site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
एउटा बौद्धिक खुराक : ‘विचार–विमर्श’
Sarbottam CementSarbottam Cement

गोविन्द पोखरेल


लेखक शारदाप्रसाद दाहालद्वारा लिखित पुस्तक ‘विचार विमर्श’ प्रकाशनमा आएको छ । पुस्तकको नामले इङ्गित गरेजस्तै यसमा २५ वटा दर्शनपरक् आलेख समावेश छन् । 

अहिलेको समयले नवीनता खोजेझैँ यस पुस्तकमा संगृहीत सबै विषय नौला रूपमा प्रस्तुत गरिएका छन् । पुस्तकमा प्रस्तुत पहिलो विचार मृत्युको चिन्तनबाट सुरु भएको छ । वास्तवमा मृत्युसँग हामी सबै डराएर हो कि, यस विषयलाई लिएर हाम्रो वाङ्मयमा त्यति चर्चा हुने गरेको पाइँदैन । 

Prabhu Bank
Agni Group
NIC Asia

यस किताबमा मृत्युका सम्बन्धमा युनानका दार्शनिक सुकरातका विचारदेखि लिएर पूर्वीय वेद उपनिषद्का विविध विचार समेटिएका छन् । मृत्युको औपनिषद् चर्चामा खास गरी कठ उपनिषद्को बाज्रश्रवास–नचिकेताका आख्यानलाई निकै रोचक ढंगले प्रस्तुत गरिएको छ ।

वेद र उपनिषद्का अलावा यस आलेखमा कवि, लेखक, नाटककारहरूका भावना र दृष्टिकोण पनि समाविष्ट गरिएका छन् । त्यस्तै मानव जीवनले भोग्नुपर्ने सुख र दुःखका सम्बन्धमा पूर्वका गीता, महाभारत, रामायण र चार्वाक दर्शनका विचार प्रमुख छन् । पश्चिमका, खास गरेर एपिक्युरस र सोपेनहाउरका विचारका साथै युनानका अन्य विचारकहरूका अवधारणाहरू पनि समावेश छन् । सुखको साधनाका सम्बन्धमा विख्यात अंग्रेज दार्शनिक बरट्रान्ड रसेलका विचारहरू अझै रोचक किसिमबाट प्रस्तुत गरिएका छन् ।
 
त्यस्तै यो पुस्तकको अर्को आकर्षण बनेको छ, सत्यतासम्बन्धी विचार । सत्यतालाई सबैले सार्वभौमिक हुन्छ भनेर मान्दै आएको पाइन्छ । यसै सन्दर्भमा किर्केगार्ड, नित्से र जेम्सले यस मान्यतालाई चुनौती दिएको प्रसंगहरू पनि पुस्तकमा राम्रोसँग खोजबिन गरिएको छ । यिनीहरूका विचारमा सत्य सार्वभौमिक होइन, स्थान र कालअनुसार सापेक्ष हुन्छ । 

Global Ime bank

मानव स्वभावका सम्बन्धमा पनि पुस्तकमा चर्चा गरिएको छ । समावेश आलेखमा मानवीय स्वभावलाई सामाजिक विधाका विभिन्न आयामबाट हेरिएको छ । मानव स्वभाव सम्बन्धमा दर्शन, मनोविज्ञान, जीवविज्ञान, धर्मशास्त्र र प्राकृतिक इतिहासका आधारमा विश्लेषण गरिएको छ । आलेखमा विशेषतः दार्शनिकहरू हब्स, सात्र्र, राजनीतिज्ञ मैकियावेली र डार्बिनका विचारहरू समावेश छन् ।

किताबमा स्वतन्त्रतासम्बन्धी विचार पनि अत्यन्त पठनीय छ । नवीन छ । आलेखमा चर्चा गरिएको स्वतन्त्रताको विषय, राजनीतिक स्वतन्त्रता नभएर दार्शनिक स्वतन्त्रता हो । हाम्रा संकल्प र इच्छाहरू स्वतन्त्र रूपले उपस्थित हुन्छन् वा कहीँ कतैबाट प्रेरित भएर जन्मिन्छन् भन्ने विषयमा चर्चा गरिएको छ । 

उत्तरआधुनिकताको विचारलाई पनि ‘विचार–विमर्श’मा समावेश गरिएको छ । यस विषयको आलेखमा उत्तराधुनिकताको विचारले आधुनिक दर्शन र विज्ञानका कतिपय मान्यतालाई अस्वीकार गर्ने गरेको विषय उठान गरिएको छ ।

संगृहीत आलेखहरूमध्ये नवीन प्रस्तुति पस्कँदै धर्म र ईश्वरका अवधारणा सम्बन्धमा मनोविज्ञानपरक विश्लेषण गरिएको छ । धर्म र ईश्वरका सन्दर्भमा मनोविज्ञानका सिद्धान्त, साथै फ्रायड र युंगजस्ता प्रख्यात मनोविश्लेषकहरूको विचार अभिव्यक्त गरिएको छ । 

यसैगरी दर्शन र विज्ञानका आफ्ना सीमा हुन्छन् भन्ने प्रसिद्ध अस्तित्ववादी चिन्तक कार्ल यास्पर्सका धारणाहरू पनि पुस्तकमा समेटिएका छन् । संग्रहमा अस्तित्ववाद र सात्र्रका विचारहरूलाई विभिन्न आयामबाट चर्चा गरिएको पनि पाइन्छ । 

बुद्ध धर्म र दर्शनमा आत्मा नमान्ने विचारलाई पनि पुस्तकमा गहन रूपले विश्लेषण गरिएको छ । यस्तै परमतत्त्व मान्ने अंग्रेज दार्शनिक ब्रेडले र ब्रह्मतत्त्व मान्ने शंकराचार्यका विचार एवम् मान्यताहरूको तुलनीय विश्लेषण पनि पुस्तकमा राखिएको छ ।

यिनका अतिरिक्त पुस्तकमा धर्म नीति दर्शन र नैतिकताका सन्दर्भमा पनि विभिन्न पक्षबाट विचारित गरिएको छ । दर्शनको महत्त्वपूर्ण अङ्गका रूपमा रहेको तत्त्वमीमांंसाको अब कुनै अर्थ र मूल्य छैन भन्ने विज्ञान समर्थक विचारकहरूको दृष्टिकोण पनि पुस्तकमा पढ्न पाइन्छ ।

पुस्तकको अन्त्यमा ईश्वरको अस्तित्व एवं अनस्तित्वसम्बन्धी अवधारणाहरूलाई पूर्वीय र पाश्चात्य दार्शनिकहरूको विचारका आधारमा विशद् रूपमा व्याख्या र विश्लेषण गरिएको छ । अतः लेखक निकै अध्ययनशील देखिनुका अतिरिक्त अत्यन्त मिहिनेत गरी लेखिएको पुस्तक दर्शनका विषयमा चासो र रुचि राख्ने पाठकहरूका साथै अन्य जिज्ञासु पाठकका लागि पनि बौद्धिक खुराकका रूपमा संग्रहणीय एवम् पठनीय देखिन्छ ।

लेखक शारदाप्रसाद दाहालको ४८४ पृष्ठको पुस्तकको मूल्य ५५० रुपैयाँ तोकिएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन ३, २०७७  १३:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
सफल भएकै हो त लगानी सम्मेलन ?
सफल भएकै हो त लगानी सम्मेलन ?
ICACICAC