काठमाडौं । पूर्वप्रधानमन्त्री, दिवंगत नेता गिरिजाप्रसाद कोइरालाको अचम्मको स्वभाव थियो । उनी काठमाडौंमा छँदा खासै मुख खोल्दैनथे । ‘रिजर्भ’ बस्न रुचाउँथे । पत्रकारसँग विरलै घुलमिल हुन रुचाउने कांग्रेसका तत्कालीन पार्टी सभापति कोइराला केही बोल्नुपर्यो भने गृहनगर विराटनगर हानिन्थे ।
शान्तिप्रक्रियापछि र जीवनको उत्तराद्र्धसम्मै उनले त्यो क्रियालाई निरन्तरता दिए । राष्ट्रिय राजनीतिलाई तरङ्गित तुल्याइरहे । र, गति पनि दिइरहे ।
पुष्पकमलले धेरथोर त्यसको सिको गरेका छन् ।
नेकपाभित्रको विवाद युद्धविरामको तहमा छ । पृथ्वीसुब्बा गुरूङले भनेझैँ दुवै तर्फबाट ट्रिगर दबाएपछिको सन्नाटाको अवस्था छ ।
पार्टी एकताको भविष्यलाई लिएर पार्टीवृत्तमा चिन्ता व्याप्त छ । सचिवालय तहदेखि आधारभूत इकाइसम्म त्यही चिन्ताले गाँजेको छ– कतै पार्टी दुर्घटनामा पुग्ने त होइन ? शिशु एकता भँड्खालोमा त पर्ने होइन ? शनिबार प्रचण्डले केही हदसम्म निराशा दूर गरिदिए । बाढी पीडित निर्वाचन क्षेत्रबासीलाई सान्त्वना दिन गृह जिल्ला, चितवन पुगेका प्रचण्डले पार्टी कार्यकर्ताको आशङ्का निमिट्यान्न पार्ने प्रयत्न गरे ।
पढ्नुहोस् माडीमा प्रचण्डले के बोलेका थिए–
केपी ओलीलाई गएर यो बेला छाड्नु हुन्न भन्दिने, अकोर्तिर प्रचण्डलाई पनि छाड्नुहुन्न भनिदिने गरेको पनि बुझिएको छ ।
हामी हतारमा निर्णय गरेर भोलि फुर्सदमा पछुताउने अवस्था नआओस् भन्ने कुरामा सतर्क छौं । हल निक्लिन्छ भन्ने कुराको विश्वास मैले लिएको छु । अर्को अध्यक्ष र प्रधानमन्त्रीसँग पछिल्लोपटक भएका कुराहरूको सङ्केत पनि हल गर्नुपर्छ भन्नेतिर नै छ । तपाईंहरूले हतार गरेर अधैर्यतापूर्वकचाहिँ कुनै खालको गतिविधि गर्न जरुरी छैन । मैले देश दुर्घटनामा जाने या पार्टी दुर्घटनामा जाने कुनै गतिविधि हुन नदिनको निम्ति अन्तिम समसम्म धैर्यतापूर्वक पहल गर्ने विश्वास म तपार्ईंहरूलाई दिलाउन चाहन्छु । परिवर्तन बचाउने लडाइँ पनि छ, यो । कोरोनाको कारणले अरू नै केही हुने हो कि, परिवर्तनमा आफ्नो भूमिकाको हैसियतले पनि म सकारात्मक सोचका साथ संघर्षमा छु । अप्ठ्यारोतिर जाने खतरा पनि देखिइसक्यो । त्यसकारण पनि म तपाईंहरूलाई भन्छु–सतर्कता अपनाउन पनि नछोड्नुहोला ।
