विराटनगर । प्रदेश १ सरकारलाई चीनको स्वशासित क्षेत्र तिब्बत सरकारले ठूलो मात्रामा स्वास्थ्य सामग्री उपलब्ध गराएको छ ।
तिब्बत सरकारले उपलब्ध गराएको स्वास्थ्य सामग्री नेपाल चीन कार्यकारी परिषद्ले आज प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई हस्तान्तरण गरेको छ । स्वास्थ्य सामग्री मुख्यमन्त्री राईलाई परिषद्का प्रदेश १ को–अर्डिनेटर मुकेश उपाध्यायले हस्तान्तरण गरेका हुन् ।
करिब ७ करोड ७४ लाखबराबरको स्वास्थ्य सामग्री प्राप्त भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । प्राप्त सामग्रीमा पीसीआर मेसिन २ सेट, भेन्टिलेटर ३ थान, एक्स रे पोर्टेबल मेसिन एक थान छन् । त्यस्तै आरडीटी किट १० हजार, भीटीएम भाइल १० हजार, स्वाब स्टिक २० हजार थान, पीपीई ५ हजार, एन ९५ माक्स ५ हजार, सर्जिकल माक्स २० हजार, सर्जिकल ग्लोब्स १० हजार, फेस सिल्ड २५ सय, आई आर थर्माेमिटर २ सय, अल्ट्रा सोनो ग्राम पोर्टेबल मेसिन एक थान, ह्यान्ड स्यानिटाइजरलगायत छन् ।
यी उपलब्ध भएका स्वास्थ्य सामग्रीले प्रदेश सरकारले बनाएको कोरोना रोकथाम, उपचार र परीक्षण योजनामा प्रभावकारी रूपमा प्रयोग गरिने मुख्यमन्त्री राईले बताए । “हामी प्रदेशका धेरैभन्दा धेरै नागरिकको कोरोना परीक्षणमा छौं, प्राप्त सामग्रीहरूले थप सहयोग पुगेको छ,” मुख्यमन्त्री राईले भने ।
साथै सामग्री उपलब्ध गराएको तिब्बत सरकारलाई मुख्यमन्त्री राईले धन्यवादसमेत दिएका छन् । प्रदेश १ सरकारले कोरोना परीक्षणको दायरा तीव्र बनाएको छ । प्रदेश १ मा करिब ८ हजारको पीसीआर परीक्षण भएको छ । प्रदेश १ मा अहिलेसम्म १ सय ६२ जनालाई कोभिड—१९ पुष्टि भएको छ भने ३० जना निको भएर घर फर्किसकेका छन् ।