_1482501234.jpg)
एकातिर अखबार तथा अनलाइन पत्रिकाले साहित्यलाई प्रशस्त स्थान दिन थाले भने अर्कोतिर आवधिक साहित्यिक पत्रिका कमजोर बन्दै गए । त्यतिमात्र होइन, साहित्यिक पत्रिका साजसज्जा, स्तरीय रचना र लेखकलाई पारिश्रमिक दिने सवालका साथै बिक्री–वितरणमा पनि कमजोर बन्दै गए । बजारमा ती रुञ्चे देखिँदै गए । यही कारण नेपालका साहित्यिक पत्रिका ओरालो लाग्न थाले । तर साहित्यिक पत्रिकाले जसरी मुलुकमा नयाँनयाँ साहित्यकार जन्माउने र स्थापित गर्न काम गर्न सक्छ, त्यो काम अखबार वा अनलाइनले गर्न मुस्किल छ । साहित्यिक पत्रिकालाई सरकारले सहयोग गर्नुपर्छ भन्ने माग अधिकांश साहित्यिक पत्रकार तथा साहित्यकारको रहेको छ ।
नेपालमा पत्रकारिताको आरम्भ नै साहित्यिक पत्रिकाको प्रकाशनबाट सुरु भएको मानिन्छ । १९५५ सालमैै साहित्यिक पत्रिकाका रुपमा ‘सुधासागर’ छापिन सुरु भएको थियो । सुधासागर प्रकाशनको केही वर्षपछि मात्रै गोर्खापत्र सुरु भएको थियो । त्यसपछि १९९१ सालमा शारदा साहित्यिक मासिक पत्रिकाको प्रकाशन सुरु भयो, जसले तत्कालीन समयका लेखकहरूलाई साहित्यमा स्थापित गरायो ।
यसरी हेर्दा साहित्यिक पत्रिका प्रकाशन (सुधासागर)ले सवा सय वर्ष छुन लागिसकेको छ । शारदाको प्रकाशनलाई मात्रै गणना गर्ने हो भने पनि ८५ वर्ष भइसकेको छ । तर साहित्यिक पत्रिकाको यति लामो इतिहास भएर पनि नेपालमा यसको अवस्था कमजोर नै रहेको छ ।
यति लामो इतिहास बोकेको साहित्यिक पत्रकारिता फस्टाउन नसक्नुमा मुख्य कारण यो कामप्रति राज्यको हेपाहा दृष्टि जिम्मेवार रहेको साहित्यिक पत्रकारहरुको भनाइ छ । यसको पुष्टि शारदाकालीन सम्पादकीयहरुले पनि गरेको छ ।
शारदा साहित्यिक मासिक पत्रिकाले तत्कालीन अवस्थामा लेखेको सम्पादकीयहरुमा साहित्यिक पत्रिकाको विकासमा सरकारबाट कुनै पनि किसिमको सहयोग नपाएको गुनासो गरेको छ । यस्ता सम्पादकीय शारदाले मात्र होइन, अन्य अधिकांश साहित्यिक पत्रिकाले लेख्नुपर्ने बाध्यता छ, लेख्दै आएका पनि छन् । नेपाली साहित्यिक पत्रिकाको आधुनिककाल मानिने शारदाकालीन समयमा पनि पत्रिका चलाउन गाह्रो भएको एक साहित्यिक पत्रकार बताउँछन् । आज ८५ वर्षपछि साहित्यिक पत्रिकाको अवस्थामा कुनै सुधार नआउनु विडम्बना नै मान्नुपर्छ ।