पार्टी हामीले एउटा ऐतिहासिक पहलकदमी गरेर कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्ने, देशमा राजनीतिक स्थायित्व बनाउने र कम्युनिस्ट पार्टीको नेतृत्वमा विकास र समृद्धिको नयाँ यात्रा सुरु गर्ने समाजवादको आधार निर्माण गर्ने महान उद्देश्यका साथ हामीले गरेको हो । र, त्यो एकता प्रक्रिया अगाडि लाने सङ्कल्पका साथ हामीले गठबन्धन गरेर चुनाव लडेको हो । हामीले साझा उमेदवार, साझा घोषणापत्र बनाएर चुनाव लड्यौं र पार्टी एकता गरि छाड्छौं भनेर तपाईंहरूको अगाडि उभिएर दुवै तत्कालीन पार्टीका अध्यक्षहरू, यहाँ माडीमा पनि दुवै अध्यक्ष तपाईंहरू अगाडि उभिएर बोलेका छौं । त्यसले देशभरिको जनतामा र हाम्रो पार्टी कार्यकर्तामा ठूलो उत्साह, भरोसा र विश्वास पैदा भयो । असाधारण परिणाम, असाधारण विश्वास नेपाली जनताले हाम्रो संकल्प र हाम्रो प्रतिबद्धतालाई गर्यो । र, झण्डै दुईतिहाइ बहुमत दिएर हामीलाई सत्ताको नेतृत्व गर्ने, विकासको नेतृत्व गर्ने, समाजवादको आधार निर्माण गर्ने ऐतिहासिक अवसर दियो ।
यसलाई कहीँ, कसैले, कुनै पनि बहानामा कमजोर पार्न हुँदैन भन्न कुरामा हामी दृढ छौं । हामी हतारमा केही कुरा गरेर फुर्सदमा पछुताउने कुरा नआओस् भन्ने कुरामा सतर्क छौं ।
म पार्टीको अध्यक्ष एउटा र अर्को तपाईंहरूको जनप्रतिनिधिको हैसियतले मैले देश दुर्घटनामा जाने या पार्टी दुर्घटनामा जाने कुनै गतिविधि हुन नदिन अन्तिमसम्म धैर्यतापूर्वक पहल गर्ने विश्वास दिलाउन चाहन्छु । मैले हतार गर्न खोजेको भए दुर्घटना या अर्को के हुन्थ्यो म भन्न सक्दिनँ ।
तर, मैले यति असाधारण काम हामीले गरेका छौैं भने सजिलै यसलाई कमजोर हुन दिने अधिकार, छुट हामी कसैलाई छैन भनेर नै लगातार प्रयास गरिएको छ । पछिल्लो प्रयासको सङ्केत पनि गरेँ । हामी कुनै न कुनै समझदारी, कुनै न कुनै सहमतिबाट, अहिलेको क्राइसिस त देखियो, क्राइसिस त तपाईंहरू सबैले पनि महसुस गर्नुभयो तर जतिसुकै अप्ठ्यारो भए पनि हामीले जनतालाई अगाडि राखेर, देशलाई अगाडि राखेर र हामीले देश र जनतलाई गरेको सङ्कल्पलाई अगाडि राखेर सोच्यो भने हल निक्लन्छ । हल निक्लन्छ भन्नेकुराको विश्वासको मैले लिएको छु । र, अर्को अध्यक्ष तथा प्रधानमन्त्रीसँग भएको कुराहरूको सङ्केत हल निकाल्नुपर्छ भन्नेतिर नै छ । तपाईंहरूले हतार गरेर अधैर्यतापूर्वक कुनै गतिविधि गर्न जरुरी छैन । तपार्ईंहरूले हतारमा केही गर्नुभयो भने भोलि फुर्सदमा पछुताउनुपर्छ । नगर्ने काम गरिएछ भन्ने लाग्छ । त्यसो किन गर्नुपरेको छ र ! पार्टी एकताको पक्षमा दृढतापूर्वक उभिनुस् ।
प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्ड स्थायी कमिटीको बैठक स्थगित गरेर निरन्तर संवादमा थिए ।
प्रचण्ड दुवै पदबाट राजीनामा माग्ने, ओली दिँदै नदिने अडानमा रहेकाले सहमतिको विन्दु नै पत्ता नलागेको बताइँदै आएको थियो ।
प्रचण्डले आफ्ना गठबन्धनका नेतासँग पनि यही बताएका थिए । ओली सहमतिमा आउनै नचाहेकाले बैठक स्थगित नगर्ने, स्थायी कमिटी पार्टीको कार्यकारी बडी (निकाय) पनि भएकाले निर्णय गरेर जाउँ भन्ने मत पनि थियो । बाह्रखरीसँगको कुराकानीमा वरिष्ठ नेता झलनाथ खनालले यही भनेका थिए ।
तर प्रचण्ड हच्किएका थिए ।
प्रचण्ड किन हच्चिकए भन्ने कुराको खुलासा उनी आफैंले गरेका छन् । माडीमा विभाजनको खतरा देखिरहेका पार्टी कार्यकर्तालाई साक्षी राखेर प्रचण्डले ओलीसँग सहमति नजिक पुगेको बताएका छन् । ओलीसँगै पार्टी एकताको जीवनरक्षाका लागि आफू पनि लचिलो बनेको उनको प्रष्टीकरण छ ।
असार १० गतदेखि जारी स्थायी कमिटी बैठक ओलीको बोलीले नै अवरूद्ध हुन पुगेको थियो । मदन जयन्तीका दिन उनले भारतसँग मिलेर सरकार ढलाउन लागेको भन्दै आफ्नै सहधर्मीमाथि गम्भीर लाञ्छना लगाए । प्रचण्डको शनिबारको अभिव्यक्ति पनि सहधर्मीलाई आक्षेप लगाउने प्रकारको छ ।
“केपी ओलीलाई गएर योबेला छाड्नु हुन्न भन्दिने, अर्कोतिर प्रचण्डलाई पनि छाड्नुहुन्न भनिदिने गरेको पनि बुझिएको छ,” माडीमा प्रचण्डले भनेका थिए ।
लाञ्छना कति लक्षित हो ? प्रश्न अनुत्तरित छ । कतै ओलीसँगको ‘खुसामद’ त होइन ? यो पनि खुलेको छैन । प्रचण्डको यस प्रकारको अस्थिरता द्योतक अभिव्यक्तिलाई माधव नेपाल पक्षका केही नेता ओलीको बोलीमा लोली मिलाएको बन्न रुचाउँछन् । दुई अध्यक्षले पुनः ‘चोचोमोचो’ मिलाउन खोजेको रूपमा बुझेका छन् ।
“दुई अध्यक्षबीच कुनै समझदारी भएजस्तो त देखिँदैन । तर, प्रचण्डको माडीको अभिव्यक्ति घातक छ । उहाँले ‘अरूले उचाले’ भनेर कसलाई भन्न खोज्नुभएको हो प्रष्ट छैन । जसलाई लाञ्छित गर्न खोजे पनि उहाँ अधैर्य देखिनुभएको छ,” नेपाल निकट एक नेताले भने ।
वैशाख १७ गते नै नेकपाको जीवनमा सङ्कट देखिएको थियो । सत्ताको नेतृत्व गरिरहेका प्रधानमन्त्री केपी ओलीमाथि पहिलोपल्ट बैठकमै राजीनामाको दबाब परेको थियो ।
त्यसबखत पार्टी अध्यक्ष प्रचण्डले मुख फोरेर राजीनामाको माग गरेका थिए । तर, तीनदिन वामदेव गौतमको मनोदशा नबदलिएको भए केपी ओलीको दशा अर्कै हुनेथियो । वामदेव गौतमले खुट्टा छाडिदिँदा प्रचण्डको राजीनामा प्रस्ताव अलपत्र पर्यो । वैशाख २० गतेको सचिवालय बैठकमा प्रचण्ड लचिलोरूपमा प्रस्तुत भएका थिए । गठबन्धनमा दर्बिलो साथ दिइरहेका नेता नेपाललाई चित्त बुझेन । ओली–प्रचण्डको ‘चुच्चो जोडाइ’लाई ‘चोचोमोचो’को संज्ञा दिए ।
