सन्तोष पौडेल
हिन्दी सिनेमा ‘थप्पड’ हेरेको निकै दिनसम्म म विचलित भएँ । मैले यहाँ सिनेमाको बारेमा लेख्न चाहेको होइन । सिनेमामा देखाएझैं ससाना घट्ना, जसले हरदिन पछ्याइरहेको भित्री मन लेख्न खोजेको हुँ । मलाई के लाग्यो भने, भित्र कतै कुनै गहकिलो महसुस त्यतिबेला हुँदो रहेछ जतिबेला त्यसको अनुभूतिका कारण थाहा हुन जान्छ । कहिलेकाहीँ कुनै सिनेमाले भइरहेका तर नदेखिएका तिनै कारणहरू, जो जीवनसँग जोडिएका हुन्छन् त्यसका अदृश्य ज्ञान बताएर जान्छ । सायद, त्यस्तो अदृश्य ज्ञान खोतल्न खोज्नु जोकोहीका लागि एउटा अदृश्य झट्का हुनसक्छ ।
अचेल म क्वारेन्टिनको एकान्तवासमा छु । जब सहरको चोकगल्ली, सडक, मानवबस्तीतिर जीवजनावर टहल्न थालेको दृश्य पत्रपत्रिकामा देख्छु, मेरो आँखा रसाउँछ । वायुमण्डलको सबैभन्दा ठूलो ओजोन प्वाल टालिएको खबरले त्रसित मन केहीक्षण शान्त हुन्छ । कोरोनाको सन्त्रासमा रहेको मनमष्तिष्कले कसरी बिर्सन सक्छ पृथ्वीको २० प्रतिशत भन्दा बढी अक्सिजन भार ओगट्ने अमेज जङ्गल (पृथ्वीको फोक्सो) फाँडिएको समाचार । अस्ट्रेलियाको जङ्गलमा लागेको डढेलोले सखाप पारेको करोडौं थलीय जीवजन्तुको कारूणिक दृश्यले अझै मनमुटु दुखेकै छ । यतिबेला अदृश्य भाइरसले मानव अस्तित्वमाथि जुन किसिमको सङ्कट पैदा गरिदिएको छ म चिन्तित छु । मानव अस्तित्व होस् वा पर्यावरण, जीवप्राणी होस् वा इकोसिस्टम । ब्रह्माण्डका अणुपरमाणु होस् वा यिनका जीवनचक्र । एकअर्कासँगको अन्तर्सम्बन्धको सारस्वरूप र अस्तित्व । यी सबै एक जटिल तर सरसर्ती बुझ्नुपर्ने जीवनसँग जोडिएका अनेकौं भाषाहरू हुन् ।
मैले पढेको छु— मानव शरीर पञ्चतत्वको बनोट हो । मैले सिङ्गो शरीरलाई मात्र जीवन भनेर बुझेको छु, तर जीवनभित्रका रहस्यहरू बुझेको छैन । भन्न खोजेको हावा बुझेको छैन । मलाई मानव अस्तित्व थाहा पाउनु छ । आगोको अस्तित्व थाहा छैन । माटो झन् के बुझेको हुँला ? जललाई नदी बुझ्छु । ताल बुझ्छु । प्यास मेटिने तरल बुझ्छु । झन् आकाशको विशालता बुझ्ने कुरै भएन । वनपैदावरको महत्व साँच्चै के मैले बुझेको छु ? थलीयजलीय जीवप्रजातिको अन्तर्सम्बन्ध ? अनि, यो पृथ्वी नि ? खैर, वर्तमान समय यतिबेला मानिसको चेतनालाई पृथ्वी एकपटक बुझ् है, भन्दै छ । मानिलिनुस्— तपार्इंले आफ्नो शरीरलाई जुन मान्छेको रूपमा बुझ्नु भएको छ तर त्यो शरीर त्यही मान्छे मात्र होइन भन्ने कुरा थाहा पाउनु भयो भने जीवन जिउने तहमा के फरकपना आउन सक्ला ? त्यसैगरी, जुन पृथ्वी हामी सबैले बुझेका छौं, त्यो त्यति मात्र होइन । त्यो भन्दा निकै विशालताको अर्थ थाहा हुन आएमा...। सायद, महसुस हुने भावनात्क संवेदना मात्र जीवन हुन सक्दैन भनेजस्तै होला ।