१९९१ सालमा जुन गुनासो गरिन्थ्यो, २०७७ सालमा पनि त्यही गुनासो जीवित छ । यसरी हेर्दा स्पष्ट रुपमा के भन्न सकिन्छ भने, नेपाली साहित्यिक पत्रिकाहरूलाई सरकारले हेर्ने दृष्टि सकारात्मक छैन । सरकारको नजरमा साहित्यिक पत्रिका प्रकाशन आवश्यक नै छैन ! सरकार शताब्दीअघि जसरी साहित्यिक पत्रिकालाई उपेक्षित भाव हेथ्र्यो, अहिले पनि अवस्था उस्तै छ । साहित्यिक पत्रकारलाई त पत्रकार मान्ने चलन नै छैन । मुलुकमा प्रजातन्त्रको उदयपछि प्रेस काउन्सिलमा साहित्यिक पत्रकारिताबाट प्रतिनिधित्व गराउन थालिए पनि अहिलेसम्म एकदुई पटक मात्रै उक्त संस्थामा साहित्यिक पत्रकार पुगेका छन् ।
कतिपय साहित्यकार उच्च सरकारी पदमा पुगेका छन्, कोही मन्त्री पनि भएका छन् । साहित्यकार लोकेन्द्रबहादुर चन्द पटकपटक प्रधानमन्त्री नै भए । तर साहित्यिक पत्रिकाको उन्नयन र विकासमा केही हुन सकेन ।
नेपालमा विशेषगरी साहित्यिक पत्रिकाहरू व्यक्तिगत तवरबाटै प्रकाशित भइरहेका छन् । नेपाल प्रज्ञा प्रतिष्ठान, गोरखापत्र संस्थानजस्ता एक–दुई सरकारी स्वामित्वका संस्थाहरुले साहित्यिक पत्रिका निकाले पनि पछिल्लो समय तिनको प्रभाव खासै देखिँदैन । सहकारी संस्था साझा प्रकाशनको मासिक साहित्यिक पत्रिका ‘गरिमा’ पनि अहिले गरिमाहीन भइसकेको छ । सङ्ख्यात्मकमात्र होइन स्तरीयताको हिसाबले पनि साहित्यिक पत्रिकाहरू निजी तवरबाट नै धेरै प्रकाशनमा आएको देखिन्छ । प्रविधिको विकासले तिनलाई पनि छोएको छ । तर ठूला सञ्चार गृहबाट प्रकाशित हुने साहित्य विशेषाङ्कमा देखिने साजसज्जा र प्रविधिको प्रयोग आवधिक साहित्यिक पत्रिकाले गर्न सकेका छैनन् ।
एकजना साहित्यिक पत्रकारका अनुसार साहित्यिक पत्रिकाले सत्ता र सरकारको विरोध गर्न सक्दैनन् । तिनले कविता, कथा, निबन्ध, उपन्यास आदि मात्रै छाप्ने भएकोले सत्तामा बस्नेलाई हानि नोक्सानीको कुनै डर हुँदैन ! त्यसैले ‘जाबो कथा, कविता छाप्नेलाई किन सुविधा दिने ? हाम्रा लागि त दैनिक पत्रिका र साप्ताहिक पत्रिका पो डरलाग्दा हुन्छन्’ भन्ने सोचले नै सत्ता र सरकारले साहित्यिक पत्रिकालाई नजरअन्दाज गर्दै आएको छ । तर साहित्यिक पत्रिकाले जसरी मुलुकमा नयाँनयाँ साहित्यकार जन्माउने र स्थापित गर्न काम गर्न सक्छ, त्यसरी कुनै पनि अखबारले गर्न सक्दैन । यो तथ्य जबसम्म सरकारले बुझ्दैन तबसम्म साहित्यिक पत्रिकाको अवस्थामा सुधार आउन सक्दैन । अधिकांश साहित्यिक पत्रिकाहरु सरकारको मुख ताकेर बसिरहेका छन्, सरकारलाई हारगुहार गरिरहेका पनि छन् । थाहा छैन, यो रुवाइ कहिले सरकारले सुन्ने हो ।