तर दुई महिना नबित्दै सङ्कटको पुनरावृत्ति भयो । त्यतिबेला कुनै सहमति नगरिकनै पछि हटेका प्रचण्डले यसपटक दह्रो खुट्टा टेक्ने नेपाल र खनालहरूको विश्वास थियो । पुनः प्रचण्डको खुट्टा धर्मराएपछि नेपाल समूहले पुरानै कथ्य दोहोर्याएका छन् । ओली–प्रचण्डको पुनः ‘चोचोमोचो’ जोडिएको छ । तर यो ‘चोचोमोचो’को साउन २ गतेपछि म्याद गुज्रनेछ । अर्थात्, आफूहरूसँग सल्लाह नै नगरी गरेको सहमति लागु हुन सक्दैन । अहिलेको शक्ति सन्तुलनले रोक्छ ।
दुई अध्यक्षबीच ‘अघोषित’ सहमति भएको छ भन्नेमा पूर्वमाओवादी केन्द्रका नेताहरू विश्वस्त देखिन्छन् ।
“दुई अध्यक्षको भूमिकालाई किटान गरेर जानुपर्छ । दुई अध्यक्षबीच सहमति कायम गरेर जानुपर्छ भन्नेमा उहाँहरूबीच समझदारी कायम भएजस्तो देखिन्छ,” प्रचण्डनिकट एक स्थायी कमिटी सदस्य भन्छन्, “प्रधानमन्त्री ओलीले सरकारको काम मात्रै गर्ने, प्रचण्डले पार्टीको काम गर्नेगरी भूमिकालाई नयाँ ढङ्गले व्याख्या गरेर जाउँ भन्ने समझदारी भएको हुनसक्छ ।”
गठबन्धनमा समस्या सिर्जना हुन्छ, एक–अर्काबीच अविश्वास बढ्छ भनेर सहमतिको खुलासा नगरिएको हुन सक्ने उनी लख काट्छन् । स्थायी कमिटीका अर्का सदस्य हरिबोल गजुरेल पनि दुई अध्यक्ष सहमति नजिक पुगेको बताउँछन् । यद्यपि के सहमति भयो भन्नेमाचाहिँ उनी अनभिज्ञ छन् ।
उनी पनि खुलाउन चाहँदैनन्, सायद ।
ओली–नेपाल पानी बारबार
नेकपाको इतिहासमा भदौ ५ बिर्सनलायक परिघटना बन्यो । कुनै समय ओली–नेपाल एउटै जहाज चढ्दैनथे । एउटै गाडीमा यात्रा गर्नुपर्यो भने पनि पसिना छुट्थ्यो । मदन भण्डारीले दासढुङ्गामा रहस्यमय अवसान बेहोरेपछि पार्टीमा उत्तराधिकारी सङ्कट होला र पार्टी नेतृत्वको खाँचो पर्ला भनेर एकले अर्कालाई विकल्पका रूपमा राखेका थिए ।
कथम् एकले अवसान बेहोरे अर्कोले पार्टीको बागडोर सम्हाल्ने व्यक्तिकारूपमा साँच्थे ।
समय स्थिर रहेन । सातौं महाधिवेशनपछि दुई नेताबीच सम्बन्धमा दरार पैदा भयो । नेपाल समूहको बहुमतको पेलानमा परे ओली । आठौं छाडेर नवौं महाधिवेशनमा आमुन्नेसामुन्नेकै अवस्था सिर्जना भयो । नेपाल झिनो मतले पछि परे ।
पार्टी एकताताक उनीहरू पुराना तिक्ततालाई भुलेर नयाँ पार्टी निर्माणमा जुटेका थिए । त्यसमा पनि गतिरोध पैदा भए पनि तिक्तताले हद पार गरेको थिएन ।
भदौ पाँच गते ओली दोस्रोपटक उपचारका लागि सिङ्गापुर जाँदै थिए । पार्टी अध्यक्ष उपचारका लागि जाँदै गर्दा स्वास्थ्य लाभको कामना सामान्य औपचारिकताको कुरा हो । निर्णय पुस्तिकामा रेकर्ड पनि गराइने प्रचलन थियो, छ ।
माधव नेपालले प्रतिवाद गर्दै मौखिक रूपमा कामना गरे पुग्ने भन्दै ‘मेरो पनि शुभकामना छ’ के भनेका थिए । ओली कड्किए ।
‘तपार्ईंको शुभकामना चाहिँदैन । बाहिरबाहिर मरोस् भन्दै हिँड्नु भएको छ !’ भनेर मनको तीतो पोखेपछि नेपाल क्षुब्ध बने । त्यसपछि लामो समय उनीहरूबीच बोलचाल, आउजाउ नै भएन । नेपालको लागि बालुवाटारको मात्र होइन, संवादको नै ढोका बन्द नै भयो ।
बीचमा संवादको शृङ्खला जोडिएको थियो ।
गत पुस २३ (भैंसेपाटी गठबन्धनको निर्माण) र फागुन १८ गते (वामदेवलाई राष्ट्रियसभामा लैजाने)को परिघटनापछि नेपालसँगको तिक्तता झनै बाक्लियो ।
अहिले थप विकसित भएर संवादशून्यको चरणमा पुगेको नेपालनिकट नेताहरू बताउँछन् ।
ओली–नेपालबीच पछिल्लोपटक वैशाख १९ गतेपछि भेट भएको छैन । सचिवालय बैठकमै प्रधानमन्त्रीबाट राजीनामा मागिएपछि त्यसदिन ओलीले नेपाल र प्रचण्डलाई छुट्टाछुट्टै भेट गरेका थिए । मोर्चा कसेर राजीनामा मागिएपछि तितरवितर पार्न टियर ग्यास छाडेको (वामदेवलाई प्रधानमन्त्री प्रस्ताव) प्रतिक्रिया दिएको पनि त्यही दिन हो ।
त्यसपछि पुरानो र लामो यात्राका सहकर्मी बोलचाल बन्दको अवस्थामा छन् ।
“अहिले ओली प्रचण्डसँग भन्दा पनि नेपालसँग बढ्ता क्रोधित बनेका छन् । यत्रो सङ्कट आइपर्दा एकदिन संवादको महसुस गरेनन्, वार्ताका लागि हात बढाएनन्,” नेपाल निकट नेता भन्छन् ।
ओलीनिकट नेता पृथ्वी सुब्बा गुरूङले पनि बाह्रखरीसँगको लामो कुराकानीमा यही कुराकानी गरेका थिए । पार्टीभित्र सङ्कट गहिरिँदै गएपछि ईश्वर पोखरेलसहितका नेताले नेपाललाई भेटेरै भावी अध्यक्ष (एकता महाधिवेशनपछि) प्रस्ताव गरेका थिए ।
तर, ‘प्रचण्डको बन्दुक बोकेर हिँडेका नेता नेपाल’ले उधारो होइन हाताहाती चाहियो भन्दै प्रस्ताव लत्याएको गुरूङको आरोप, आक्षेप थियो ।
त्यसले पनि सम्बन्धमा खाडल पैदा गरेको गुरूङको बुझाइ छ ।
नेपालसँगको दूरी जत्ति लम्बिँदै जान्छ, ओलीले नेतृत्वकालभरि त्यति नै खड्गोको सामना गरिरहनुपर्ने नेपाल समूहका नेता भन्छन् । तथापि प्रधानमन्त्री ओलीले महसुस गरेका छैनन् । र त, नेपाल समूह प्रष्टै भन्छन्, “अहिले पनि ओलीको खड्गो सरेको हो, टरेको होइन ।”
ओली–प्रचण्ड लभहेट शृङ्खला
–२०७५ भदौ २० गते सम्पादकहरूलाई बोलाएर प्रचण्डद्वारा मन्त्रिपरिषद् हेरफेर गर्ने जानकारी, ओली सशंकित ।
–२०७५ भदौ २१ गते भारत गएकाबेला ‘द प्रिन्ट’ कि पत्रकार ज्योती मलहोत्रासँग संवाद गर्दै आलोपालो सहमतिको उठान, अढाइ वर्षपछि आफू प्रधानमन्त्री बन्ने दाबी ।
–२०७५ असोजमा काठमाडौं–७ मा वामदेवलाई उपचुनाव लडाउने र भावी प्रधानमन्त्रीको उमेदवार खडा गर्ने तयारी । ओलीद्वारा प्रतिवाद ।
