site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ओली–दाहाल संवादमा ‘कोभिड संक्रमण’, खनाल भन्छन्– बालुवाटार–खुमलटार कतै अछुतो छैन 

काठमाडौं । गत साउन २१ गते नेकपाका चारजना नेता, पार्टी अध्यक्षद्वय केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल र संसदीय दलका उपनेता सुवास नेम्वाङबीच वार्ताको समय तय भएको थियो ।

साँझ ५ बजेदेखि ४ जना वार्तामा बस्ने र निकास निकाल्ने समझदारी भएको थियो । अध्यक्षद्वयको वार्ताको ओलीका तर्फबाट सहजीकरण गरिरहेका नेम्वाङका अनुसार अघिल्लो दिनको वार्ता तिक्ततापूर्ण बनेपछि त्यसदिनको संवादमा गुलियोपना देखा पर्ने र गतिरोधले निकास पाउने पूर्वसङ्केत देखा परेका थिए । पार्टी अध्यक्ष ओलीमा लचिलोपना पनि देखिएको थियो ।

तर, घटनाले अर्कै मोड दियो । पार्टी अध्यक्ष पुष्पकमल दाहाल, वार्तामा सहजीकरण गरिरहेका वरिष्ठ नेता खनाल, माधवकुमार नेपाल, पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रेसिडेन्सियल कलेजमा जम्मा भएर ओलीलाई रूपान्तरण गर्ने कोसिस व्यर्थ रहेको प्रेस ब्रिफिङ गरेपछि स्थिति भाँडियो ।

बुधबारको परिघटनापछि संवादको सिलसिला जोडिन सकेको छैन । वरिष्ठ नेता झलनाथ खनाल नेकपाको गतिरोधमा कोभिड–१९ को संक्रमण थपिएको बताउँछन् ।

“कोरोनाको कहर बढेर आयो । कोभिड–१९ को संक्रमणले थप महामारीको रूप लिएपछि भेटवार्ता हुन सकेका छैनन्,” बाह्रखरीसँग कुरा गर्दै नेता खनालले भने, “कहाँ वार्ता गर्ने ? बालुवाटार पनि मुक्त छैन । खुमलटार पनि मुक्त छैन । सबैतिर कोरोना कहर देखा पर्न थालेको छ । तसर्थ अझै केही समयसम्म वार्ता होलाजस्तो लाग्दैन ।”

दुवै पक्ष सहमतिमा आउन कोसिस गर्नुपर्छ

दुई अध्यक्षको वार्ताको पछिल्लो साक्षी बनिरहेका नेता खनाल  दुवै पक्षलाई लचिलो हुन आग्रह पनि गर्छन् । “यो आन्तरिक पार्टी सङ्घर्ष हो । कम्युनिस्ट आन्दोलनमा यस्ता प्रकृतिका सङ्घर्षले पार्टी रूपान्तरणमा महत्त्वपूर्ण भूमिका खेलेका छन्,” उनी भन्छन् ।

अहिलेसम्म दुवै पक्षले लचिलो हुने कोसिस नगरेको र गरे पनि त्यति सफल नभएको सन्दर्भ उल्लेख गर्दै नेता खनालले दुवै पक्ष साझा सहमतिको विन्दुमा आइपुग्नुपर्ने तर्क गर्छन् ।

“दुवै पक्ष साझा र सवैलाई मान्य हुने सहमतिको विन्दुमा आउनुको कुनै विकल्प छैन,” उनी आफ्नो तर्कमा उभिन्छन् । खनालले पार्टी एकतालाई बचाउन आफ्नो भूमिकालाई बढाउने बताउँछन् । कोरोनाको कहरकाबीच पनि विभिन्न माध्यमबाट संवाद, छलफललाई निरन्तरता दिइरहेको उनको भनाइ छ ।

“म मेरो भूमिका (सहमतिका लागि मध्यस्थता) बढाउँदै छ । कसरी पार्टीलाई एकताबद्ध पनि बनाइराख्ने र पार्टीलाई रूपान्तरण र सुदृढीकरण पनि गर्न मेरो पहल हुनेछ । अहिलेको आवश्यकता पार्टीलाई सिद्धान्त र कार्यदिशाका हिसाबले रूपान्तरण पनि गर्नुपर्ने छ, सँगै पार्टी एकताको सुदृढीकरण पनि गर्नुपर्नेछ,” खनाल भन्छन् ।

अहिलेको समस्याको मूल जड भनेकै अराजकता र दिशाहीनता भएकाले यसको रूपान्तरण नै मुख्य आवश्यकता भएको उनको ठहर छ ।  “पार्टीले दिशा नलिँदासम्म समाजवादको आधार तयार हुँदैन । राजनीतिक, वैचारिक कार्यदिशा तयार नहुँदासम्म पार्टी र सरकारको काम पनि प्रभावकारी हुँदैन,” उनी भन्छन्, “सङ्गठनात्मक दिशा दिन सकिएन भने कम्युनिस्ट पार्टी अराजकतामा परिणत हुन्छ ।”

पार्टी र नेतृत्वको रूपान्तरण नै अहिलेको मूल प्रश्न भएकाले रूपान्तरण हुन नसक्नेहरू छेऊ लाग्न बाध्य हुने उनको निष्कर्ष छ । कोरोनाको कहर न्यूनीकरण हुनेबित्तिकै पार्टीभित्रको बहस यता केन्द्रित हुने उनी बताउँछन् । यता ओलीनिकट एक नेता भने प्रचण्ड–खनाल–नेपाल समूहको साउन २१ गतेको भेला प्रत्युत्पादक बनेको दाबी गर्छन् ।

“अहिले दुई अध्यक्षबीच भेटघाट, वार्ता, संवाद शून्य छ । तर अनौपचारिक तहबाट छलफलचाहिँ भइरहेको छ,” ओली समूहका एकजना प्रभावशाली नेता ठट्टा गर्दै भन्छन्, “गत बुधबारको भेलापछि बाहिर मिसाइलहरू पड्किएको सुनेका छैनौं ।”

त्यो बीचमा प्रचण्डसमूहले सम्पादकहरूलाई बोलाएर छलफल गर्न खोजेको ओलीसमूहको दाबी छ । 

“त्यो बीचमा उहाँहरूले सम्पादकसँग छलफल गर्न खोजेको थाहा पाएपछि हामीले नै आपत्ति जनायौं,” ती नेताले दाबी गर्दै भने, “मैले नै प्रचण्डलाई फोन गरेर रोक्न भनेँ ।” उनले दुई अध्यक्षलाई सहमतिमा ल्याउन सकारात्मक प्रयास भइरहेको भन्दै परिस्थिति सङ्लिइनसकेको बताए ।
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, साउन २७, २०७७  १८:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro