काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सत्तामा वैशाख १७ गते नै सङ्कट आइसकेको थियो । पार्टीका दोस्रो वरीयताका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतमले एकसाथ राजीनामा मागेपछि ओली नैतिक दबाबमा परेका थिए ।
उनले नयाँ चाल चले– गठबन्धनमा फाटो सिर्जना गर्ने । भैंसेपाटी गठबन्धनका हर्ताकर्ता उपाध्यक्ष गौतमलाई तटस्थ तुल्याएपछि ओलीको त्यतिबेलाको सङ्कट तत्कालका लागि टरेको थियो । ठीक दुई महिनापछि त्यही सङ्कटको पुनरावृत्ति, पुनरामगन भयो । पाँचौं स्थायी कमिटी बैठक आफ्नो एजेन्डामा अघि बढ्दै थियो । एमालेका तत्कालीन महासचिव, दिवङ्गत नेता मदनकुमार भण्डारीको ६९ औं जन्मजयन्तीका दिन प्रधानमन्त्री ओलीले भारतले सरकार ढाल्न लागिपरेको र पार्टीकै नेताले साथ दिएको बताएपछि स्थायी कमिटी बैठकमा राजीनामाको विषय मुखर भएर आयो ।
राजीनामा माग्नेमा सचिवालयका साथसाथै स्थायी कमिटीका ११ जना सदस्य थपिए । पार्टीको आन्तरिक सङ्कटमा सधैँ मौन बस्दै आएका रामबहादुर थापा पनि ओलीको विपक्षमा खुले ।
ओलीका सामु राजीनामा निर्मम विकल्प बनिसकेको थियो । तर, १८ दिनपछि नेकपाको अन्तरकलहमा नाटकीय मोड देखापरेको छ । ओलीले झाँगिदै गएको सत्ता सङ्कट टार्न नयाँ औजार प्रयोग गरेका छन् । उनको पछिल्लो प्रयोगले प्रधानमन्त्री र पार्टी अध्यक्षको कुर्सी घेर्न आइपुगेकाहरू नै आपसका लडभिडको तहमा पुग्ने सम्भावना बढेर गएको छ ।
राजीनामाको विषय उठान हुँदा वैशाख १७ गते उनले उपाध्यक्ष गौतमलाई प्रधानमन्त्री प्रस्ताव गरेर ‘अश्रु ग्यास’ हानेका थिए । यसपल्ट अर्ली महाधिवेशनको प्रस्ताव गरेर ‘छेप्यास्त्र’ प्रहार गरेको नेपाल पक्षका नेताहरू बताउँछन् । अर्ली महाधिवेशनबारे नेकपामा विवेचना हुन बाँकी छ । त्यसो त अर्ली महाधिवेशनको प्रस्ताव औपचारिकरूपमा सचिवालयमा प्रवेश हुनै बाँकी छ । अध्यक्षद्वयले गृहकार्य गरेर ल्याउछौं भनेकाले प्रस्ताव कुन रूपमा आउँछ भनेर हेर्न बाँकी नै छ ।
तथापि, माधव नेपाल समूहले अर्ली महाधिवेशनलाई गठबन्धनमा फाटो ल्याउने अस्त्रका रूपमा बुझिसकेको छ । गत जेठमा गर्न नसकिएको एकता महाधिवेशन मङ्सिर (पाँच महिना)भित्र गर्न सम्भव नै नहुने नेपाल समूहको जिकिर छ । उनीहरूले पूर्वनिर्धारित २०७७ चैत २५–३० होइन, चुनावअघि एकता महाधिवेशन सम्भव नै नभएको तर्क पेस गरिरहेका छन् ।
पार्टी एकताको २६ महिनामा पनि नेकपाले सदस्यताको टुङ्गो लगाउन सकेको छैन । साविक एमाले र माओवादी केन्द्रको गरी ८ लाख पार्टी सदस्य रहेको दाबी गरिएको छ । तर, अहिलेसम्म यकिन हुन सकेको छैन । त्यसको तथ्याङ्क एकीकृत कार्यालयमा छैन । स्थायी कमिटी बैठक प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीविरूद्धको घेराबन्दीका रूपमा प्रयोग गरेपछि आमन्त्रित सदस्य केशब बडालले विधिका कुरा गर्नेहरू नै वैधानिक सदस्य नरहेको बताएका थिए ।
यसको अर्थ नेकपाका कुनै पनि नेता–कार्यकर्ता पार्टीको वैधानिक सदस्य छैनन् । पार्टीको विधान, नियमावली अनुसार कसैको पनि पार्टी सदस्यता नवीकरण भएको छैन । नवीकरण होइन, एकीकृत पार्टीले चिन्ने अवस्थामै छैन । सदस्यता नै यकिन नभएको अवस्थामा मङ्सिरभित्र कुनै पनि हालतमा महाधिवेशन सम्भव नहुने नेपाल पक्षका एक नेता बताउँछन् ।
