site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कहीँ नभएको जात्रा बालुवाटारमा !
SkywellSkywell

काठमाडौं । ‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’– यो पुरानो कथन हो ।

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठकको विद्रूप दृश्य हेर्दा जात्राको स्थान फेरिएको छ । र, कहीँ नभएको जात्रा हाँडीगाउँबाट बालुवाटारमा स्थानान्तरण भएको छ ।

नेकपाको पाँचौं स्थायी कमिटीको छैठौं दिनको बैठक बिहान ११ बजेका लागि तय गरिएको थियो । बैठकका लागि स्थायी कमिटीका अधिकांश सदस्यहरू ११ बज्नुअगावै बालुवाटार पुगिसकेका थिए ।

KFC Island Ad
NIC Asia

बैठक सधैँझैं ११ः२० मा सुरु भयो । पहिलो वरीयतामा रहेका अध्यक्ष केपी शर्मा ओली अनुपस्थित रहेकाले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बैठकको अध्यक्षता गरे । बैठक सुरु भएलगत्तै केशव बडाल र अमृत बोहोराले धारणा राखेका थिए । बडालले सकुञ्जेल सरकार र प्रधानमन्त्री ओलीको बचाउ गरे । विधान, पद्धतिका कुरा गर्ने बोहोराको प्रस्तुति तुलनात्मक शालिन थियो ।

बालुवाटार पुगिसकेपछि मन्त्रिपरिषदमा रहेका केही स्थायी कमिटी सदस्यले थाहा पाए– प्रधानमन्त्रीले १२ बजे मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन् । र, आज महत्त्वपूर्ण कार्यसूचीमाथि छलफल हुँदैछ । कस्तो कार्यसूची भन्नेचाहिँ बैठकमा चुहिएला भनेर खुलाइएको थिएन ।

Royal Enfield Island Ad

प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार प्रधानमन्त्री ओली र पुष्पकमल दाहाल प्रचण्डबीच कुरा हुँदा मन्त्रिपरिषद् बैठकको कुरा आएको थिएन । बैठक बोलाएको पनि जानकारी थिएन ।

शुक्रबारै बिहान प्रचण्डले ओली पक्षका नेताहरूसँग छलफल गरेका थिए, त्यहाँ पनि स्थायी कमिटीकै बीचमा मन्त्रिपरिषद् बैठक आह्वान भएको कसैले बताएको थिएन ।

त्यसकारण मन्त्रिपरिषद्को कार्यसूची ‘गोप्य’ नै थियो ।

स्थायी कमिटी सदस्य बालुवाटार आउनेक्रम जारी रहेकै बेला प्रधानमन्त्री ओली फुत्त निस्किएर शीतलनिवास लागेका थिए । झन्डै ४५ मिनेट छलफल गरेर प्रधानमन्त्री १२ बजे बालुवाटार आइपुगे । स्थायी कमिटी बैठकमा नपसी उनी सीधै मन्त्रिपरिषद् बैठकमा गए । प्रधानमन्त्री आएको थाहा पाएपछि मन्त्रीहरू बैठक हलबाट निस्किएर प्रधानमन्त्रीको निवासतर्फ लागेका थिए ।

प्रचण्ड र माधव नेपाल समूहका मन्त्रीहरू त्यतिबेला अचम्ममा परे, उनीहरू पुग्दा मन्त्रिपरिषद् बैठक सकिइसकेको थियो ।

त्यतिमात्रै होइन २० मिनेट बसेको मन्त्रिपरिषद् बैठकले संसद्को चालु छैठौं अधिवेशन अन्त्य गर्ने निर्णय गरिसकेको थियो । मुख्यसचिव लोकदर्शन रेग्मीले निर्णय लेखिसकेका पनि थिए ।

त्यसपछि आधा घण्टाका लागि भनेर स्थगित भएको स्थायी कमिटी बैठकमा आश्चर्य छायो । प्रचण्डसहितका नेताहरू रनभुल्लमा परे । उनी तुरुन्तै सभाहलबाट बाहिर निस्किए । प्रचण्डलाई पछ्याउँदै आएका माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ एकछिन मुखामुख गरे ।

रोकिएको बैठक सुरु हुन सकेन । सुरु होस् पनि कसरी ? पार्टीभित्रको सङ्कट नयाँ चरणमा प्रवेश गरिसकेको थियो । 

ज्येष्ठ कम्युनिष्ट मञ्चका अध्यक्ष तथा स्थायी कमिटीका आमन्त्रित सदस्य नन्द प्रसाईंकाअनुसार संसद् अधिवेशन स्थगित गर्ने कुरा प्रचण्डको जानकारीमा थिएन । त्यसैले प्रधानमन्त्रीको सम्भावित कदमले सबैलाई पिरोलेको थियो ।