त्यसैले, जीवन बुझाइहरूको एकसरो रेखा मात्र हुनै सक्दैन । बुझाइहरूका अनेकौं रेखाहरूको समजोड हुन सक्छ । कुनैकुनै बुझाइका रेखासँग जीवनको सार्थकता जोडिएको हुन सक्छ, नजोडिएको पनि हुन सक्छ । यसर्थ, जीवनको सार्थकतामा सफल–विफल, राम्रो–नराम्रो, अतीत–आगत–भविष्य, दुःख–सुख जस्ता तत्वहरूको मात्र मानक हुनुहुँदैन । सायद, जोकोही यस्तो मानकबाट फुत्केर एकैछिन जीवन भन्ने जिनिस बाँच्न चाहन्छ होला । भनौं, शुद्ध केवल जीवन । त्यस्तो जीवन कस्तो हुन सक्ला ? म त्यस्तो जीवनको अनुभूति त ठ्याक्कै व्यक्त गर्न सक्दिनँ । म त्यो जीवनको अनुभूति मात्र व्यक्त गर्न सक्छु जुन मैले महसुस गरेको छु । म त्यही एउटा अतीतको महसुस यहाँ राख्दै छु ।
एउटा धमिलो सम्झना । जतिबेला मलाई पढाउने एक शिक्षकसँग मेरो सम्बन्ध नमीठो थियो । मलाई ती सरले पढाइमा ल्वाँदे भन्दै गाली गर्थे । हो, म पढाइमा कमजोर थिएँ हुँला, तर सङ्घर्षका अनेक भोगाइहरूमा भने म कमजोर थिइनँ । म त्यसबेलासम्म विचलित भएकै थिइनँ जुन बेलादेखि मलाई हतोत्साहित गर्दै पिट्न पनि थाल्नु भो । मभित्र एउटा डर उत्पन्न हुन थाल्यो । कुनै अदृश्य गहिरो पीडा । किनकिन मलाई ती शिक्षकसँग भेट नभइदिओस् जस्तो लाग्न थालेको थियो । उहाँले राम्रै पढाए तापनि म बुझ्दैनथेँ ।
मलाई विद्यालय कठोर सजाय दिने झ्यालखाना जस्तो लाग्थ्यो । सायद, म थप्पडको दुखाइ भन्दा मानसिक त्रासले तर्सिएको हुन सक्छु । जसरी मान्छेको असीमित दोहनबाट आज पृथ्वी त्रसित भएको छ । मान्छेले बिर्सने वा ख्याल नगर्ने भनेकै ससाना घट्नाहरूको सम्बन्ध हो जसले हाम्रो अस्तित्वलाई पछ्याइरहेको छ भन्ने कुरा । जसरी छायाँले छाड्ने छैन कुनै शरीर, शरीर मेटिएको दिन मात्र छायाँको अस्तित्व हुँदैन । कोही कसैलाई कुनै कुराले भित्र बिझाइरहनु एउटा कारण हुन सक्छ, तर त्यसले मनभित्र पैदा गर्ने अनेक कारणको परिणाम अत्यन्तै दुःखदायी हुनसक्छ ।
त्यसैले म बुझ्दैछु— लोग्नेस्वास्नीबीचको मतभेद । प्रेमीप्रेमिकाबीचको झगडा । एक व्यक्त्लिे अर्को व्यक्त्सिँग गर्ने अस्वीकारका चरित्रहरू । समाज वा कुनै देशले निर्धारण गर्ने तहहरू । मानिस फरक छ । म सजिलै भन्ने गर्छु । तर के मान्छेभित्रका कैयौं मानवीय संवेदनाहरूको फरकपना मैले बुझेको छु ? म फरक छु को अर्थ ? म हुर्केको समाज फरक होला । मेरो संस्कृति होला । रहनसहन होला । भाषा होला । जीवनपद्धति होला । शिक्षादीक्षा होला । स्वाद होला । सोच होला । यस्तै अनेकौं अनेक ।
कुनै व्यक्ति स्वयम्ले भित्रको ‘म’ जिनिस बुझ्ने प्रयत्न गर्ने हो वा बाहिरी ‘म’ ? म एउटा मान्छेभित्रबाट बन्ने हो वा बाहिरबाट ? मेरो व्यक्तित्व भित्रबाट स्वीकार गरिनुपर्ने हो वा बाहिरबाट ? सबैभन्दा पहिले मलाई मैले बुझ्ने हुँ कि बाहिरकाले ? एउटा मान्छेलाई अर्को मान्छेले बुझ्न सक्ला यदि उसले आफ्नो बारेमा बताउँदैन भने ? मान्छेले एकअर्कालाई बुझ्न त बताउनैपर्छ भने एकअर्कालाई स्वीकार गर्न केके कुरा बुझ्न आवश्यक पर्ला ? तर समाजको चरित्र यस्तो छ कि— जोकोहीलाई सजिलै वैयक्तिक कोणबाट स्वीकार वा अस्वीकार गरिदिन्छौं । अनि, चाहिएको छ प्रत्येक मान्छेलाई— सोचेजस्तो समाज । सोचेजस्तो देश– सरकार । सोचे जस्तो जीवनपद्धति । र, सोचे जस्तो वातावरण अनि प्रकृति । कस्तो विडम्बना । म बल्ल बुझ्दैछु— बुझ्नु पर्ने रहेछ पैले आफूलाई । आफ्नो रूचिलाई । आफ्नो भावनालाई । आफ्नो सोचलाई । आफ्नो इच्छा र आकाङ्क्षालाई । सायद, आफैंलाई बुझेपछि मात्र सजिलो हुँदो हो बुझ्नलाई भूगोल, पर्यावरण, मानिस, समुदाय । समाज अनि राष्ट्र । अनेकौं अनेक बाहिरी तख्ताहरू ।