“सदस्यताको टुङ्गो लागेको छैन । पार्टी एकताको यावत् काम बाँकी छन् । कमिटीहरूले पूर्णता पाएका छैनन्,” उनी प्रश्न गर्छन्, “यस्तो अवस्थामा पाँच महिनाभित्र एकता महाधिवेशन कसरी सम्भव हुन्छ ?” नेकपाले वैशाखभित्र सदस्यता टुङ्गो लगाएर नवीकरण आदि काम सक्ने बताएको थियो । कोरोना कहरका कारण ओझेल पर्यो ।
भदौमा कोरोना उच्च विन्दुमा पुग्ने प्रक्षेपण गरिएकाले सदस्यता फाइनल गर्न र नवीकरण गर्न असोजसम्मै कुर्नुपर्ने हुनसक्छ । त्यसपछि निर्वाचन क्षेत्र, जिल्ला, प्रदेश तहका कमिटी र जनसङ्गठनहरूको अधिवेशन गर्नुपर्ने हुन्छ । त्यसो गर्न घटीमा पनि तीन महिनाको समय लाग्छ । बीचमा चाडपर्व नआइदिने भए त्यो पनि सम्भव हुन्थ्यो होला । तर, दसैं, तिहारजस्ता पर्व पर्ने हुनाले त्यसबीचमा अधिवेशन असम्भव हुने नेपाल पक्षका नेता बताउँछन् ।
अधिवेशन मात्र गरेर हुँदैन, प्रतिनिधि छनोट पनि गर्नुपर्ने हुनाले त्यसबीचमा अधिवेशन असम्भव हुने नेपाल पक्षका नेता बताउँछन् । नियत महाधिवेशन नै गर्ने हो भने मातहतका कमिटीको अधिवेशन र प्रतिनिधि छनोट एकैसाथ गर्न नसकिने होइन । तर, अहिलेको अस्त्र नेतृत्व हस्तान्तरण भन्दा पनि सत्ता सङ्कट टार्ने भएको नेपाल पक्षको बुझाइ छ ।
महाधिवेशन भनेको नेतृत्व मात्र होइन विचारको हस्तान्तरण पनि हो । तर, अहिले नेतृत्वमै झगडा छ । यो झगडा मिलाउन महाधिवेशनकै तिथि कुर्नुपर्ने होइन । अरू पनि विधि विद्यमान छन् । तर, ओलीको रुचि त्यता नदेखिनु र महाधिवेशन गर्छु भन्नु नै सत्ता सङ्कट टार्ने रणनीति रहेको नेपाल पक्षको बुझाइ छ ।
गठबन्धनमा फाटो ल्याउने अस्त्र
स्थायी कमिटी पटकपटक स्थगित गरेर ओली, प्रचण्ड छलफलमा थिए । बाहिर सहमति भएन भन्ने भित्र नयाँनयाँ विकल्प खोज्ने क्रम जारी थियो । एक्लाएक्लै (वान अन वान) छलफलबाट गठबन्धनका अरू नेताले शङ्का नगरून्, गठबन्धनमा अविश्वास नहोस् भनेर प्रचण्डले बैठक सकिएलगत्तै सके खुमलटार बोलाएर, नभए फोनबाट नै ब्रिफिङ गर्थे । के खिचडी छड्किइरहेको छ ? माधव नेपाल समूहलाई पत्तै भएन ।
शनिबारको बैठकमा ओलीले अर्ली महाधिवेशनको प्रस्ताव गर्ने र प्रचण्ड मौन बस्ने देखिएपछि नेपाल समूह सशङ्कित बनेको छ । उनी पक्षीय नेताहरू त ‘सक्ड’ नै भएको बताउँछन् । र त, बैठकमै नेता नेपालले दुई अध्यक्षले चोचोमोचो मिलाएर समस्याले निकास नपाउने बताए । अहिलेको सङ्कटको निकास ओली–प्रचण्डको मिल्ति नभएकाले यसरी समाधान नखोज्न चेतावनी पनि दिए ।
ओली-प्रचण्ड पुनः ‘चोचोमोचो’, माधव नेपाल सशंकित
उनले देशव्यापीरूपमा अभियान लिएर जाने र ओली, प्रचण्डको नियतको पर्दाफास गर्ने बताइसकेका छन् । यसले गठबन्धनमा फाटो आइनसकेको भए पनि अविश्वास पैदा भएको प्रष्ट सङ्केत गर्छ । “अब नेपाल हिजोको जस्तो प्रचण्डलाई विश्वास गर्ने तहमा हुनुहुन्न । एक दुईपटक शङ्काको सुविधा दिने कुरा हुन्छ,” नेपालनिकट एक नेता भन्छन्, “उहाँ अस्थिर, विचार नअडिने, ढलपल गरिरहने त हुँदै हुनुहुन्थ्यो, अब त नेताहरूलाई बिक्री नै गर्न थाल्नुभयो ।”
अब के हुन्छ ?