शारदाले धेरै साहित्यकार जन्मायो र स्थापितसमेत गर्यो । त्यसपछि प्रकाशनमा आएका अन्य कतिपय साहित्यिक पत्रिकाले अनगिन्ती साहित्यकारहरुलाई स्पेस दिए । रुपरेखा, रचना, अभिव्यक्ति, बगर, तन्नेरी, मधुपर्क, समकालीन साहित्य, गरिमा, कविताजस्ता साहित्यिक पत्रिकाले मुलुकको साहित्य उत्थानमा पु¥याएको योगदान कुनै अखबारको भन्दा कम आँक्न नमिल्ने साहित्यिक पत्रकारहरुको भनाइ छ ।
तर राज्यले तिनको कदर गर्न सकेको छैन वा गर्नै चाहँदैन । कतिपय साहित्यकाहरू नै भन्छन्, ‘अखबारमा साहित्य लेखेर साहित्यकार होइँदैन । साहित्यकार हुन साहित्यिक पत्रिकामा नै रचना छापिनु पर्छ । यसैको जरो मजबुत हुन्छ ।’ तर साहित्यिक पत्रिका कसरी नियमित चलाउने ? समयस्या यहीँनिर छ ।
पछिल्लो समय अखबार तथा अनलाइन पत्रिकाहरूले सप्ताहन्तमा पस्कने साहित्यिक सामग्रीले साहित्यिक पत्रकारितालाई नै सहयोग पु¥याएका छन् । तर साहित्यिक पत्रिका र पत्रकारिताको विकास यसबाट आवश्यक रुपमा हुन नसक्ने साहित्यिक पत्रकारहरु बताउँछन् ।
साहित्यिक पत्रकारिता र पत्रिकाको अवस्थालाई लिएर अभिव्यक्तिका सम्पादक नगेन्द्रराज शर्मा, रुपरेखाका तत्कालीन सम्पादक नयनराज पाण्डे, समकालीन साहित्य, कविता र गरिमाका सम्पादक अविनाश श्रेष्ठ, शब्द संयोजनकी कार्यकारी सम्पादक सुमी लोहनी, रचनाका सम्पादक रोचक घिमिरे र मधुपर्कका सम्पादक जयदेव भट्टराईसँग कुराकानी यहाँ प्रस्तुत छ :
नगेन्द्रराज शर्मा
साहित्यिक पत्रकारिता ओइलाएको महसुस गर्दैछु म । यसलाई फस्टाएको मान्न सकिँदैन । यद्यपि, पछिल्लो समयमा अखबारी पत्रिकाले पनि साहित्यलाई स्थान दिँदै आएको छ । यसले साहित्यको विकासमा केही योगदान दिएको मान्न सकिन्छ । तर पनि समाचार पत्रिकाहरूमा साहित्य छापिनुलाई साहित्यिक पत्रकारिता मान्दिनँ म । यो त अखबारहरूले साहित्यको प्रचार मात्रै गरेका हुन् । तर पनि यो प्रशंसनीय कार्य भने हो ।
साहित्यिक पत्रिका एकदुई कारणले गर्दा फस्टाउन सकेको छैन । पहिलो, साहित्यिक पत्रिकाको बिक्री–वितरणको व्यवस्था गतिलो नहुनु । यसको सबैभन्दा अप्ठेरो पक्ष नै यही हो । एक पटक मैले साझा प्रकाशनबाट ‘अभिव्यक्ति’ देशभरि आफ्ना आउटलेटबाट बिक्री–वितरण गरिदिन आग्रह गर्दै पत्रिका साझामा पु¥याइदिएको थिएँ । तर तिनीहरुले त्यो पत्रिका गोदाममा नै राखिदिने रहेछन् । बाहिर नपठाउने रहेनछन् ! फेरि मैले कचकच गरेर पठाउन भनेँ । त्यसपछि तिनले पठाए । तर त्यो पत्रिका जहाँ पुग्यो त्यहीँको गोदाममा थन्कियो !
साहित्यिक पत्रिकाहरूलाई साझाले सहयोग गरेको भए आज मुलुकको कुनाकुनामा पुग्ने थियो । साझालाई पनि सहयोग नै पुग्थ्यो । तर यस्ता ठूला संस्थाले सहयोग गरेनन्, हामीले आफैं बेच्न पनि सकेनौं । त्यसैले साहित्यिक पत्रिका र पत्रकारिताको विकास हुन सकेन । नत्र भने साहित्यिक पत्रिका बिक्री नहुने होइन । हामीलाई बिक्रेताहरूले सहयोग गर्ने हो भने पाँच–सात हजार प्रति साहित्यिक पत्रिका देशभरि आरामले बेच्न सकिन्छ ।
साहित्यिक पत्रिका केही व्यक्तिको निजी रुचि र इच्छाका कारण प्रकाशन हुँदै आएको छ । अरु केही नगरे पनि सरकारले यस्ता पत्रिका किनेर देशभरिका पुस्तकालयहरूमा बाँड्ने व्यवस्था गरिदियो भने साहित्यिक पत्रिकालाई सहयोग पुग्नेछ ।
सेवाकै रुपमा साहित्यिक पत्रिका प्रकाशन हुँदै आए पनि लेखरचनाको अभाव छैन । लेखकलाई पारिश्रमिक दिन नसकेर लेख कम आउने गरेको छ म भन्दिनँ । अहिले पनि साहित्यिक पत्रिकामा लेख प्रकाशित गर्न चाहने धेरै साहित्यकार छन् । मैले मागेको रचनालाई पारिश्रमिक दिँदै आएको छु ।
अहिलेको नयाँ पुस्ताका लेखक धेरै ‘पोटेन्सियल’ छन् । लेखन शैली पनि राम्रो छ । लेखिएका कुरा पनि राम्रो छ । हामीले तिनैलाई स्पेस दिँदै आएका छौं । तीसको दशकतिर भरखर लेख्न सुरु गरेकाहरू अहिले ठूला लेखक भएका छन् । तर ती हामीले छापेर ठूला भएका हैनन् । हामीले स्पेस दियौं, मेहनत तिनले गरे । र, माथि उक्लिए ।
नयनराज पाण्डे
अहिलेको साहित्यिक पत्रकारिता फस्टाएको देख्दिनँ म । किनभने ‘गरिमा’जस्तो साहित्यमा एउटा उचाइ लिएको पत्रिका बन्द भएको छ । एकेडेमीबाट प्रकाशित हुँदै आएको ‘समकालीन साहित्य’ धेरै पाठकसम्म पुग्दैन । काठमाडौंमै पनि थोरै पुग्ला । तिनको वितरण प्रणाली फितलो छ । ‘मधुपर्क’को बिक्री–वितरण स्वात्तै घटेको देखिन्छ ।
निजी क्षेत्रका केही साहित्यिक पत्रिका छन्, जुन सीमित छन् । सीमित सङ्ख्या र सीमित पाठकका बीचमा मात्रै पुग्छ, तर ती पत्रिकाहरूले नेपाली साहित्यमा ठूलो योगदान दिएका छन् । तर त्यसले पठन संस्कृतिको विकास गरिरहेको छ भन्नचाहिँ सकिँदैन ।
पछिल्लो समय प्रायः सबै दैनिक पत्रिकाले साप्ताहिक रुपमा साहित्यिक सामग्री पस्कँदै आएका छन् । साहित्यका पाठकले खुराक त्यसबाट पाउँदै आएका छन् । त्यसैले मासिक, द्वैमासिक, त्रैमासिक निस्किने पत्रिकाहरूले राम्रा रचना पाउने गरेको देखिँदैन । सिकारु रचनाकार त्यसमा बढी देखिन्छन् ।
बदलिँदो परिस्थिति र बढ्दो बजारले पनि यसलाई असर गरेको छ । एक समय थियो, साहित्यिक पत्रिकाका पाठक प्रशस्तै थिए । पत्रिकाको माग ठूलो थियो । ती पत्रिकामा रचना छाप्न लेखकले भरमग्दुर प्रयास गर्नुपथ्र्यो । साथै रचना पनि राम्रो र शक्तिशाली लेख्नु पर्दथ्यो । ती पत्रिकामा छापिएपछि लेखक स्थापित हु्न्थे । तर अहिले त्यो छैन । दैनिक पत्रिकाको साहित्यिक पृष्ठ बलियो बन्दै गएको देख्छु ।
तर एउटा कुरो के हो भने, दैनिक पत्रिकामा छापिए पनि लेखक स्थापित हुने अवस्था छैन । रुपरेखाले डा. धुवचन्द्र गौतम, मोहन कोइराला, दिनेश अधिकारी, विमल निभाहरूजस्ता एकसे एक लेखकलाई स्थापित गरेको हो । अर्थात् पहिले विकल्प थिएन । रचना छाप्नैका लागि लेखकले कडा मेहनत गर्थे । तर अहिले लेखकहरूरुका लागि विकल्प धेरै छ । पहिले नयाँ लेखकले ती साहित्यिक पत्रिकाहरूमा स्थान पाउँदैनथे । अहिले दैनिक पत्रिकाहरुले नयाँलाई पनि उत्तिकै स्थान दिँदै आएको छ ।
वास्तवमा राम्रो रचना प्रकाशित गरेरै दैनिकको साहित्य पृष्ठले बजारमा साख जमाएको छ । हो, दैनिक पत्रिकाको एउटा मात्रै अप्ठेरो के भने यसको कलेक्सन भ्यालु हुँदैन । र, साहित्यकारको चर्चा पनि साताभन्दा पर जाँदैन ।
उतिबेला साहित्यिक पत्रिकाको महत्व बेग्लै थियो । राम्रो रचनाको कदर सबैले गर्थे । समालोचकीय दृष्टिकोणबाट समीक्षा लेखिन्थ्यो । मलाई सम्झना छ, ‘रुपरेखा’मा श्यामलको कथा छापिएको थियो । त्यो कथा पढेर समालोचक ईश्वर बराल आफैं पाठक प्रतिक्रिया लिएर रुपरेखाको अफिसमा आउनु भएको थियो । ईश्वर बरालजस्तो समालोचक आफैं आउनु आफंैमा ठूलो कुरो थियो । त्यस्तै, एउटा रचनाको शीर्षकमा आपत्ति जनाउँदै आनन्ददेव भट्ट प्रतिक्रिया लिएर आउनु भएको थियो । अहिले त्यो तहका समीक्षक पनि देखिँदैनन् । भए पनि ती मौन छन् । साहित्यमा प्राज्ञिक व्यक्तिको प्रतिक्रिया आउनु पर्ने हो, तर आउन सकेको देखिन्न ।
जहाँसम्म साहित्यिक पत्रिकाको विकासको कुरो छ, तिनले बजारमा हस्तक्षेपकारी रुपमा आउनु पर्छ । तिनले धेरै कुरामा ध्यान दिनुपर्छ भन्ने मलाई लाग्छ ।
अविनाश श्रेष्ठ
अहिलेको साहित्यिक पत्रिका– जुन मासिक÷द्वैमासिक÷त्रैमासिकरुपमा प्रकाशित हुँदै आएका छन्– ओरालो लाग्ने फेजमा रहेको देखिएको छ । तिनले उचाइमा पुगेर फेरि ओरालो बाटो समाएजस्तै भएको मलाई अनुभूति भइरहेछ ।
मेरै बैंशको समयमा साहित्यिक पत्रिकामा एउटा रचना छापिँदा जुन उल्लास, उमङ्ग र आनन्द हुन्थ्यो त्यो अहिले देखिँदैन । त्यसबेला साहित्यिक पत्रिकाले पहिले नयाँ स्रष्टालाई साहित्यकारका बीच, पाठकका बीच प्रष्ट चिनाउने काम गर्दथ्यो । त्यो अहिले ओझेलमा परेको छ ।
अहिले विकल्प धेरै भए । साहित्य पस्कने माध्यम पनि धेरै भए । त्यसैले पनि साहित्यकारहरूमा त्यो लालसा रहेन । नभए साहित्यिक पत्रिकाले नै मलाई उचाइ दिन्छ भन्ने भावना सबै साहित्यकारमा हुन्थ्यो ।
अहिले त दैनिक पत्रिकाहरूले साप्ताहिक रुपमा साहित्यिक सामग्री प्रस्तुत गर्दै आएका छन् । त्यहीँबाट नै साहित्यकारहरूले आफ्नो अभिव्यक्ति, आफ्ना विचार र रचना पस्कँदै आएका छन् । उनीहरुको आत्मअभिव्यक्तिका लागि थुप्रै माध्यम भएका छन् ।
यस्तो हुनुको कारण समय अनुसारको परिवर्तन नै हो । इन्टरनेटको अत्यधिक प्रयोगले धेरै कुरालाई दमन गरेको छ । साहित्यिक पत्रिका मात्रै होइन, यसले सिनेमालाई पनि दमन गरेको छ । गीत–सङ्गीत सुन्ने प्रवृत्तिलाई धरासायी बनाइदिएको छ । अर्थात् इन्टरनेटले धेरै बाटाहरू सिर्जना गरिदिएको छ ।
सायद समय अनुसारको यो परिवर्तन आवश्यक पनि थियो । अहिले त झन् फेसबुक र अन्य सामाजिक सञ्जाल पनि छ । ब्लगको चलन छ । त्यसैले कुनै पत्रपत्रिका खोजी गरिरहेका हुँदैनन् साहित्यकार । तिनले फेसबुकमा रचना हाल्छन् । ब्लगमा पोस्ट गर्छन् । यो स्थितिमा साहित्यिक पत्रिका नै चाहिन्छ भन्ने जरुरी देखिँदैन ।
तर एउटा कुरो के भने दैनिक पत्रिकाको परिशिष्टाङ्कमा छापिएको सामग्री सङ्ग्रहमा रहँदैन । जबकि साहित्यिक पत्रिका कतै न कतै कुनै पुस्तकालयमा सय वर्षपछि पनि भेटिन सक्छ ।
उहिले हामी हाम्रो रचना कहिले छापिन्छ भनेर पर्खेर बस्थ्यौं । त्यो समयमा ढिलो गरी छापिएको हाम्रो साहित्य रचनाले सुपारी वा छुर्पीको स्वाद आनन्दले लिए जस्तो अनुभूति दिन्थ्यो । अहिलेका लेखकमा त्यो धैर्य देखिँदैन । उनीहरू चाँडोभन्दा चाँडो छापियोस् र प्रतिक्रिया मिलोस् भन्ने चाहन्छन् । फास्टफुड प्रवृत्तिमा रमाएका छन् ।
एउटा कुरो पक्कै के हो भने, धैर्यका साथ लेखिएको आलेख परिपक्व भएर आउँछ । हतारिएर आउने सामग्री परिपक्व नहुन सक्छ । पहिले साहित्यिक पत्रिकामा आउनु भन्दा अगाडि साहित्यकार आफंैले पनि त्यो रचना पटकपटक सम्पादन गरेर पठाउँथे । र, साहित्यिक पत्रिकाका सम्पादकले पनि कडा सम्पादन गर्थे । तिनले साधारण रचना छाप्दैनथे । त्यसैले रचना कालजयी बन्थ्यो ।
चाँडो लेखेर चाँडो छापिने बाटोमा हिँड्दा त्यसले साहित्यकारलाई नै नोक्सान गर्छ । त्यसको असर समग्र नेपाली साहित्यमा पर्छ । परिपक्व रचना नै बाहिर ल्याउने प्रवृत्तिमा वृद्धि भए त्यसले साहित्य र साहित्यिक पत्रकारिता बलियो हुँदै जान्छ ।
मैले समकालीनमा लेख लिएर आउनेलाई भन्थेँ– तपाईंको यो अन्तिम जाँच हो । तपाईं पहिले अन्यत्र लेखेर पोख्त हुुनुस् अनि मात्रै समकालीनमा ल्याउनुस । मलाई धेरैले बढी बोल्यो पनि भन्थे । तर मलाई आज लाग्छ, मैले जे बोलेको थिएँ सही बोलेको थिएँ । आजका रचनाको आयु लामो छैन । कति रचनाको आयु त एक दिन पनि हुँदैन ! वास्तवमा रचनामा जीवन छैन ।
सुमी लोहनी
वर्तमान परिस्थितिमा साहित्यिक पत्रकारिता ओरालो लागेको म देख्दिनँ । फस्टाएकै देखिरहेकी छु । तथापि, जुन रुपमा फस्टाउनु पर्ने हो त्योचाहिँ छैन । यसको मूलकारण साहित्यिक पत्रिकाको फितलो बजार व्यवस्थापन नै हो ।
