
जनकपुर । प्रदेश २ को पर्सामा शुक्रबारमात्रै ४३ जना संक्रमित थपिएका छन् भने पछिल्लो २४ घण्टाभित्र पाँच जनाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
बिहीबार अपरान्ह ४ बजेदेखि शुक्रबार अपरान्ह ४ बजेसम्मको अवधिमा प्रदेश २ मा थप ५० जनामा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय झाले प्रेस विज्ञप्तीमार्फत जानकारी दिएका छन् । यो अवधिमा पर्सा जिल्लाकै पाँच जना पुरुषको समेत मृत्यु भएको विज्ञप्तीमा उल्लेख छ ।
पर्सा जिल्लाका विभिन्न स्थानीय तह घर भएका ६८ वर्षीय, ७० वर्षीय, ३५ वर्षीय, ६५ वर्षीय र ५६ वर्षीय पुरुषको मृत्यु भएको झाले बाह्रखरीलाई जानकारी दिए । उनीहरु सबैलाई कोरोना संक्रमण भएको थियो । पर्साका १० जनासमेत प्रदेश २ का १७ जना कोरोना संक्रमितको मृत्यु भइसकेको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा पर्साको नारायणी अस्पतालमा तीन जना महिलासमेत पाँच जना, वीरगंज महानगरपालिकाका वडा नम्बर १ देखि १५ सम्मका ३५ जना र पोखरिया नगरपालिका, धोविनी नगरपालिका तथा बहुदरमाई नगरपालिकाका एक–एक जनागरी ४३ जनालाई संक्रमण भएको मन्त्रालयले पुष्टि गरेको छ ।
बारामा तीन जना, सप्तरीमा ९ जना र रौतहट, सर्लाही एवं धनुषाका एक–एक जना गरी प्रदेशमा जम्मा ५८ जनामा कोरोना संक्रमण भएको मन्त्रालयले पुष्टि गरेको हो ।