नेकपाको तरल राजनीतिक घटनाले कुन मोड लिन्छ भनेर विश्लेषण गर्न र पूर्वानुमान गर्न नै गाह्रो भइसक्यो । विचार, सिद्धान्त र दृष्टिकोणमा आधारित अन्तसङ्घर्ष भए विश्लेषण–विवेचना गर्न सजिलो पनि हुन्थ्यो । त्यसबाट निष्कर्ष पनि निस्कन्थ्यो । नितान्त सत्ता स्वार्थले सिर्जना गरेको कलह भएकाले कुन नेता कता मिल्न पुग्छन् भनेर अनुमान गर्नै गाह्रो भइसक्यो । स्वार्थ बाझिँदा गोठ सरिरहने प्रवृत्तिले निरन्तरता पाइरहँदा त्रिशङ्कु नेकपाको शक्ति सन्तुलनमा फेरबदल आइ नै रहनेछ ।
नेपाल पक्ष भन्छन्, “यत्ति कुराचाहिँ निर्धक्क भन्न सकिन्छ । प्रचण्डलाई ढुक्क भएर विश्वास गर्ने अवस्था रहेन । नेपाल आफ्नो तयारीमा लाग्नुहुन्छ ।” ओलीको हिजोको अर्ली महाधिवेशन प्रयोगले प्रचण्डसँगचाहिँ आमुन्नेसामुन्ने हुने स्थितिमा घटनाक्रम पुग्ने अनुमान नेपाल पक्ष गर्छ । “नेता नेपाललाई पनि महाधिवेशनपछि केही बन्छु भन्ने थियो । प्रचण्डले जतिसक्दो चाँडो महाधिवेशन गरेर एकल अध्यक्ष बन्ने दौडमा लागेपछि अब प्रतिस्पर्धा यी दुई बीच नै हुन्छ,” नेपाल पक्ष सहजै अनुमान गर्छ ।
गठबन्धनका नेताहरू हिजोसम्म ओलीलाई घेर्ने तहमा पुगिसकेका थिए । त्यो किसिमको शक्ति आर्जन भइसकेको थियो । अब उनीहरू ओलीतिर फर्किएर हेर्ने हैसियतमा खुम्चिएका छन् । यसले ओलीलाई थप शक्तिशाली बनाउने आकलन नेपाल पक्षका नेताहरूले गरेका छन् । दुईवर्ष सत्ता कायमै रहने भइहाल्यो । पार्टी अध्यक्षको कार्यकाल अझै तन्किएर पर पुग्न सक्छ ।
एक नेता भन्छन्, “हिजोसम्म ओलीलाई राजीनामा दे भन्ने तहमा पुगेका प्रचण्ड र नेता नेपाल महाधिवेशनमा मलाई सहयोग गर्नुहोस् भनेर हात थाप्न बालुवाटार धाउनुपर्ने स्थिति देखापर्नेछ ।”
ओलीको मनशाय मङ्सिरमै महाधिवेशन गर्ने छैन । परिस्थितिको अनुमान उनले गरिसकेका छन् । प्रचण्ड नेपाल सहयोग माग्न बालुवाटार धाउन थालेपछि उनले स्थिति अनुकूल नहुँदासम्म महाधिवेशन धकेलिरहनेछन् ।
“ओलीको प्रस्ताव अस्वीकार गरौं महाधिवेशनमा साथ–सहयोग नपाइएला भन्ने डर, गरौैं महाधिवेशन सरेको सर्यैको अवस्थामा नेकपा पुग्छ र त्यतिञ्जेलसम्म ओलीको सत्ता सुरक्षित पनि भइरहन्छ । त्यही उद्देश्यका साथ फालिएको पासो हो– अर्ली महाधिवेशन,” नेपाल समूहका एक नेता संश्लेषण गर्छन् ।