सचिवालय तहका नेतासँग छलफल, दुई अध्यक्षबीच अलग्गै वार्ता

मन्त्रिपरिषद् बैठकले संसद्को चालु बजेट अधिवेशन अन्त्य गरेपछि प्रचण्ड–नेपाल समूहका नेताले राजनीतिक दल सम्बन्धी ऐन संशोधन गर्ने अध्यादेश ब्युँताउन लागिएको हो कि भन्ने आशङ्कालाई बल पुगेको थियो । बालुवाटारमा एकछिन सन्नाटा पनि छाएको थियो ।

प्रचण्ड भेट्न खुमलटार पुगेका ईश्वर पोखरेल, सुवास नेम्वाङसहितका नेता निराश भएर फर्किएका थिए । प्रचण्ड अडानमा टसको मस नहुने छाँट देखेपछि ओलीलाई सम्भावित कदमबारे अवगत गराएका थिए ।

बाह्रखरीसँगको कुराकानीमा नेता नेम्वाङले परिस्थिति सोचेभन्दा गम्भीर रहेको र पार्टी विभाजन हुन्छ कि हुँदैन यसै भन्न नसकिने बताएका थिए ।

झम्सीखेल बैठक र त्यसअघिका भेलामा उठेका कुरा, प्रचण्ड–माधव नेपालको रणनीतिबारे बुझेपछि ओलीले जस्तोसुकै कदम चाल्न पछि नपर्ने सङ्केत दिइसकेका थिए ।

त्यसैको पहिलो कदम थियो, संसद् अधिवेशन अन्त्य गर्ने निर्णय । पार्टी विभाजन गर्न मिल्नेगरी अध्यादेश जारी गर्ने उनको दोस्रो कदम हुन सक्छ । स्थायी कमिटीका एक नेताका अनुसार यसले प्रचण्डलाई झट्का दिएको थियो । उनले तुरुन्तै झलनाथ खनाल, माधव नेपाल, वामदेव गौतम, विष्णु पौडेलसँग छलफल गरे ।
उनीहरूले दुई अध्यक्षबीच छलफल गरेर परिस्थितिलाई सहज बनाउन सुझाव दिएका थिए ।

त्यसपछि दुई अध्यक्षबीच २० मिनेट भेटवार्ता चलेको थियो । भेटवार्तामा केपी ओलीले संसद् अधिवेशन अन्त्य गर्ने नियमित प्रक्रिया भएको र अध्यादेश ल्याउने कुनै मनशाय नरहेको बताएको बालुवाटार स्रोतको दाबी छ ।

प्रचण्डलाई त्यतिले मात्रै चित्त बुझेन । अध्यक्ष ओलीलाई भेटेर निस्किएका प्रचण्ड बैठक कक्षमा आएनन् । सीधै राष्ट्रपति निवास हानिए । प्रचण्ड दिउँसो २ः१५ बजेतिर राष्ट्रपतिलाई भेट्न शीतलनिवास पुगेका थिए । करिब १ घण्टा छलफल गरेर बालुवाटार आइपुगेका थिए । राष्ट्रपति विद्यादेवी भण्डारीले पनि संसद्को बजेट अधिवेशन सल्लाहमै अन्त्य भएको र अध्यादेशबारे छलफल नभएको विश्वस्त पारेपछि फर्किएको प्रवक्ता श्रेष्ठको भनाइ छ ।

प्रचण्डसँगको भेटमा ओलीले आजको स्थायी कमिटी बैठक स्थगित गर्न भनेका थिए । उनले दुई अध्यक्षबीच असमझदारी चर्किएकाले अहिले बैठकको वातावरण नभएको भन्दै थप छलफलको आवश्यता बोध गरेका थिए ।

ओलीको आग्रहप्रति प्रचण्ड ‘कन्भिन्स’ भएर फर्किएको बालुवाटार स्रोतको दाबी छ । तर, प्रचण्ड बैठक स्थगित नगरी शीतलनिवासतिर लागेका थिए । फर्किएर आएपछि उनले केहीबेर बैठक सञ्चालन गरे । र, शनिबार बिहान ११ बजेसम्मका लागि बैठक स्थगित गरेको जानकारी गराए ।

जवाफी फायर खोल्यौं

झम्सीखेलको भेलापछि ओलीसमूह पार्टीभित्र अल्पमतमा परिसकेको छ । कुनै चमत्कार नभए ओलीको कुनै पनि कमिटीमा बहुमत फर्किनेवाला छैन । यसर्थ, दुवै पदबाट राजीनामाबाहेक अब ओलीसामु विकल्प देखिँदैन ।

तर, उनी यतिचाँडै गलिहाल्ने पक्षमा छैनन् । प्रचण्डको अडान बुझेका नेताले पनि अब अन्तिम अस्त्र प्रयोग गर्न सुझाएपछि ओलीले जवाफी फायर खोलेको उनी निकट नेताले बताउँछन् ।

“प्रचण्डहरू पनि सहमति बिर्सिएर प्रस्तुत हुनुभयो । पार्टी सुदृढीकरण, एकता प्रक्रिया निष्कर्षमा पुर्‍याउन, सरकारलाई गतिशील, जनउत्तरदायी बनाउन ओलीको राजीनामा बाहेक अरू विकल्प देख्नुभएन । हामीले पनि जवाफ दियौं,” ओली समूहका नेता भन्छन् ।

यसले सहमतिको वातावरण बनाउने ओली पक्षको दाबी छ । प्रवक्ता नारायणकाजी श्रेष्ठले पनि पार्टी एकता सङ्कटमा पुगेकाले दुई अध्यक्ष र अरू नेताहरूका बीचमा थप छलफल गर्नुपर्ने भएकाले शुक्रबार छाडेर शनिबार बैठक राखिएको जानकारी दिए । यसले प्रचण्ड पनि बहुमतको जोडघटाउ छाडेर सहमति मै फर्किने सम्भावनाको ढोका बन्द नभइसकेको जनाउँछ ।

राजीनामा माग्ने तर ओली नभई चल्नै नसक्ने

बिहीबार दिनभरको दौडधूप र नेताहरूको असमञ्जस्यता हेर्दा नेकपाभित्र अचम्मको सङ्कट देखिन्थ्यो– बहुमतको बोली बोल्ने तर बैठक बस्न ओलीलाई पर्खिएर बस्ने ! मन्त्रिपरिषद् बैठकले संसदको चालु अधिवेशन अन्त्यको घोषणा गरेपछि उनीहरू किकंर्तव्यबिमूढको अवस्थामा देखिन्थे ।

आइतबारको अभिव्यक्तिपछि विषय मोडिएर प्रधानमन्त्रीको राजीनामामा केन्द्रित भएको छ । अहिलेसम्म बोल्ने अधिकांश नेताले प्रधानमन्त्री र पार्टी अध्यक्षबाट ओलीको राजीनामाबाहेक अरू कल्पना गरेका छैनन् । बाटो पनि देखेका छैनन् । झम्सीखेल भेलाको निष्कर्ष पनि त्यही हो ।

तर, ओली उपस्थित नहुँदा बैठक नै बस्न नसक्ने अवस्थालाई टाल्न बाँकी नेताले सकेनन् । ६ दिनको अन्तरालमा प्रधानमन्त्री ओली एकदिनमात्रै बैठकमा पूरा समय बसेका छन् । दोस्रो दिन अनुपस्थित रहे भने त्यसपछि पनि उनको उपस्थिति नियमित छैन ।

आज बैठक अवरूद्ध हुनुलाई ओलीको सत्ताको अङ्कगणित घटेको तर शक्ति नघटेको रूपमा बुझ्नुपर्ने उनी निकट नेताहरू बताउँछन् ।

“केपी ओलीलाई दोष देखाएर हुँदैन । पार्टी निर्णयको कार्यान्वयन सचिवालयका अरू नेताले पनि गरेका छैनन् । पार्टीको महाधिवेशन गर्ने भनिएको छ । सदस्यता नवीकरणसम्म भएको छैन । ओलीको वैधता सकिएको घोषणा गर्नेहरू आफैं पार्टीको वैधानिक सदस्य होइनन । विधानतः एक वर्षभित्र नवीकरण नगरे सदस्यताको वैधता सकिन्छ । पार्टी विधिमा चलेन भन्छन् । आफ्नै सदस्यता नवीकरण भएको छैन । त्यसर्थ सबै आत्मालोचित हुनुपर्छ,” ओलीनिकट नेता केशव बडालको तर्क छ ।

बडालले भनेझैं जनतामा छाएको निराशा, सरकारले काम गर्न नसकेको पिरलो भन्दा पनि नेकपामा कुन्ठाले काम गरेको छ । 

अहिलेसम्मको प्रस्तुति हेर्दा यही निष्कर्ष निकाल्न सकिन्छ ।

निष्कर्षमा भन्दा जनताको पीडा–प्रताडना, कोरोना र सलहलाई बिर्साउनेगरी झाँगिएको नेकपाभित्रको कलह ‘कहीँ नभएको जात्रा बालुवाटारमा’ नै हो ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार १८, २०७७  १८:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro