काठमाडौं । सिन्धुपाल्चोकको जुगल गाउँपालिका २, लिदीका ङेमा छिरिङ दोङ भर्खरै ब्युँझेका मात्रै थिए ।
मध्यझरीमा घरपर्तिर खडा गरेको टहरामा रात बिताउँदै आएको थिए । दुई-चार दिन उघ्रिएजस्तो भएपछि उनी घरमै सुत्न थालेका थिए । टहराबाट घरमा फर्किएको दुई-तीनदिन मात्रै भएको थियो ।
चारैतिरबाट पहिरोले घेरेको गाउँको हालत देख्नेहरूले टहरामै सुत्न भनेका थिए । तर, वयोवृद्ध आमालाई टहरामा सुत्दा आइपर्ने कठिनाइले घरमै हुत्याएको थियो, उनलाई । शुक्रबार बाह्रखरीसँगको कुराकानीमा ङेमाले बिलौना गरे, “टहरामा पानी ओतिँदैन । लामखुट्टेले पिरोल्छ । पानी पनि बिस्तारै कम हुँदै गएकाले घरमै सुतेको थिएँ ।”
हिजो राति ठूलो दर्के झरी परेकाले आजबाट चाहिँ टहरामै फर्कने निधो गरेका थिए, उनले ।
विपत्तिले पर्खिएन । ङेमा उठेका मात्रै थिए । अन्दाजी ६:३० मात्रै भएको हुँदो हो । ठूलो आवाज आयो । जमिन थरथरी काम्न थाल्यो । घर ९ रेक्टरको भुइँचालो आएजसरी हल्लिएको महसुस भयो ।
डाँडै बगेको आभास हुन थालेपछि उनी ज्यान जोगाउन कता भागेछन् । भाग्ने मेसोमा श्रीमती, आमा र छोरी कता छुटे उनलाई पत्तै भएन । “पहिरोले छोपिसकेपछि पो होस् भयो हजुर आमा वाङ्ची लामा दोङ, श्रीमती धनमाया तामाङ दोङ र छोरा रेनिस दोङ घरभित्रै छोपिएछन् । पहिरो रोकिएपछि उधिन्न खोजेँ, पहाडै आएर छोपिएको छ, कसरी सक्नु ?,” भावुक हुँदै उनले सुनाए ।
ङेमासँग आफ्नो भन्नु अब एउटी छोरी मात्रै छिन् । गाउँ पहिराले छोप्यो भन्ने सुनेपछि धुलिखेलमा रहेकी उनले तारन्तार फोन गरिरहेकी छिन् । पहिरोभित्र छोपिएको हो, आमा भेटिन्छिन् भन्दै टारिरहेका छन्, ङेमाले ।
पहिरोका प्रत्यक्षदर्शी भन्छन्- दुई मिनेटमै सर्वनाश
आँखाअगाडि पहिराले पुरेका ठाउँबाट फुत्तफुत्त शव निकाल्दै गरेकाले जीवितै भेटिने सम्भावना न्यूनप्रायः छ । तै पनि उनले आश मारिसकेका छैनन् । लास नभेटिउञ्जेल सासकै आश गरेर बसेका छन् उनी ।
“यो सबै बलेफी जलविद्युत् आयोजनाकै कारण हो सर । पहिरो गएको खबर सुनेपछि गाउँ आउनेको ताँती लागेको छ । हिजो हामीले गाउँ सार्देओ भनेर जिल्लामा गएर रोइकराइ गर्यौं । एकदिन लगाएर चौतारा धाएर बिन्ती गर्यौं । कसैले सुनेन,” उनी बिलौना गर्छन् ।
पहिरोले गावैँ निलेपछि सभामुख अग्निप्रसाद सापकोटासहितको टोली घटनास्थल पुगेको छ । जिल्लाको विपत् व्यवस्थापनको टोली लिदीमै खटिएको छ । तर, यो चासो तीन दिनअघि मात्रै लागेको भए पहिरोले गाउँ नसोर्ने र ३८ जनाको ज्यान पहिराले सोत्तर नपार्ने उनी भन्छन् ।
१५ दिनअघि नै भासिएको थियो जमिन, बिहान वस्तुभाउ स्याहार्न जाँदा पहिरोले छोप्यो
“पहिरोको पीडा के हो ? तीन-तीनजना आफन्त गुमाएको मलाई थाहा छ हजुर । म आफैं पनि जिल्ला धाएको छु । पहिरोमुनि बस्नु हुँदैन । हामीलाई ठाउँ खोजेर सारिदेओ भनेको छु । गाउँलेले पनि धेरै दुःख गरेका छन् । तर, हामीले भनेको कसैले सुनेनन् । अहिले पहिरो गएर भनेर सहानुभूति देखाएर हुन्छ र ?” ३६ वर्षीय ङेमाले बाह्रखरीसँग भने ।