site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
‘साहित्यपोस्ट उत्तम आख्यान पुरस्कार, २०८०’ को पहिलो सूची सार्वजनिक

काठमाडौं । साहित्यिक अनलाइन पत्रिका ‘साहित्यपोस्ट’ले नेपाली भाषामा लेखिएका आख्यानकृति (कथा, उपन्यास, लघुकथा, नाटक) प्रकाशनमा ल्याएर पहिलोपटक प्रवेश गरेका आख्यानकार (डेब्यू लेखक)लाई प्रदान गरिने ‘साहित्यपोस्ट उत्तम आख्यान पुरस्कार, २०८०’ का लागि उत्कृष्ट १० आख्यान कृतिहरूको सूची सार्वजनिक गरेको छ ।

साहित्यपोस्टका प्रधान सम्पादक अश्विनी कोइरालाले फेसबुकमार्फत जानकारी गराउँदै पहिलो चरणको सूची सार्वजनिक गरेको उल्लेख गरेका छन् । यस पुरस्कारको राशि ५० हजार रुपैयाँ रहेको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

पहिलो चरणमा छानिएका डेब्यू आख्यानकृतिहरूमा विष्णु सापकोटाको उपन्यास ‘अडिएका पाइला’, अनु विज्ञातिको लघुकथासंग्रह ‘अक्षर रेखा’, वसन्त बायुङ राईको उपन्यास ‘कठुवा’, अतुल पोखरेलको उपन्यास ‘तेजस्विनी सदन’, भागवत खनालको कथासंग्रह ‘बाबा मेरो पीआर आयो’, खेम बतासको कथा संग्रह ‘बुढीपोल्ली’, रविन्द्र केसीको कथा संग्रह ‘सम्बन्धको दोबाटो’, प्रज्ञाको उपन्यास ‘विषाणु ऋ’, सागर खड्काको उपन्यास ‘राइपाली भञ्ज्याङ’ र डा. कुसुमाकर शर्मा गौतमको लघुकथा संग्रह ‘हिउँको राप’ रहेको छ ।

यसै सूचीका आधारमा दोस्रो चरणमा पुरस्कारका लागि छोटो सूची सार्वजनिक गरिने र, तेस्रो चरणमा छोटो सूचीमा पर्न सफल आख्यानकृतिमध्ये उत्कृष्ट एकलाई ५० हजार राशिको ‘साहित्यपोस्ट उत्तम आख्यान पुरस्कार’ प्रदान गरिने कोइरालाले जनाएका छन् ।

यसअघि साहित्यपोस्टले डेब्यू काव्यकृतिका लागि दिइने ‘साहित्यपोस्ट उत्तम काव्य पुरस्कार, २०८०’ का लागि उत्कृष्ट ११ काव्यकृतिहरूको सूची सार्वजनिक गरिसकेको छ । 

सूचीअनुसार डेब्यू काव्यकृतिहरूमा सुषमा आचार्य ‘अंशु’को कवितासंग्रह ‘अक्षरको आयतन’, देवव्रतको कवितासंग्रह ‘अश्वत्थामाको निधारबाट बागमती बग्छ’, मिथोचको कवितासंग्रह ‘आगोको पिदार’, बाबुराम भुसालको कवितासंग्रह ‘अभ्यास काव्ययात्रा’, गगन योक्पाङ्देनको कवितासंग्रह ‘केवाफुङको गीत’, अमर आकाशको कवितासंग्रह ‘टुङ्गना’, सुशीला खड्का हसिनाको कवितासंग्रह ‘पहिरोभित्रको घाम’, जानुका गुरागाईंको गजलसंग्रह ‘परिवेशको सुसेली’, सुरेश राईको कवितासंग्रह ‘सम्झनाको फोटोकपी’, विजय लुइटेलको कवितासंग्रह ‘समयका खुकुला चप्पल’ र प्रकाश रम्घालीको कवितासंग्रह ‘साँझको सङ्गत’ रहेका छन् । 

यस काव्य पुरस्कारको राशि पनि ५० हजार रुपैयाँ रहेको छ ।

प्रकाशित मिति: मंगलबार, वैशाख १८, २०८१  २३:०१
प्रतिक्रिया दिनुहोस्