काठमाडौं । लकडाउनका कारण अहिले प्रायः रोड शून्य छन् । अत्यावश्यक केही सवारीसाधनबाहेक अरु देखिन्नन् । यही खाली सडकमा काठमाडौंको बतीसपुतलीस्थित शिल्पी थिएटरका रंगकर्मीहरू दूरी कायम गर्दै सडकमा देखिए ।
लकडाउन भएको करिब ३ महिना हुन लाग्दा लकडाउन समाधान होइन यसको विकल्प देऊ भन्ने विरोधको आवाज अहिले युवावर्गदेखि, व्यवसायी तथा आम जनताले उठाइरहेका छन् ।
यस्तै आम मानिसको आवाज बनेर अघि बढे शिल्पीका कलाकारहरू पनि ।
उनीहरूका हातमा ‘नागरिकको लासमाथि दुई तिहाइको नाच’ शीर्षकको ब्यानर र प्रस्तुतिको उद्देश्यसहितको विज्ञप्ति र अरु स्लोगनसहितका प्लेकार्डहरू थिए ।
उनीहरू महामारीको संक्रमणबाट बच्न भनेर सरकारले लागु गरेको लकडाउनलाई अरु रंगकर्मी र सर्वसाधारणहरू जस्तै पालना गरिरहेका थिए ।
तर, संक्रमण नियन्त्रणमा आउनुको साटो झन् बढ्दै गएसँगै लकडाउनको समयावधि पनि अनिश्चि हुने देखिएपछि उनीहरू आवाज उठाउँदै सडकमा उत्रिएका हुन् ।
२ महिनाभन्दा लामो समय घरभित्रै थुनिएर बस्नु हरेक रंगकर्मीका लागि उकुसमुकुस नै हुन्छ ।
लकडाउनका कारण नाटकघरभित्र नाटक गर्न सम्भव भएन । यसरी हात बाँधेर अनि मुख बन्द गरेर बस्ने धैर्य नाघेपछि उनीहरू पर्फोमेन्स आर्टको माध्यमबाट खबरदारी गर्दै सडकमा उत्रिएका हुन् । यो खबदारी सरकार र संसद्लाई रहेको छ ।
सडकमा गरिए तापनि त्यो सडक नाटक नभएर, पर्फोमेन्स आर्टको माध्यम प्रयोग गरेको शिल्पीका संस्थापक तथा रंगकर्मी, निर्देशक घिमिरे युवराज बताउँछन् । “सडकमा गरिए तापनि यो विशुद्ध सडकनाटक होइन । त्यसमा पेन्टिङ, इन्स्टलेसनको काम पनि हुन्छ जसलाई हामी पर्फोमेन्स आर्ट भन्ने गर्दछौं ।”
यसमा पारम्पारिक सडक नाटकमा जस्तो सीमितता नहुने उनले बताए । जस्तै सडक नाटकमा जस्तो गोलो घेराभित्रै बसेर प्रस्तुति दिनुपर्छ भन्ने बाध्यता हुँदैन । सडक नाटकले मनोरञ्जनको माध्यमबाट केही सन्देश दिने काम गर्दछ ।
भने पर्फोमेन्स आर्टले आम दर्शकलाई देशमा, समाजमा भइरहेका समसामयिक विषयमा सोच्न बाध्य बनाउने, खबरदारी गर्ने र आम दर्शकले नै प्रश्न गर्ने ठाउँको सृजना गर्ने रहेको छ ।
जसमा कलाकार र दर्शकको भूमिका हेरफेर हुन सक्छ । कहिले कलाकार दर्शक हुन सक्छ भने कहिले दर्शकले कलाकारको भूमिका गर्ने अवसर पाउँछन् ।
अर्थात् दर्शक बढी सक्रिय हुन्छन् । यसमा रंगकर्मीहरू अलगअलग तर आम नाटकभन्दा पनि अझै प्रतीकात्मक भूमिकामा प्रस्तुत हुन्छन् ।
‘नागरिकको लास माथि दुई तिहाइको नाच’ नामक उक्त प्रस्तुतिका मुख्य उद्देश्य सहितको विज्ञप्ति पनि जारी गरिएको छ, जुन प्रस्तुतिका क्रममा हरेक दर्शकलाई दिइन्छ । जसका बारे दर्शकले पढेर आवश्यक प्रश्न या त आफ्नो विचार पनि व्यक्त गर्ने मौका पाउँछन् ।
सधैंभरि यसरी चुपचाप बसेर सम्भव हुँदैन विकल्प केही चाहिन्छ भन्ने सोचका कारण यो प्रस्तुतिको आयोजना गरेको घिमिरे बताउँछन् ।
रंगकर्मीहरू सबैचुप छन् । तर, कोही न कोहीले पहिलो प्रयास चाल्नु पर्छ भन्दै उनले सडकमा आएर यस पर्फोमेन्स आर्टको प्रस्तुतिको आयोजना गरेका हुन् ।
“देशमा यतिधेरै घटना भइरहेका छन् । मिडियाले आवाज उठाइनै रहेका छन् । म एक कलाकार र नागरिकको हिसाबमा पनि कति दिन चुपचाप बस्ने भन्ने प्रश्नले उनलाई कुतकुत्यायो ।”
एक रंगकर्मीका नाताले आफ्नो भूमिका निभाउनुपर्छ भन्ने सोचले उनले शिल्पीका बाँकी सदस्यलाई यसबारे जानकारी दिए ।
करिब ३ महिना आफ्नो अभिनयलाई दबाउन बाध्य रंगकर्मी घिमिरे युवराजको प्रस्तावबाट उत्साहित भए । जसअनुसार सबै रंगकर्मीहरू शिल्पीमा भेट भए र प्रस्तुतिको तयारीमा जुटे ।
पहिलो प्रयासमा राम्रो योजना र तयारी गर्न नपाएका उनीहरू अबको प्रस्तुति भने अझै निखारेर तयारीका साथ गर्न अहिलेदेखि नै जुटिसकेका छन् ।
अहिले लकडाउनको यो समय उनीहरू दोस्रो प्रस्तुतिको रिहर्सलमा व्यस्त छन् ।
दोस्रो प्रस्तुतिबाट पनि सकारात्मक प्रतिक्रिया आए यसलाई निरन्तरता दिने सोचमा शिल्पी परिवार छन् ।
४५ मिनेट लामो प्रस्तुतिको मुख्य उद्देश्य थप प्रस्ट्याउँदै घिमिरे भन्छन्, “अहिलेको अवस्थामा पूर्वतयारी बिना लकडाउन, भ्रष्टाचार र अनियमिततामाथि कलाकारहरुद्वारा सकारलाई खबरदारी हो ।”
लकडाउनको समयमा गरे पनि लकडाउनरको सम्पूर्ण नियम पालना गरेको उनले दाबी गरे ।
उनीहरूले उठाएका मुख्य ४ बुदाँहरू
१) यस्तो चरम संकटमा प्रधानमन्त्री, मन्त्री तथा सांसदहरूले नैतिकता छ भने १ वर्षसम्म आफ्नो तलब र सुविधाको ५० प्रतिशत रकम राज्यकोषलाई फिर्ता गरुन् ।
२) रुकुमको चौरजहारीमा भएको दलित नरसंहारमा संलग्न सबैलाई दण्ड होस् ।
३) महामारीको बहानामा लापरबाहीपूर्वक गरिएको लकडाउनको कारण जीवन संकटमा परेका मजदुर तथा विपन्न वर्गको जीवन रक्षा गरियोस् ।
४) महामारी रोकथामका लागि सरकारले खर्च गरेको भनिएको १० अर्ब रुपैयाँ कहाँकहाँ खर्च भयो, हिसाब सार्वजनिक गरियोस् ।