site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
स्थायी कमिटी बैठक टुङ्ग्याएर एक महिनाभित्र केन्द्रीय कमिटी बैठक बोलाउने तयारी

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले असार १० गतेदेखि जारी स्थायी कमिटी बैठक टुङ्ग्याएर केन्द्रीय कमिटी बैठक बोलाउने तयारी गरेको छ ।

बिहीबार मध्याह्न बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली, पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालबीच द्विपक्षीय छलफल भएको थियो ।

दुवै पक्ष आ–आफ्नै अडानमा रहेका कारण बैठक निष्कर्षविहीन बन्न पुगेको थियो । प्रचण्ड–नेपालले राजीनामा दिन दबाब दिए पनि ओलीले अडानमा टसको मस भएका थिएनन् । उनले कुनै पनि हालतमा दुवै पद नत्याग्ने बताएपछि बैठक निष्कर्षविहीन बनेको थियो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

ओली सहमतिमा नआएपछि प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ, गृहमन्त्री रामबहादुर थापा बादलसहितका नेता खुमलटार भेला भएका थिए । खुमलटार भेलालले एक महिनाभित्र केन्द्रीय कमिटीको बैठक बोलाउने निचोड निकालेको वरिष्ठ नेता झलनाथ खनालले जानकारी दिए ।

खुमलटारको भेलामा रघुजी पन्तलगायत ७ जना स्थायी कमिटी सदस्य पनि उपस्थित थिए ।

“एकमहिनाभित्र केन्द्रीय कमिटी बोलाउनेबारेमा छलफल भयो । भोलि केन्द्रीय कमिटी बैठकको मिति तोकेर स्थायी कमिटी टुङ्याउनेमा अनौपचारिक छलफल भएको छ,” उनले बाह्रखरीसँग भने ।

स्थायी कमिटी बैठक टुङ्ग्याउनेबारे ओलीनिकट नेताहरूले पनि सङ्केत दिएका थिए ।

प्रचण्ड–नेपालसँगको बैठकपछि ओलीले आफूनिकट केही नेता, ईश्वर पोखरेल, महासचिव विष्णु पौडेल, संसदीय दलका उपनेता सुवास नेम्वाङलाई बालुवाटार बोलाएर परामर्श गरेका थिए ।

बालुवाटारको छलफलमा गएकामध्ये एक नेताले स्थायी कमिटी बैठक शुक्रबार अन्त्य हुने तर कसरी र कुन निष्कर्षका साथ अन्त्य हुने भन्नेचाहिँ टुङ्गो लागि नसकेको बताएका थिए ।

खुमलटार भेलालले केन्द्रीय कमिटी बैठक बोलाउने निष्कर्षका साथ स्थायी कमिटी बैठक अन्त्यको प्रस्ताव गर्न लागेको खनालले बताएका छन् ।

नेकपाको स्थायी कमिटी बैठक असार १० गतेदेखि सुरु भए पनि एजेन्डामाथि छलफल नै हुन सकेको छैन । ६ दिन सीमा समस्यामा केन्द्रित रहेर छलफल भएको थियो ।

असार १४ गते प्रधानमन्त्रीले पार्टीका नेताहरूलाई समेत साथ लिएर भारतले सरकार ढाल्न लागेको बताएपछि बैठक तरङ्गित हुन पुगेको थियो ।

पार्टी अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताद्वय खनाल र नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठसहित ११ जना स्थायी कमिटी सदस्यले बैठकमै राजीनामाको माग गरेपछि असार १८ गतेदेखि बैठक अवरुद्ध हुँदै आएको छ ।

पछिल्लोपटक असार २६ गतेलाई तय भएको थियो । तर, बाढी, पहिरोलाई कारणदेखाएर एकहप्ता धकेलिएको थियो । भोलि पनि एजेन्डामाथि घनिभूत छलफल नगरी केन्द्रीय कमिटी बैठकको मिति तोकेर टुङ्ग्याउने तयारी थालिएको हो ।

प्रकाशित मिति: बिहीबार, साउन १, २०७७  २१:४४
प्रतिक्रिया दिनुहोस्