आँखाले देखेजस्तो जीवनको रंग हुँदैन
आफूले सोचेजस्तो जीवनको रंग हुँदैन
आफूले सोचेजस्तो रंगको रूप हुँदैन
रंग आफैंमा बोल्दैन
रंग आफैंमा सजीव हुँदैन
रंगले आफै कुनै गति लिंँदैन ।
सेतो सेतो नहुन पनि सक्छ
सेतो कालो ठहरिन पनि सक्छ
कालो कालो नै नहुन पनि सक्छ
कालो कहिले सेतो ठहरिन पनि सक्छ
रातो सधैं कहाँ क्रान्तिकारी ठहरिएको छ र ?
निलो रंगले सधैंँ शान्ति कहाँ ल्याएको छ र ?
हरियोले सधैँं प्रकृतिलाई कहाँ प्रतिनिधित्व गरेको छ र ?
सेतो र कालो मिलेर
रातो र नीलो मिलेर
हरियो र पहेंलो मिलेर
वा, एउटामा अर्को रंग मिलेर
रंग रंग नै भए पनि
रंगको रूप फेरिन्छ
रंगको पहिचान फेरिन्छ ।
रंगको पहिचानको के कुरा गर्नु ?
सेतो घरभित्र बसेर कालो मन बनाउँछन् यहाँ
कालो कार चढेर कालो धनलाई सेतो बनाउँछन् यहाँ
नीलो पहिरन लगाएर
शान्ति भंग गर्छन् यहाँ
पहेंलो वस्त्र भिरेर
ठगी गर्छन् यहाँ
हरियो पोसाक लगाएर
वन फँडानी गर्छन् यहाँ
रातो वस्त्र लगाएर
आत्मा समर्पण गर्छन् यहाँ
र, सबै रगंधारीले आफ्नै रंगलाई बेइज्जत गर्छन् यहाँ ।
रंगको पहिचान रंगमा हैन
रंगको पहिचान ढंगमा हुन्छ
रंगको पहिचान मनमा हुन्छ
रंगको पहिचान गुणमा हुन्छ
रंगको पहिचान कर्ममा हुन्छ
रंगको पहिचान धर्ममा हुन्छ
र, रंगको पहिचान त्यसको मर्ममा हुन्छ ।
रंगको रूप त केवल आँखाको हेराइ हो
कालो र सेतो त आँखाको ठहराइ हो
रातो, नीलो वा हरियो त केवल रंगको
चिनाइ हो
आँखामा देखिने सुन्दरताले
मनलाई धोका दिन सक्छ
आफ्नै अन्तरात्माले पनि
रंगलाई गलत देख्न सक्छ ।
(हाल : बेलायत ।)