अहिलेसम्म जति पनि साहित्यिक पत्रिकाहरू प्रकाशनमा छन्, तिनको बजार व्यवस्थापन एकदमै कमजोर छ । ‘गरिमा’लगायत अन्य कतिपय साहित्यिक पत्रिकाहरू पनि बजार व्यवस्थापनमा भएको कमजोरीकै सिकार भए । हामीले पनि बजार व्यवस्थापनलाई बलियो बनाउन सकेका छैनौं । यही नै हाम्रो सबैभन्दा ठूलो समस्या हो ।
हामीले पत्रिका प्रकाशनमा आउनासाथ बजारमा पु¥याउनु पर्ने हो, तर पु¥याउन सकिरहेका हुँदैनौं । बजारमा पुग्यो पुगेन, त्यसका बारेमा हामीले थाहा पाउनै सक्दैनांै । पत्रिका बजारमा बिक्री भए पनि रकम नउठ्ला भन्ने चिन्ता ठूलो छ । यस्ता समस्या हरेक साहित्यिक पत्रिकाले भोग्दै आउनु परेको छ ।
यतिबेला सबै साहित्यिक पत्रिका र साहित्यिक पत्रकारहरूले एकठाउँमा आएर यो समस्याको समाधान खोजे एउटा बाटो भेटिन्थ्यो कि ? तर यस विषयमा कतैबाट पनि ठोस रुपमा पहल हुन सकेको छैन ।
जहाँसम्म ‘शब्द संयोजन’को कुरो छ, हामीले विनय शम्र्मामार्फत काठमाडौं बाहिर पत्रिका पठाउने व्यवस्था मिलाएका छौं । तर त्यसरी ती पत्रिका पाठकका हातमा पुगे नपुगेको सही जानकारी पाउन भने गाह्रै छ ।
साहित्यिक पत्रिकालाई हामीले व्यावसायिक बनाउन सकेनौं । ‘शब्द संयोजन’को टिमले पनि यसलाई अहिलेसम्म सेवाकै रुपमा लिँदै आएको छ । हामीले साहित्य सेवा मात्रै गरेका हौं । तर हामीले लेख रचनाको हकमा स्तरीय रचना छाप्दै आएका छौं । स्तरीय रचनाका पाठकलाई दिन हामी सचेत छौं । रचनामा कुनै कम्प्रोमाइज गरेका छैनौं ।
दैनिक पत्रिकाहरूको परिशिष्टाङ्कले गर्दा साहित्यिक पत्रिकाको पाठक घटेको वा पत्रिकालाई ओझेलमा पारेको छ भन्ने कुरा म मान्दिनँ । अहिले पनि साहित्यिक पत्रिका पढ्ने र खोज्ने साहित्यिक पाठक प्रशस्त छन् । हो, उहाँहरूको चाहना अनुसार हामीले पत्रिका पुर्याउन सकेका छैनौं ।
साहित्यिक पत्रिकाको विकास र उन्नयनका लागि हामी सबै एक भएर, मिलेर गएको खण्डमा यसले सकारात्मक स्वरुप पक्कै लिनेछ ।
रोचक घिमिरे
साहित्यिक पत्रिका, प्रकाशनको दृष्टिले फस्टाएको भनिए पनि गुणात्मकताका दृष्टिले भने यसलाई अलिअलि ओइलाइएको नै भन्छु म । पहिलेको पत्रिकाहरुमा जस्तो पठनीय, स्तरीय र विचारोत्तेजक लेख रचना अहिलेको पत्रिकामा भेटिँदैन । अचेलका स्रष्टाहरूमा पनि त्यो क्षमता सायद रहेन ! अहिले त हतारमा लेख्यो र हतारमै प्रकाशन गर्ने प्रवृत्ति बढेर गएको छ ।
दैनिक अखबारहरूमा प्रकाशित परिशिष्टाङ्कमा साहित्यले स्थान पाउँदै आएको छ । यसलाई पनि साहित्यिक पत्रकारिता भन्न सकिन्छ । पत्रिकाहरू धेरै पनि भएको र छिटो पनि छापिने भएकोले अहिले लेखकहरूको ध्यानदृष्टि त्यता गएको छ । र, यसले लेखनमा हतारो निम्त्याएको छ । सायद त्यसैले पनि होला, त्यहाँ प्रकाशन हुने कतिपय लेख रचना खासै स्तरीय भएको मैले महसुस गरेको छैन । अर्थात्, अहिले साहित्यमा गुणवत्ता छैन । पुरानै पुस्ताले त्यो लेखकीय स्तरीयता धानिरहेका छन् !