हिजोआज समस्या कहाँ देख्दैछु भने भने म आफैंलाई नचिनी पहिले अर्कोलाई चिन्न खोज्छु । अर्कोसँग तुलना हुन खोज्छु । उचनिच खोज्छु, सकिन्छ— भेदभाव गर्न खोज्छु । अनि सजिलै भनिदिन्छु— राम्रो, नराम्रो । खुट्याउन खोज्छु गुणदोष । छुट्याउन खोज्छु भेटेजतिको फरकपना । बटुल्न खोज्छु एकैचोटी खुसीका हरचिज । चाख्न खोज्छु पाएजतिको स्वाद । बनाउन खोज्छु असीमित स्रोतसाधन बटुलेर आफ्नो साम्राज्य । सायद, यही मेरो लालचको चक्रव्युहमा फसेको छ पृथ्वी । यिनै जालोमा म जस्तै हरकोही मानिस ।
हेर्नुस् त ! छोराले नपढेको दिन दाइ बेस्सरी पिट्नु हुन्छ । ऊ रूँदै भनिदिन्छ— पढ्न भन्दा त बरू मर्न सजिलो होला ! छोराको यो कर्कस आवाजले दाइभाउजुको मनमुटु चिथोर्छ । कत्रो मनोवैज्ञानिक असर त्यो ! कत्रो कुरा सहजै भन्यो मृत्युको बारेमा । बुझेर भन्यो वा नबुझेरै ! त्यसैले त शिक्षा घोक्नु मात्र होइन, न घोकाउनु मात्र हो । कक्षा उक्लनु मात्र त हुँदै होइन । शिक्षा जीवनका प्रत्येक आयामलाई बुझ्नु हो । समाज देख्नु हो । संवेदनाहरू महसुस गर्नु हो । शिक्षाले त मानिसलाई भावना बुझ्न सिकाउनुपर्छ । आफ्नो भावनालाई मसिनो गरी छामेको मान्छेले मात्र जोकोही मान्छेको भावना र जीवन सजिलै बुझ्न सक्छ । त्यस्तो बुझाइमा हुर्केको मान्छेले मात्र एकअर्काबीच स्थापित हुने सम्बन्धहरू बुझेको हुनेछ । मानिस मानिसबीचको । प्रकृति र मानिसबीचको । मान्छे र जीवजनवार बीचको । पूरै जीवनपद्धति वा इकोसिस्टमको ।
मलाई हिजोआज के लाग्न थालेको छ भने, जिब्रो बुझेको दिन मान्छेले स्वाद बुझ्नेछ । आमा बुझेको दिन माया बुझ्नेछ । पसिना बुझेको दिन बा अर्थात् श्रम बुझ्नेछ । सम्बन्ध बुझेको दिन सहयोग वा भावना बुझ्नेछ । जीवन बुझेको दिन पृथ्वी बुझ्नेछ । करौडौं थलीयजलीय जीवजनावर बुझ्नेछ । अझ् भनौं, इकोसिस्टम बुझ्नेछ । बुझाइको शिक्षा त त्यो हो जसले आफ्नो भित्री आत्मालाई सबैभन्दा पहिले स्वीकार गर्छ । आफ्नो मनमुटुको स्वर सुन्छ । र, आफ्नो अस्तित्व बुझेर अर्काको अस्तीत्व स्वीकार गर्छ । के कहिल्यै कुनै बालकले यसरी सिक्नपढ्न पाएको होला ? म बुझ्दैछु— मानिस असल हुँदैमा पूर्ण हुन सक्दैन । मान्छे स्वयम् पूर्ण हुँदैन भने समाज कसरी पूर्ण हुन सक्छ ? अनि, कुनै देश ? कुनै भूगोल, पृथ्वी वा पर्यावरण ? भनौं, पूरै ब्रह्माण्ड ? पूर्ण भनेको त एकअर्कामा अतर्निहित वा अन्तर्सम्बन्धित कुरा पो रहेछ ! यत्ति कुरा बुझ्न मेरो सोचाइमा थप्पड सिनेमाको ठूलो प्रभाव रह्यो । हुन त सिनेमा एक निश्चित कथावस्तुको आयाममा बनेको छ । तथापि, सिनेमा हेरिसकेपछि भने मैले अनगिन्ती जीवनका आयाम बिस्तारै बुझ्न थालेको छु ।