काठमाडौं । सरकारले लिम्पियाधुरा–लिपुलेक समेटेर नयाँ राजनीतिक, प्रशासनिक नक्सा जारी गरेपछि नेपाल–भारत सीमा समस्या नयाँ चरणमा प्रवेश गरेको छ ।
नेपालले बुधबार नयाँ नक्सा जारी गरेपछि भारतले औपचारिक प्रतिक्रिया दिँदै ‘अमान्य’ हुने बताइसकेको छ । दुई देशबीचमा समस्या सल्ट्याउन नेपालले वार्ताको वातावरण बनाउनुपर्ने तर्क अघि सारेको छ ।
सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का तेस्रो वरीयताका नेता झलनाथ खनालले वार्ताको वातावरण बनाउने दायित्व नेपालको मात्रै नभएको तर्क गर्छन् । त्यसका लागि भारत पनि निःसर्त तयार हुनुपर्ने उनको धारणा छ ।
बाह्रखरीसँग कुरा गर्दै पूर्वप्रधानमन्त्री खनालले दुवै देशले कूटनीतिक, राजनीतिक लगायत वार्ताका सबै ढोका खुला राख्नुपर्ने बताएका छन् ।
“नेपालले कूटनीतिक, राजनीतिक लगायतका वार्ताका सबै ढोकाहरू खुला राखेर भारतसँग मैत्रीपूर्ण ढङ्गले वार्ता गरेर समस्याको समाधान गर्न दीर्घकालीन प्रयत्नलाई अगाडि बढाउनुपर्छ,” खनालले भने ।
वार्ताको वातावरण नेपालले नै तयार पार्नुपर्छ भनिसकेको अवस्थामा हामीले चाल्ने कदम के हुन्छ ? भन्ने बाह्रखरीको जिज्ञासमा नेता खनालको उत्तर थियो, “वातावरण एकतर्फी ढङ्गले तयार हुँदैन, भारत पनि तयार हुनुपर्छ । दुवैतर्फबाट तयार हुनुपर्छ । भारत पनि तयार हुनुपर्छ । नेपाल पनि तयार हुनुपर्छ । त्यसरी अगाडि बढ्ने कुरा हो । यो द्विपक्षीय मामला हो एकपक्षीय मामला होइन ।”
खनालले अहिले नेपाल भारतबीचको समस्या भएकाले चीनसँग यसलाई जोड्न नमिल्ने तर्क गर्छन् । बरु त्रिदेशीय विन्दु तय गर्ने बेलामा भने तीन देश एकसाथ बस्नुपर्ने उनको बुझाइ छ ।
“अहिले सीमा विवाद र सीमा अतिक्रमणको विषय भनेको भारतसँग हो । भारत र नेपालका बीचमा समस्या देखा परेका छन्, ती समस्यामा केन्द्रित हुँदै दुवै देश बसेर वार्ता गर्नुपर्छ,” उनले भने ।
खनालले त्रिदेशीय विन्दुका बारेमा चीन आधिकारिक रूपमा नबोलिसकेको बताउँछन् । सन् १८१६ मार्च ४ को सुगौली सन्धि र त्यसैलाई आधार मानेर नेपालले जारी गरेको नयाँ नक्साले लिपुलेक त्रिदेशी विन्दु नभएको पुष्टि गरिसकेकाले चीन यस विवादमा देखा नपर्नु जायज हो ।
“त्रिदेशीय विन्दु निर्धारण गर्न छुट्टै वार्ता गर्नुपर्छ । त्यसबेलामात्रै चीनको आवश्यकता पर्ने हो । अहिलेसम्म त्रिदेशीय विन्दुका बारेमा कसैले बोलेको छैन । अहिले भारतले बनाएकै बाटो पनि लिपुलेकसम्म पुगेको छैन । त्रिदेशीय विन्दुको अलग्गै समस्या छ, त्यो समस्या तीन देश बसिकनमात्रै हल हुन्छ,” खनालले भन्छन् ।