–२०७५ कात्तिक ५ गते काठमाडौ–७ को प्रतिनिधिसभाका सदस्यबाट राजीनामा दिएका रामवीर मानन्धरको राजीनामा अस्वीकृत ।
–२०७५ पुसको तेस्रो सातातिर ललितपुरको एक अपार्टमेन्टमा सचिवालका पाँचजना नेता बसेर अनौपचारिक गठबन्धन निर्माण ।
–२०७५ माघमा भेनेजुएला सङ्कटबारे विवादित वक्तव्य जारी । प्रधानमन्त्री ओली स्वीट्जरल्यान्डको जुरीचबाट फर्किएपछि प्रचण्डको ‘टङ् स्लिप’ भएको अभिव्यक्ति ।
–२०७६ जेठ १५ गते आलोपालो सहमतिको उठान, पत्रकार ऋषि धमलासँगको अन्तर्वार्तामार्फत ।
–२०७६ भदौ ०९ गते सचिवालयको बैठक, ४ जना केन्द्रीय सदस्य थप, एकल हस्ताक्षरमा अपानि जारी । प्रधानमन्त्री केपी ओली उपचारबाट फर्किएर आएपछि संयुक्त हस्ताक्षर पुनः अपानि जारी ।
–२०७६ भदौमा माधव नेपाल र प्रचण्डबीच ओलीलाई पूरा कार्यकाल सरकार चलाउन नदिने सहमति, आलोपालोलाई कार्यान्वयन गराउन दुवै सहमत ।
–२०७६ मंसिर ४ गते सचिवालय बैठकद्वारा २०७५ जेठ २ गतेको आलोपालो सहमति खारेज
–२०७६ पुस २३ गते भैँसेपाटी गठबन्धनको जायजन्म ।
–२०७६ फागुन १० गते संविधान संशोधनका लागि कार्यदल गठन, माधव नेपाल संयोजक, खिमलाल देवकोटा र सुवास नेम्वाङ सदस्य
–२०७६ फागुन १४ गते नेपाल संयोजक रहेको कार्यदल विघटन, वामदेवलाई राष्ट्रियसभामा लैजाने निर्णय ।
–२०७७ वैशाख ८ गते विवादास्पद अध्यादेश जारी ।
–२०७७ वैशाख १२ गते दुवै अध्यादेश अध्यादेश फिर्ता ।
–२०७७ वैशाख १० गते स्थायी कमिटीका २० जना सदस्यद्वारा बैठक माग । अध्यक्षद्वयलाई इमेलमार्फत प त्र पठाइयो ।
–२०७७ वैशाख १५ गते प्रधानमन्त्री ओली हटाउन हस्ताक्षर सुरु, प्रधानमन्त्रीद्वारा पनि जवाफी हस्ताक्षर संकलन ।
–२०७७ वैशाख १७ गते बसेको सचिवालय बैठकमा प्रचण्डद्वारा राजीनामा माग ।
–२०७७ वैशाख २० गते वामदेव गठबन्धनबाट पछि हटे । ओलीको सत्ता सङ्कट टर्यो ।
–२०७७ वैशाख २५ गते स्थायी कमिटी स्थगित ।
–२०७७ वैशाख ३१ स्थायी कमिटी स्थगित ।
–२०७७ असार १० गते स्थायी कमिटी बैठक सुरु ।
– २०७७ असार १४ गते ६९ औं मदनजयन्तीका दिन प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्ति । भारतले आफूलाई हटाउन लागेको र पार्टीकै सदस्यले सहयोग गरेको आरोप ।
– २०७७ असार १६ गते प्रधानमन्त्री ओलीको १४ गतेको अभिव्यक्तिलाई लिएर प्रचण्ड, नेपाल, खनालसहित १६ स्थायी कमिटी सदस्यद्वारा राजीनामा माग।
–२०७७ असार १७ गते झम्सिेखेलमा ३१ जना गुटियारको भेला, प्रधानमन्त्रीलाई दुवै पदबाट हटाउने निर्णय ।
–२०७७ साउन २६ गतेदेखि स्थायी कमिटी बैठक स्थगित । ओली–प्रचण्ड पुनः समझदारी नजिक ।