site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भदौ दोस्रो साता सम्भव छैन परीक्षा 

काठमाडौं । काठमाडौं कपनका राजु परियार व्यवस्थापन संकायअन्तर्गत बीबीएस तेस्रो वर्षको परीक्षा दिँदै छन् । कोभिड १९ को विश्वव्यापी महामारीसँगै उनी अध्ययनरत ब्रिलियन्ट मल्टिपल क्याम्पस १२ चैतबाटै बन्द भयो । अचानक हुन लागेको परीक्षाले उनी अलमलमा परेका छन् । भन्छन्, “टेन्सन त छ, कोर्स पनि सबै सकिएको छैन । यसपालि गणितका दुईवटा विषय छन्, गर्न सके राम्रो नतिजा आउँथ्योे ।” 

परियार मात्र होइन त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले भदौको दोस्रो र तेस्रो साताबाट व्यवस्थापन संकायको स्नातकोत्तर र स्नातकको परीक्षा लिन ९ साउनमा सूचना निकालेसँगै विद्यार्थी, क्याम्पस र सरोकारवाला निकाय अलमलमा परेका छन् । ११ चैतबाट लकडाउन सुरु भएलगत्तै अधिकांश विद्यार्थी घर गएका छन् । चार महिनादेखि पठनपाठन ठप्प छ । केही सीमित निजी क्याम्पसले अनलाइन कक्षा सञ्चालन गरे पनि विद्यार्थीहरू अहिले नै परीक्षा दिन सक्ने मनस्थितिमा छैनन् । कति क्याम्पसहरूले कोर्स सकेका पनि छैनन् । सूचनामा भदौ १ देखि लामो दूरीका सवारीसाधन चल्ने भएकाले विद्यार्थी सजिलै परीक्षा हलसम्म पुग्न सक्ने बताए बताइएको छ । यद्यपि सोचेजस्तो सजिलो पनि छैन । मुख्य राजमार्गहरू असार–साउनको वर्षाले प्रभावित छन् । ठाउँ–ठाउँमा सडक बगाएको र पहिरो गएको अवस्था छ । 

सरकारले कोरोना बिरामीको संख्या न्यून रहेको दाबी गरे पनि पछिल्लो समय प्रहरी मुख्यालयमा बसेका प्रहरीमै कोरोना भेटिन थालेपछि समुदायस्तरमै फैलिसकेको विज्ञहरूको दाबी छ । सरकारले मास टेस्टिङ गर्ने बताइसकेको छ । तराईका जिल्लाहरू बाढी र कोरोनाबाट उत्तिकै पीडित छन् । यस्तो परिस्थितिमा परीक्षा गराउन सम्भव होला ?

सहायक डिन प्राडा धु्रुवचन्द्र गौतम भन्छन्, “शैक्षिक अन्योलको स्थिति चिर्दै परीक्षा लिने भनेर सूचना मात्र निकालेका हौँ, परीक्षाको तालिका निकालेका छैनौं ।”

उनका अनुसार परीक्षा लिनु विश्वविद्यालयको दायित्वभित्र पर्छ । “एक पक्ष परीक्षा सार्न चाहन्छन् भने अर्को पक्ष कहिलेसम्म अनिर्णयको बन्दी भएर बस्नुपर्ने ? भन्दै प्रश्न गरिहेका छन्,” गौतमले भने, “कोरोना कहिले अन्त्य हुन्छ कसैलाई थाहा छैन । सधैं परीक्षा सारेर त भएन, केही निर्णय गर्नै पर्यो । भनेकै समयमा परीक्षा हुन्छ भन्ने होइन । फेरि अवस्था सहज नभए अर्को निर्णय गर्छौँ ।”

तर भदौमा परीक्षा गर्न क्याम्पस, सिट संख्या, परीक्षा निरीक्षक र कोरोनाबाट बच्न चाहिने सम्पूर्ण उपकरण त्रिविले यति छोटो अवधिमा जम्मा गर्न सक्ला त ? सहायक डिन गौतमका अनुसार त्रिविले क्याम्पसमा हेल्थडेस्क राख्नेदेखि धेरैभन्दा धेरै सेन्टर राखेर परीक्षा लिने बताए । सहायक डिन गौतमले त्रिविले सक्छ भने  पनि त्यसमा ढुक्क हुन नसकेको विज्ञ र विद्यार्थी संगठनहरू बताउँछन् । १० साउनमै नेपाल विद्यार्थी संघ (नेविसंघ) ले विज्ञप्ति जारी गर्दै बाढी पहिरो र कोरोनाका कारण परीक्षाको कार्यतालिका फेर्न माग गरिसकेको छ । संघका महामन्त्री युवराज पाण्डे त्रिविले सुरक्षा व्यवस्थासहित भदौको दोस्रो सातामै परीक्षा गराउन सम्भव नभएको औँल्याए । भन्छन्, “विद्यार्थीको मनोविज्ञानको ख्यालै नराखी हचुवाका भरमा निर्णय गरेजस्तो भयो । कुनै तयारीविना परीक्षा गर्छु भनेर हुँदैन । भोलि हुलका हुल विद्यार्थी परीक्षा हलमा आए भने उनीहरूको स्वास्थ्यको जिम्मेवारी कसले लिने ?” नेविसंघले भदौ अन्तिम या असोजको पहिलो सातादेखि परीक्षा लिए विद्यार्थीले पढ्न पनि पाउने, कोर्स नसकेकाले कोर्स सकाउने, बाढी–पहिरोको कम जोखिम र परीक्षा हल व्यवस्थित गर्न सकिने दाबी गरेको छ ।

