दा उनीहरूको लगानी भएका अस्पतालमा प्रशासनिक काममा लागेको भेटिएको छ,” उनले थपे, “बिरामी जाँचेको भेटिए कारबाही हुन्छ ।”
प्रकाशित मिति: मंगलबार, साउन २५, २०७३ ०७:४१
प्रतिक्रिया दिनुहोस्