रह्यो साहित्यिक पत्रिकाको विकासको कुरो, त्यसका लागि साहित्यिक पत्रिकामा प्रकाशनका लागि आउने लेख रचनाको सम्पादन गर्ने सम्पादकहरूमा पनि क्षमता हुनुपर्छ । अनि मात्रै साहित्यिक पत्रिकाको विकास हुनसक्छ । ५५ वर्षअघि पत्रिकाको काम गर्दा हामी अति मेहनत गर्दथ्यौं । लेखकले पनि त्यतिकै मेहनत गर्दथे । र, लेखकमा धैर्य पनि थियो ।
आज धेरै पत्रिकाहरू निस्किरहेको छ, तर सामग्री स्तरीय भेटिँदैन । पहिलेपहिले छापिएका रचना सबैका लागि लामो समयसम्म चर्चाको विषय हुन्थ्यो । आज त्यो छैन ।
रचनाको प्रकाशन सुरु भएको ६० वर्ष हुनलागेको छ । यो लामो समयमा मैले धेरैका रचना छापेँ । तुलसी दिवसको कविता पहिलो पटक रचनामा २०१८ सालमा नै छापेको थिएँ । भूपि शेरचनको कतिपय स्मरणीय र कालजयी कविता रचनामा पहिलो पटक छापिएका हुन् । बालकृष्ण समको कविता पनि रचनामा छापिएको थियो । भैरव अर्यालकै कतिपय व्यङ्ग्य रचना पहिलो पटक रचनामा छापिए । पारिजातको पहिलो कथा पनि रचनामै छापिएको हो ।
त्यसैले सामग्रीका दृष्टिले धेरै उत्कृष्ट रचना त्यसबेला छापिएको थियो । तर आज त्यो अवस्था छैन । त्यो अवस्था फेरि ल्याउने वातावरण तयार भए साहित्यिक पत्रिकाको विकास निश्चित छ ।
जयदेव भट्टराई
साहित्यिक पत्रिका र पत्रकारिताको इतिहासलाई हेर्ने हो भने आज साहित्यिक पत्रिका र पत्रकारितालाई ओइलाएको नै भन्नु पर्छ । किनभने नेपालमा सबैभन्दा जेठो पत्रिका नै साहित्यिक पत्रिका हो ।
पुराना केही पत्रिकाहरु बन्द भए पनि नयाँ पत्रिकाहरू प्रकाशनमा आएका छन् । ती पत्रिकाहरू व्यक्तिगत इच्छाले प्रकाशित हुँदै आएको सबैलाई थाहा छ । ती पत्रिका कतिसम्म दिगो हुन्छन्, त्यो बेग्लै कुरा हो । तर व्यक्तिगत प्रयासलाई हेर्दा उत्साहजनक भने पनि संस्थागतरुपमा त्यसलाई निराशाजनक नै मान्नु पर्छ ।
दैनिक पत्रिकाहरूले साहित्यलाई विशेष स्थान दिन थालेपछि साहित्यिक पत्रिकातिरबाट साहित्यिकार र लेखकको रुचि घट्दै गएको निश्चय पनि हो । दैनिक र अनलाइन पत्रिकाको परिशिष्टाङ्कमा चाँडै छापिने र प्रतिक्रिया पनि चाँडै आउने भएकोले यो अवस्था आएको हो ।
तथापि, साहित्यिक पत्रिकाको महत्व आफ्नै किसिमको छ । साहित्यिक पत्रिकामा नै लेख रचना छाप्न खोज्ने लेखकहरू आज पनि धेरै हुनुहुन्छ । उहाँहरू साहित्यिक पत्रिकामा नै आफ्नो साहित्यिक रचना प्रकाशित होस् भन्ने चाहनु हुन्छ । तर मासिक–द्वैमासिक पत्रिकाहरूमा लेख रचना छाप्न केही समय पर्खिनु पर्छ । त्यसका लागि समय लाग्छ । र, त्यो छापिए पछि सङ्गृहित पनि हुन्छ । त्यसको साहित्यिक वजन पनि बढी हुन्छ ।
अखबारको परिशिष्टाङ्कमा लेख्ने भन्दा साहित्यिक पत्रिकामा लेख्नु पर्दा एउटा लेखकले जहिल्यै गम्भीर भएर लेखेको हुन्छ भन्ने मलाई लाग्छ । तर पछिल्लो समयको लेखन र लेखक सधैं हतारमा रहेको देखिएको छ । अहिले लेखक छाप्न पनि छिटो चाहन्छन् र प्रतिक्रिया पनि तत्काल नै खोज्छन् ।
साहित्यिक पत्रिकाहरूलाई राज्यले कहिले पनि सहयोग गरेको देखिँदैन । साहित्यिक पत्रपत्रिकालाई सहयोग मिल्ने हो भने तिनको विकास निश्चित छ ।