कुरा यत्तिमा मात्र सीमित छैन । पर्सा, सुनसरी महोत्तरी, धनुषा, झापालगायत भारतसँग सीमा जोडिएका जिल्लामा कोरोना बिरामीको संख्या अझै बढिरहेको छ । जिल्लाबाट आउने विद्यार्थीले कोरोना नेगेटिभ भएको पीसीआर रिपोर्ट पनि साथै लिएर आउनुपर्ने बाध्यता छ । कोरोना परीक्षण गर्दा पाँच हजारसम्म लाग्छ । परियार भन्छन्, “मेरा कति साथी गाउँ गएका छन् । उनीहरूले त्यत्रो पैसा कहाँबाट ल्याउने ? रिपोर्ट नलिई आए टोलमा राख्दैनन् । चार महिना नपढाए पनि कलेजले शुल्क लिइहाल्छ, नत्र प्रवेशपत्र पाइँदैन ।” 

तर सहायक डिन गौतम सबै कुरा त्रिविले मात्र ठेक्का लिन नसक्ने बताउँछन् । भन्छन्, “कोरोना रिपोर्ट लिनुपर्ने भन्ने सुनेको हो । अब सबै निकाय जिम्मेवार हुनुपर्छ, परीक्षा समयमै गराउन ।”

त्रिविको मात्रै होइन पूर्वाञ्चल विश्वविद्यालयको अवस्था पनि उस्तै छ । लामो समयदेखि उपकुलपति, रजिस्ट्रार र परीक्षा नियन्त्रकलगायत पदाधिकारीविहीन भएको पूर्वाञ्चल विश्वविद्यालयले पदाधिकारी नियुक्तिसँगै परीक्षा तालिका सार्वजनिक गर्ने १२ साउनमा सूचना जारी गरेको छ । भदौको अन्त्यतिरबाट सुरु गरी दसैँअगाडि परीक्षा सकाउने सूचनामा उल्लेख छ । 

पूर्वाञ्चल विश्वविद्यालयमा सम्बन्धन प्राप्त कलेजका केही विद्यार्थीले परीक्षा सार्न माग गरिरहेका छन् । सिटिजन कलेजमा बीबीएमा अध्ययनरत केही विद्यार्थीले प्रशासनमा निवेदनै दिएर परीक्षा केही समय पछि गर्न आग्रह गरेका छन् । सबै विद्यार्थी काठमाडौं आएपछि मात्र परीक्षा सञ्चालन गर्न अनुरोध गरेको बीबीए पाँचौं सेमेस्टरमा अध्ययनरत वज्रबाराहीकी पूजा थापाले बताइन् । भन्छिन्, “मेरै कक्षाका कति साथीहरू कोरोनाको डरले हतारमा कापी–किताब यहीं छाडेर गाउँ गए । कतिको गाउँ त यति विकट छ, बत्तीसमेत छैन रे । उनीहरूले फोन गरेर अहिले परीक्षा दिन सक्दैनौं भनेर गुनासो पोखिरहन्छन् । परीक्षा सार्न सहयोग गर भनिरहेका छन् । हामी मात्रै स्वार्थी भएर परीक्षा दिन त मिलेन नि !”

थापासहित करिब ६० विद्यार्थीले परीक्षा मिति सार्न प्रशासनलाई अनुरोध गरेका छन् । सिटिजन कलेजका कार्यक्रम संयोजक मुस्कान खनालले अन्तर्राष्ट्रिय प्रणालीअनुसार कलेजले इमेलबाट प्रश्न पठाएर तीन घण्टाभित्र लेखी फोटो खिचेर इमेलबाटै उत्तर पठाउने ओपन बुक एक्जाम विधिअनुसार परीक्षा लिने बताए । भन्छन्, “यो अन्तर्राष्ट्रिय माध्यताप्राप्त विधि हो । तीन घण्टै अनलाइन बस्नुपर्छ भन्ने छैन । डाटाबाट ५ मिनेटमै काम चल्छ । शैक्षिक वर्ष नलम्बियोस् भनेर हो । उनीहरूको भविष्यको कुरा छ ।”

तर खनालले दाबी गरेजस्तो परिस्थिति सहज छैन । “मेरै टोलमा त बत्ती गइरहन्छ । गाउँतिर बस्ने, बाढी–पहिरो आइरहने ठाउँमा के होला ?” थापाले भनिन्, “फेरि परीक्षा भन्नेबित्तिकै एक खालको तनाव हुन्छ । केही च्याप्टरको रिभिजन बाँकी नै छ । बरु जाँचको ठाउँमा असाइनमेन्टको दिए, सबै उत्तीर्ण हुन पाउँथे ।”
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन १५, २०७७  ०८:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro